हेलिकप्टर दुर्घटना

मन्त्री अधिकारी सहित सात जनाको मृत्यु, उडेको एक मिनेटमै दुर्घटना

प्रकाशित मिति: 2019-02-27
सीताराम गुरागाई, रेडियो ताप्लेजुङ, ताप्लेजुङ

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको छ । एयर डाइनेस्टिको एएस ३५० हेलिकप्टर आज दिउँसो साढे एक बजे दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटनन्मत्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताएको छ । 

पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए ।तर त्यसपछि किन उडाए त्यसको जानकारी भने हुन सकेको छैन ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया, हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहनुभएको छ ।

फक्ताक्लुङ गाउँपापालिका–३ लिङखिमको मयाम सिरानस्थित तारेढुङ्गामा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर फेला परेको फेदीका अहेव उपनाथ पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा हेलिकप्टरको पुच्छरबाहेक सबै भाग जलेको प्रत्यक्षदर्शी सूरेन्द्र लिम्बुले बताउनुभयो ।

पाथीभरामा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्ज हवल्दार तेज कुमार अर्यालको नेतृत्वमा गएको सुरक्षाकर्मी र स्थानीयबासीको टोली उद्धारमा खटिएको उहाँले बताउनुभयो ।

तपाईंको बिचार