यसरि बन्छ नेपाली हाते कागज

प्रकाशित मिति: 2018-01-25
ज्योति श्रेष्ठ

विशेषगरि सरकारी कामकाजमा प्रयोग हुने नेपाली कागज हिउँद महिनामा तयार पारिन्छ । सरकारी प्रयोजनमा मात्र नभएर किताब तयार पार्न र धूप बनाउनको लागि पनि नेपाली कागजको प्रयोग बढि नै हुन्छ ।

काठमान्डु । केही समय अघि काभ्रेको पनौती –१० खोपासीमा रहेको फ्रेण्डसिप पेपर उद्योग पुुग्दा सबै कामदारहरु व्यस्त देखिन्थे । कोही कागज बनाउने तयारीमा, कोही कागज सुकाउँदै । कोही सुकेका कागज निकाल्न ब्यस्त । व्यस्त कामदारहरुमध्ये ६० बर्षका चिनुु महत सुकेका कागज निकाल्दै गर्दा भेटिनुुभयो । 

पहाडी क्षेत्रमा पाईने लोक्ता रुखको बोक्रालाई पकाईएको सामाग्रीबाट २७ बर्षका सिता केसी गफ गर्दै कागज तयार पार्दै हुनुहुन्थ्यो । कागज उद्योगमा लोक्ता भिजाउने, पकाउने, पेल्ने, चाल्ने र फर्मामा हाल्ने काम सबै महिलाले गर्छन् । कागज उद्योगमा काम गर्दा महिलाहरूको राम्रो आर्जन छ । घरको काम सक्यो आयो, बेलुका घर फर्कंदा ५ देखि ७ सय कमाएर घर फर्कियो । उद्योगमा काम गर्ने २४ मध्ये २३ महिला छन् । 

काभ्रेको च्यामासिङखर्कदेखि रोजगारीको लागि पनौतीको खोपासी आइपुग्नु भएका ७ वर्ष देखि काम गरिरहनु भएको छ । अरु कामभन्दा कागज बनाउने काम सजिलो अनि आम्दानी पनि राम्रै हुने भएकाले रीताका लागि यो आफ्नो छनौटमा परेको हो । 

पुरुषले काम गर्दा जति ज्याला पाउँछन् महिलाले पनि त्यति नै पाउँछन् ।  पुरुषोत्तम पोँजु र चतुरमान शाक्यको संयुक्त लगानीमा चलिरहेको उद्योगले बिगत १६ वर्षदेखि कागज उत्पादन गरिरहेको छ । करिब ७ लाखको लगानीबाट सुरु गर्न सकिने व्यवसायबाट एक पटकमा ४ लाख नाफा निकाल्न सकिने सञ्चालक शाक्य बताउनुहुन्छ ।

पूर्वको ताप्लेजुङ र इलामबाट कागजको लोक्ता ल्याएर कागज बनाउने गरिन्छ । उत्पादन भएका नेपाली कागज किताब छाप्नको लागि बिदेशमा ठूलो माग छ ।  माग अनुसारको कागज उत्पादन हुन नसकेकाले कच्चा पदार्थ बनाउनेहरुाक लागि पनि राम्रो सम्भावना रहेको कागज उद्योगीहरुको दावी छ । 

विशेषगरि सरकारी कामकाजमा प्रयोग हुने नेपाली कागज हिउँद महिनामा तयार पारिन्छ । सरकारी प्रयोजनमा मात्र नभएर किताब तयार पार्न र धूप बनाउनको लागि पनि नेपाली कागजको प्रयोग बढि नै हुन्छ । नेपालमा अहिले  १ हजारभन्दा बढी हातेकागज उद्योग सञ्चालनमा छन् । 
 

 

तपाईंको बिचार