१२ वर्षमै आमा बनेकी गङ्गामायाको उपचारमा सरकारको चासो

प्रकाशित मिति: 2019-01-05
सिर्जना बराल

काठमान्डौं । कोठा नम्बर पाँचमा गहिरो निन्द्रामा परेकी गंगामाया । छेउमा स्लाईनको भाडोसँगै उहाँको बेडको छेउमा राखिएको थियो पिसाबको थैली । गंगामाया निद्रामा भएपनि उहाँको आमा राममाया प्रजा भने गंगामायाको दाहिने पट्टी नातिनिलाई छेउमा राखेर बसिरहनुभएको थियो ।


थापाथलीको प्रसुति गृहमा शल्यक्रियाबाट १२ वर्षकै उमेरमा गंगामायाले छोरी जन्माउनु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका ३ का गंगामाया चेपाङलाई शल्यक्रियापछि अलि गाह्रो भएको छ । हुन पनि के गाह्रो नहोस् । कलिलो उमेर, ४ दिनको सुत्केरी । 

 

छेउमा सुतेकी नातिनी रुन थाल्छिन् । राममाया झटपट् प्लास्टिकको बट्टामा राखिएको दुधदानीबाट दुध चुसाउन थाल्नुहुन्छ ।

 

बच्चाले दुध खाएको आवाज बाहिरसम्मै सुनिएको थियो ।

 

"छोरीको दुध आउदैन, यसरी दुध ख्वाएको तिन दिन भैसक्यो । पाँच सय ९० रुपैंया लाग्यो । बाहिरबाट बट्टाको दुध किनेर ल्याउँदा ।" पैसा खर्च भएकोमा राममायाको मन खुशी छैन । अनि नातिनीले दुध खान नपाएकोमा अझ बढि चिन्ता छ । 

 

गंगामायाको शरिर तङ्ग्रिएको छैन । हस्पिटलमा भेट्नका लागि पत्रकारहरु आईरहन्छन् । अरु मान्छे पनि आउँछन् । सबैले उही कुरा सोध्छन् । विरामी भएकाले गंगामायालाई बोल्न झिंझो लाग्छ । कैले काँही आमालाई सुनाउनुहुन्छ, घाउ धेरै दुखेके छ । 

 

आमा राममायाका अनुसार गंगाले भागेर विवाह गरिन् । १२ वर्षकै उमेरमा गर्भवति भईन् । पढ्ने लेख्ने उमेरमा छोरी सुत्केरी भएको देखेर राममायालाई दुख पनि लाग्छ । तर लागेर के गर्नु, जे नहुनु भई गयो । यसै भनेर उहाँले चित्त बुझाउने गर्नुभएको छ । 

 

नातिनीलाई काखमा लिदा राममायाको अनुहार खुशी फर्किन्छ । तर छोरी गंगामायालाई हे¥यो कि अनुहार निन्याउरो भई हाल्छ । 

 

"गंगामाया सानै हुनुहुन्छ । सानै भएकाले शल्यक्रिया गरियो । घाउँ निको पार्न स्लाईन दिएका छौँ ।" यो प्रसुतिगृहका नर्स नलिना राजउपाध्याय भनाई । 

 

गंगामायाको आमासँग कुरा गर्दागर्दै प्रधानमन्त्री कार्यलयबाट एक हुल कर्मचारी गंगामायाको कोठमा छिरे । गंगामायाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै केही रकम र बच्चाको लागि न्यानो कपडा दिए । उनीहरुले पनि गंगामाया निदाएकाले गंगामायाको आमासँग उनको हालखबर सोधे । प्रधानमन्त्री कार्यलयका प्रवक्ता विनोद कुवँर गंगामायाको स्वास्थ्य स्थिति बुझ्न आफैं आउनुभएको थियो । 

 

गंगामाया सानै उमेरमा आमा बनेको घटनाले किशोर किशोरीलाई अझै बालविवाहको बारेमा चेतना दिनुपर्ने आवश्यकता भएको महसुस भएको कुँवरले बताउनुभयो । गंगामायाको स्वास्थ्य उपचारको लागि सरकार सबै खर्च बेहोर्नेछ । 

 

शारीरिक रुपमा प्रजनन् अंग परिपक्क नभइ गंगामायाले बच्चा पाउनुभयो । छोरीलाई अझै स्तनपान गराउन सक्नुभएको छैन । सानो उमेरमा बच्चा पाउँदा आमा र बच्चा दुवैलाई खतरा हुनेछ । प्रसुति गृहका डाक्टर रमिता कँडेल भन्नुहुन्छ, "आमा र बच्चालाई पछिसम्म रगतको कमी हुने, चिसोले छिट्टै छुने समस्या हुन सक्छ ।" 

तपाईंको बिचार