छात्रवृत्ति पाउँदा उत्साही छन गरीव विद्यार्थी

प्रकाशित मिति: 2018-05-01
सुशील दर्नाल

विश्व निकेतन कलेज त्रिपुरेश्वरमा कक्षा ११ मा अध्ययनरत मनिता नेपलीलाई खुसीको अनुभूति भएको छ । 

विज्ञान विषय लिएर अध्ययन गर्दै गर्नुभएका मनितालाई घरको आर्थिक अवस्था कमजोर भएको कारण पढाइमा समस्या आउने होकि भन्ने चिन्ताले सधैँ सताइरहेको थियो । तर, दलित महिला उत्थान संघ एड्वानले कक्षा ११ र १२ को लागि छात्रवृत्ति प्रदान गरेपछि भने मनिता खुसीले गदगद हुनुभएको छ । 

मेरो घरको आर्थिक अवस्था अत्यन्त कमजोर छ, भविष्यमा डक्टर बन्ने उद्देश्य राख्नुभएकी मनिताले उत्साही हुँदै भन्नुभयो,–“यो छात्रवृत्ति पाएपछि झन पढ्न मन लागेको छ, पढ्ने हौसला बढेको छ ।” मनितालाई मात्र होइन, एड्वानले छात्रवृत्ति प्रदान गरेपछि मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेमा कक्षा ११ मा शिक्षा विषय लिएर अध्ययन गर्दै गरेकी विनिषा परियारलाई पनि पढ्ने जागर चलेको छ । 

घरको आर्थिक अवस्था कमजोर भएकी गोरखाकी विनिषाले भन्नुभयो,–“काठमाडौँमा पढाईसँगै बस्न र खान समेत समस्या भएको थियो तर  एड्वानले पढ्नका लागि छात्रवृत्ति प्रदान गरेपछि पढाइमा सहयोग पुगेको छ ।”  २०५५ मा स्थापना भएको एड्वानले मनिता र विनिषालाई मात्र होइन, आर्थिक अवस्था कमजोर भएका हजारौँ गरीव समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

एड्वानकै छात्रवृत्ति पाउनुभएकी गोरखाकी सजिता परियार अहिले धादिङमा परिचारिकाको जागिर गर्दै हुनुहुन्छ । त्यसैगरी छात्रवृत्ति पाउने गोरखाकी लक्ष्मी काप्रीले पढाइ सकेर जागिरको सिलसिलामा हुनुहुन्छ । 

एड्वानकै छात्रवृत्ति पाएर विवियस पढाई सक्नुभकी बाग्लुङकी प्रिया किसानले एड्वानकै कारण आफूले पढाई सक्न सफल भएको बताउँदै एड्वानलाई धन्यवाद दिनुभयो । 

यो वर्ष मात्रै एड्वानले कक्षा ११ र १२ का अति गरिव, जेहेन्दार, दलित तथा उत्पीडनमा पारिएका समुदायका एक सय जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । 

जसमध्ये चार जना अति गरिव विद्यार्थीलाई प्रदान गरिसकिएको छ भने २० जनालाई प्रदान गर्ने सुनिश्चित भएको छ  । बाँकीको लागि आवेदन माग गरिएको छ । विहिवार एड्वानले छात्रवृत्ति पाएर सफल भएका विद्यार्थी र भर्खरै छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्मान समेत गरेको छ  । 

सोही अवसरमा सम्मान तथा छात्रवृत्ति प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले करिव तीन लाख बालबालिका विद्यालय बाहिर रहेको सन्दर्भमा एड्वानले छात्रवृत्ति प्रदान गरेर विद्यार्थीलाई पढाइमा आकर्षित गर्नु आफैँमा सकारकात्मक काम हो भन्नुभयो । 

यस संस्थाले २०५९ सालदेखि २०६८ सालसम्म विद्यालय पोषाक वितरण कार्यक्रम समेत सञ्चालन गरेको थियो । कार्यक्रम मार्पmत गोरखा, वाग्लुङ्ग, अर्घाखाँची, चितवन, मुगु, झापा र ईलामका १५ हजार ६७३ छात्रछात्राहरु लाभाम्वित भएका थिए । अहिले नयाँ दर्ता हुन आएका समूहका वालवालिकाहरुलाई पनि तीन वर्षसम्म प्रदान गर्दै आएको छ । 

एड्वानले सुरुदेखि नै गरिव विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नुका साथै ग्रामिण क्षेत्रका दलित, महिला, सिमान्तकृत तथा अति विपन्न समुदायमा आयआर्जन मूूलक सिप समेत सिकाउँदै आएको संस्थापक अध्यक्ष तथा संरक्षक डा विष्णु माया परियारले जानकारी दिनुभयो । 

एड्वानले सिप मात्रै सिकाउँदैन, सिप सिकाईसकेपछि व्यापार÷व्यावसाय गर्नका लागि ऋण समेत उपलब्ध गराउँदै आएको छ । 

एड्वानले गरिव, दलित तथा उत्पीडित समुदायको अधिकारका लागि समेत निरन्तर पैरवी गर्दै आएको महासचिव विन्दु परियारले जानकारी दिनुभयो । रासस

तपाईंको बिचार