तीन महिनामा ४० बलात्कारका घटना, पाँच जनाको बलात्कारपछि हत्या

प्रकाशित मिति: 2018-02-02

काठमाडौं । 

गएको तीन महिनामा ४० वटा बलात्कारका घटना भएका छन् । ९ वटा बलात्कारको प्रयासका घटना भएको छ ।

५ जना महिलाको बलात्कारपछि हत्या समेत गरिएको पाइएको ओरेक नेपालले जनाएको छ । 

ओरेक नेपालले गरेको अभिलेखिकरण तथा सञ्चार अनुगमनका आधारमा उसले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । 

यस्ता घटनाले महिलामाथि हुने हिंसाको दर्दनाक अवस्थालाई देखाएको भन्दै ओरेकले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । 

यसमा पनि भर्खरै काठमाण्डौमा नै भएको सामूहिक बलात्कारको घटनामा प्रहरी अनुसन्धानका लागि गरेको आनाकानी र ललितपुरमा भएको सामुहिक बलात्कारको घटनाको पुर्ण रिपोर्ट नआउँदै, घटनाको गम्भीरता र संवेदनशिलता कायमै रहेको बेला पर्याप्त प्रमाण नपुगेको भन्दै जिल्ला अदालतले आरोपित व्यक्तिहरुलाई साधारण तारेखमा छोडेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको ओरेकले विज्ञप्ती निकालेर भनेको छ । 

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘यस्ता गम्भीर प्रकृतिका मानव अधिकार हनन्का घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई संविधान प्राप्त न्याय प्राप्तिको अधिकार सुनिश्चितताका लागि सरोकारवालाहरुसँग अपिल गर्दछौ ।’

साथै विज्ञप्तीमा यस्ता मानव अधिकार हनन्का जघन्य अपराधमा समेत प्रभावितले न्याय प्राप्त गर्ने सहज वातावरण सिर्जना नभए महिला र मानव अधिकारकर्मीहरु सडकमा नै आएर प्रभावितको न्यायका लागि लड्न बाध्य हुने चेतावनि समेत दिइएको छ ।

ओरेकले सार्वजनिक गरेको यो तथ्यांक विभिन्न सञ्चारमाध्यममा आएका घटनामात्रै हुन् । सञ्चारमाध्यममा नआएका अझै थुप्रै यस्ता घटना हुनसक्ने महिला अधिकरकर्मीहरु बताउँछन् । 

 

तपाईंको बिचार