भक्तपुर । भक्तपुरका ऐतिहासिक साँस्कृतिक सम्पदाको पुननिर्माणले गति लिएको छ । २०७२ सालको भूकम्पमा भत्किएका भक्तपुर नगरपालिका क्षेत्रका दरबार प्रवेश द्धार, हरिहर नारायण, शंखर नारायण, बद्री नारायण मन्दिर, सिद्ध पोखरीको पर्खाल र फसिदेग मन्दिरको पुननिर्माण सकिएको छ ।
केदारनाथ, बत्सला, सिद्धिलक्ष्मी मन्दिर, कला संग्रहालयको मर्मतको काम अहिले भइरहेको भक्तपुर नगरपालिकाको सम्पदा विभागका प्रमुख रामगोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
२०७२ सालको भूकम्पमा भक्तपुर नगरपालिका क्षेत्रभित्रका १ सय २१ सम्पदा तथा मठमन्दिमा क्षति पुगेको थियो । जसमध्ये ६९ सम्पदा पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए । ५२ वटा सम्पदामा आशिंक रुपमा क्षति पुगेको थियो ।
सरकारले पाँच वर्षभित्र ऐतिहासिक महत्वका सम्पदाको पुननिर्माण सक्ने भनेपनि बुट्टेदार ढुंगा तथा इट्टाको अभाव, आवश्यक काठ नपाईदा समयमै काम नसकिने देखिएको छ । सम्पदा पुननिर्माणमा दक्ष जनशक्तिको पनि अभाव रहेको विभागका प्रमुख श्रेष्ठले बताउनुभयो ।
पुरातत्व विभाग र भक्तपुर नगरपालिकाले कार्य विभाजन गरी नगरपालिका क्षेत्रभित्रको मन्दिर तथा ऐतिहासिक महत्वका संरचना पुननिर्माणको काम गरिरहेको छ । नगरपालिका क्षेत्रभित्रका सम्पदा पुननिर्माणका लागि २९ करोड ३२ लाख लाग्ने नगरपालिकाले जनाएको छ । सम्पदाहरु पहिले कै स्वरुपमा, आकर्षक र बलियो बनाउने गरी काम भइरहेको विभागका प्रमुख श्रेष्ठको भनाइ छ ।
तपाईंको बिचार