भक्तपुर । मेनेन्जाइटिस् र पोलियोको उपचारमा जति ढिलाइ भयो उति नै यसले पार्ने प्रभाव बढ्दै जान्छ ।
समाजमा पोलियो लागेका व्यक्तिलाई कतिसम्मको विभेद हुन्छ भन्ने अनुभव भक्तपुरका शोभा बाटीसँग छ ।
उहाँ १० वर्षको हुँदा टाउको दुख्ने र ज्वरो आउने समस्या भयो । नजिकैको औषधि पसलबाट सिटामोल ल्याएर खानुभयो, अस्पताल पनि जानुभयो ।
झारफुकका लागि कैयौँ ठाउँमा धाउनुभयो तर स्वास्थ्यमा सुधार देखिएन ।
यसैगरी बित्यो चार महिना । यसबीचमा बेहोस भएपछि पाटनअस्पताल भर्ना गरियो तर चिकित्सकले समयमा नै अस्पताल किन नल्याएको भन्दै असन्तुष्टि जनाए ।
शोभालाई भएको रहेछ मेनेन्जाइटिस्, पोलियो र हड्डीको टीबी । शोभाका बुवा बुद्धि नारायण बाटीले स्वास्थ्य केन्द्रको औषधिले खासै असर नगरेको बताउनुभयो ।
शोभाका बुवा र दुई मामा मिलेर पाटनअस्पताल भर्ना गरेपछि उहाँको रोग पत्ता लागेको हो ।दुई महिना अस्पताल बसेर घर फर्कँदा दुईटै खुट्टा नचल्ने भयो ।
पहिले निकै मिल्ने साथीहरु टाढा हुँदै गए । शोभाले ६ कक्षा पढ्दापढ्दै विद्यालय जान छाड्नुभयो । ५ वर्ष नपढी घरमा बस्नुपर्दाका ती दिन निकै पीडादायी थियो ।
“जब म अस्पतालबाट घर फर्किएँ तब मसंगै पढ्ने साथीहरु बोल्न छाडे ।” शोभाले भन्नुभयो । ‘होस्, अब म नपढी जीवन बिताउँछु’ मनमा यस्तै साेंच आयो ।
यसबीचमा अपाङ्गता भएकाहरुका लागि सक्रिय संघसंस्थामा पनि जानुभयो तर खासै कुनै उपलव्धि भएन । जसोतसो जिन्दगी चलिरहेकै थियो ।
जब उहाँ भक्तपुरको लिवालीमा रहेको स्वर्ग बालगृहमा पुग्नुभयो, उहाँको जीवनको बाटो मोडियो । बाल गृहमा भेटिएका सर÷म्याम उहाँका प्रेरणाका स्रोत बने । त्यहाँ पुगेपछि उहाँको जीवन उर्जामय भयो ।
त्यहाँ बसेर उहाँले फेरि स्कूल भर्ना भएर कक्षा ५ बाट पढाइ सरु गर्नुभयो । एसएलसी सकिएपछि उहाँ घर फर्किनु भयो ।
अहिले शोभा स्नातक तेस्रो वर्षमा अध्ययन गरिरहनु भएको छ । कक्षा १२ मा त शोभाले पद्म कलेजबाट सर्वोत्कृष्ट स्थान हासिल गर्नुभयो ।
पढाइमा पाएको सफलताले उहाँलाई खुशी मात्र थपेन अझ अगाडी बढ्न हौसला दियो । बाटीले भन्नुभयो, ‘जीवनमा केही गर्न सक्छु भन्ने आँट आयो र जीवन त्यसै खेर जान नदिने सोचें ।’
उहाँले दृष्टिबिहिन, हात खुट्टा नचल्ने, बोल्न नसक्नेलगायतका अपाङ्गता भएकालाई पढाउन थालेको पनि एक वर्ष भयो ।
शोभाको सफलता यतिमा मात्रै सिमित छैन । कम्प्युटर र अङ्ग्रेजी भाषाको तालिम लिएपछि १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले एउटा अनलाइन कम्पनीमा काम गरिरहनु भएको छ ।
शोभा भन्नुहुन्छ, ‘हो, शरीरका सबै अंग चल्दा जीन्दगी बाँच्न सजिलो हुन्छ । तर शरीरको कुनै एउटा अङ्ग चलेन भन्दैमा हिम्मत हार्न हुँदैन ।’
उहाँ शारीरिक रुपमा अप्ठ्यारोमा परेकाहरुलाई निरन्तर संघर्ष गर्न सुझाव दिनुहुन्छ । समाजले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने नजर बदलिनुपर्ने उहाँको भनाइ छ ।
शारीरिक रूपमा दुवै खुट्टा नचले पनि शोभाले सहनु परेको विभेद, गरेको आँट र पाएको सफलता भने अरुका लागि उदाहरणीय छ ।
तपाईंको बिचार