ताप्लेजुङमा सरकारी गाडिको दुरुपयोग रोक्दै ट्राफिक प्रहरी

गाउँपालिकाको मोटरसाईकल ठेकेदारले चलाउँदै गर्दा पक्राउ

प्रकाशित मिति: 2018-01-13
रविन भट्टराई, रेडियो तमोर, ताप्लेजुङ
शनिवार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सरकारी मोटरसाईकल ।तस्विर : रविन भट्टराई
शनिवार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सरकारी मोटरसाईकल ।तस्विर : रविन भट्टराई

ताप्लेजुङमा सरकारी र सार्वजनिक बिदामा समेत सरकारी गाडिको दुरुपयोग बढ्न थालेपछि ट्राफिक प्रहरीले त्यस्ता सवारी नियन्त्रणमा लिन थालेको छ ।

विना पास बिदामा समेत सरकारी सवारी आफ्नो प्रयोजनका लागि र अरुलाई नै कुदाउन दिन थालेपछि त्यस्ता सवारी नियन्त्रणमा लिन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका ईञ्चार्ज टंक न्यौपानेले बताउनुभयो ।

फक्ताङ्लुङ गाउँपालिकाका वडा सचिव पवनकुमार देवले प्रयोग गर्ने मे १ ब ३१३ नंबरको सरकारी मोटरसाईकल आज बिना पास अर्कै व्यक्तिले प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरिएको ईन्चार्ज न्यौपानेले जानकारी दिनुभएको छ ।

सो सरकारी मोटरसाईकल जिल्ला नापी कार्यालयको भवन निर्माण गरिरहेका ठेकेदार दिवस लाबुङले चलाईरहेको अवस्थामा पक्राउ गरिएको उहाँको भनाई छ । पक्राउ गरिएको मोटरसाईकल जिल्ला प्रहरीमा बुझाएको ईन्चार्ज न्यौपानेले जानकारी दिनुभयो ।

ताप्लेजुङमा सरकारी र सार्वजनिक विदामा समेत सरकारी गाडिको दुरुपयोग बढेकाले अहिले आफूहरुको ध्यान सरकारी गाडिको दुरुपयोग रोक्नेमा रहेको र केहि सरकारी सवारी सिक्न, विवाह, बरखी, मलामी र वनभोजमा समेत प्रयोग गर्ने गरेको सुचना आएकाले त्यस्ता सवारीको निगरानिमा ट्राफिक प्रहरी रहेको उहाँले बताउनुभयो ।

सरकारी सवारी सरकारी काम काजको लागि सरकारी कार्यालय खुलेको समयमा मात्र प्रयोग गर्न पाईन्छ भने अन्य विदाको समयमा सरकारी कामकै लागि चलाउनुपरे जिल्ला प्रशासन कार्यालय बाट पास लिनुपर्ने प्रावधान रहेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताउनुभयो । 

 

तपाईंको बिचार