साँझ पर्नै आँटेको थियो । बझाङ स्यालाखेतको एउटा बस्तिमा डल्ली धामी छाउगोठमा भेटिनुभयो ।
सदरमुकाम चैनपुरभन्दा २ किलोमिटर मात्रै पर रहेको स्यालाखेतमा चिसो हावा चल्दै थियो । माघ अन्तिमतिर भेटिनु भएकी धामी हलुका वर्षाले ओसिलो पारेको छाउगोठलाई आगो फुकेर न्यानो पार्दै हुनुहुन्थ्यो ।
स्यालाखेतका सम्झना धामीको ९ महिनाको छोरा छ । महिनावारी भएका हरेक समय उहाँ छाउगोठमै बस्नुुहुन्छ ।
उहाँले पनि कक्षा १२ पास गर्नुभएको छ, श्रीमान पनि पढेलेखेकै छन् । बर्खा होस् कि हिउद निसास्सिंदो छाउघरमा बस्न मनै लाग्दैन । ‘म घरै बस्छु नी’ भन्न नसक्दा नबसि पनि सुख छैन ।
अहिले छोरीहरु 'छाउगोठमा बस्दिनँ' भन्दै बिद्रोह गर्न थालेका छन् । तर धामी र पाका पुस्ताको भनाई खाने डरले घरमै सुत्न भने अझै सक्दैनन् ।
छाउगोठमा बस्दा महिनाबारीको महत्वको बारेमा खुब छलफल हुन्छ ।
अब घरमै बस्ने भन्ने निर्णयसम्म हुन्छ । तर अर्को पटक छाउ हुँदा पोको पन्तुरो बोकेर लुरुलुरु छाउगोठमै पुग्नुपर्छ ।
अछामको बान्नीगढी जयगढका सपना शाहलाई पनि छाउ हुँदा गोठ जान मनै लाग्दैन । तर धामीले भनेअनुसार देवता रिसाउने डरले सपना घरमै बस्न पनि सक्नुहुन्न ।
सुदुरपश्चिममा बिरामी हुँदा समेत अस्पताल नगई धामीलाई देखाउने चलन छ । धामीलाई देवताका प्रतिक मानिन्छ ।
तीनै धामी र सासु, ससुरा, बुवा–आमाले गाली गर्लान् की भनेर चिन्ता भइरहन्छ। तर, मुगु, हुम्ला लगायतका जिल्लामा छाउ अथवा रजस्वला भएका बेला घरमा नै बस्नुपर्छ है भन्दै धामीहरुले नै अभियान पनि चलाइरहेका छन् ।
दुईदिन अघि मात्रै अछामका महिलाहरुले छाउपडि प्रथाको विरोध गर्दै छाउगोठ भत्काएको खबर देशभर फैलियो ।
अछाममा जस्तै प्रदेश नम्बर ६ र ७ का महिलाहरुले धेरै पटक छाउगोठ भत्काए, महिनावारी हुँदा छाउगोठमा नबस्ने घोषणा पनि गरे । तर, छाउपडि प्रथा अन्त्य गर्न महिलाहरुको चाहनाले मात्रै नपुग्ने भएको छ ।
मुख्य गरि पुरुष र धर्मगुरु अर्थात् धामीका कारण महिलाहरु छाउगोठबाट बाहिर निस्कन सकेका छैनन् ।
तपाईंको बिचार