प्रशासन र राजनीतिक दलको विवादले पाँच करोडको राहत कुहियो

व्यवस्थापनको काम शुरु

प्रकाशित मिति: 2017-12-26
रामहरी न्यौपाने, रेडियो जालपा, नुवाकोट

नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको राहत सामग्री लामो समयपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले व्यवस्थापन गर्न शुरु गरेको छ । 

पीडितलाई वितरण गर्न ल्याएको राहत सामग्री तत्कालीन समयमा वितरण स्थानको छनोटमा उत्पन्न विवादले थन्क्याएको ३२ महिनापछि सोमबारदेखि सुरक्षित व्यवस्थापन शुरु गरेको हो । 

भण्डारण गरिएको राहत २०७२ को वैशाख र जेठ महिनामा प्राप्त भएको थियो । तत्कालीन समयमा प्रशासन र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा उत्पन्न विवादले राहत सामग्री थन्क्याइएको थियो । 

भूकम्पपीडितलाई वितरण गर्न जिल्लामा आएको राहत सामग्री विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको स्थानबाट सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो ।

“भूकम्पलगत्तै प्राप्त भएको पाँच करोडभन्दा बढी मूल्यको राहत सामग्री व्यवस्थित भण्डारणको अभाव र राखिएको लामो समयसम्म परीक्षण नहुँदा खाद्य सामग्रीको म्याद गुज्रिएको छ,” शर्माले भन्नुभयो, “बन्दोबस्तीका सामग्रीसमेत आधाभन्दा बढी प्रयोगविहीन अवस्थामा पुगेको पाइएकाले छनोट गर्न शुरु गरिएको छ ।” 

लामो समय चिसो भुइँमा थन्क्याएर बन्द कोठामा भण्डारण गरिएका कारण खाद्य सामग्री कुहिएको र लत्ताकपडा तथा भाडावर्तनसमेत प्रयोग गर्न नमिल्ने भएका छन् । 

भण्डारण गरिएका राहत सामग्रीमा विदेशी दाताबाट प्राप्त टेन्ट, त्रिपाल, तयारी पोशाक, भाँडावर्तन, औैषधिलगायत रहेका छन् ।

राहत सामग्री छनोटको काम पूरा हुन एक साता लाग्ने जिल्ला समन्वय समितिका अधिकृत उपेन्द्र प्याकुरेलले जानकारी दिनुभयो ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/26105514_1727621133944230_1791771018_n.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/26105514_1727621133944230_1791771018_n.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार