आज आठौँ विश्व रेडियो दिवस,

सामुदायिक रेडियो सम्मेलन सुर्खेतमा सुरु, सामुदायिक रेडियोसँग सहकार्य गर्ने संघ र प्रदेश सरकार

प्रकाशित मिति: 2019-02-12

काठमाडौँ ।  आज आठौँ विश्व रेडियो दिवस, नेपाललगायत विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘संवाद, सहिष्णुता र शान्ति’ यो वर्षको विश्व रेडियो दिवसको नारा हो । 

 

संयुक्त राष्ट्रसङ्घको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रोअरी १३ तारिखमा रेडियो दिवस मनाउने घोषणा गरेको थियो ।

 

सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोराव) नेपालको अगुवाईमा नेपालका सामुदायिक रेडियोहरुले आज विश्व रेडियो दिवस मनाउँदैछन् ।

 

नेपालमा २००३ सालमा काठमाडौँमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रूपमा भने २००७ साल मंसिर २८ गतेदेखि ‘प्रजातन्त्र रेडियो’ का नाममा रेडियो सञ्चालन भएको हो । नेपालमा २०५२ सालदेखि एफएम प्रसारण सुरु भएको हो । विश्वमा भने व्यावसायिक रेडियो प्रसारण सुरु भएको ९६ वर्ष पुगेको छ । 

 

अहिले नेपालका ७७ जिल्लामै एफएम रेडियो स्थापना भएका छन् । सरकारी रेडियो, सामुदायिक रेडियो र निजी क्षेत्रका रेडियोहरूले रेडियो प्रविधिका माध्यमबाट नेपाली जनताको सूचनाको हकको प्रवाहका लागि सरकारको मुख्य साझेदारको रूपमा भूमिका निर्वाह गर्दै आएका छन् । 

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म अनुमति लिएका रेडियोको सङ्ख्या ७ सयभन्दा धेरै छ । यसमा समुदायिक रेडियो ३ सय ५० छन् ।

 

सूचनामा नागरिकको पहुँच बढाउनाको अलावा लोकतन्त्र, मानवअधिकार, विधिको शासन र शान्तिपूर्ण सामाजिक रूपान्तरणका लागि सामुदायिक रेडियोहरूले महत्वपूर्ण भूमिका खेलेका सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) नेपालका अध्यक्ष सुवास खतिवडाले बताउनुभयो । 

 

विश्वर रेडियो दिवसका अवसरमा अकोरावले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज विशेष कार्यकमको आयोजना गरेको छ । आज र भोलि सुर्खेतमा देशभरिका सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलन हुँदैछ ।

 

सम्मेलनको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने कार्यक्रम छ भने विशिष्ट अतथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालगायत सञ्चारसँग सरोकार राख्ने विज्ञ, सामुदायिक रेडियो प्रसारक सङघका सदस्य रेडियोका प्रतिनिको सहभागिता रहनेछ । 

 

सम्मेलनमा सामुदायिक रेडियोको दिगोपना र ‘सकारात्मक परिवर्तनका लागि रेडियोको भूमिका’ का बारेमा छलफल हुने आकोराबका अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।

 

गैरनाफामूलक उद्देश्यले सञ्चालिन सामुदायिक रेडियोले श्रमजीवी पत्रकार ऐनले गरेका व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयन गर्नमा परेको समस्याको बारेमा छलफल गर्दै ऐन तथा कानुन संसोधनको माग सरकारसँग गरिने पनि अध्यक्ष खतिवडाले बताउनुभयो ।

 

नेपालमा सञ्चालनमा रहेका ३ सय ५० सामुदायिक रेडियोका अगुवा एवम् सामुदायिक रेडियोका अभियन्ताका बीचमा हुने छलफलमा समाजमा रहेका कुप्रथा हटाउन सामुदायिक रेडियोको भूमिकाका बारेमासमेत विचारविमर्श हुनेछ ।

 

विश्व रेडियो दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा अहिले प्रभातफेरी निकालिएको छ ।राष्ट्रिय सम्मेलनको बिहान सवा ९ बजेपछि सामुदायिक सूचना नेटवर्क सीआईएनले प्रत्यक्ष प्रसारण गर्नेछ ।  

 

तपाईंको बिचार