काठमाडौं । महिला हिंसा अन्त्यका लागि १६ दिने अभियान अन्तरगत कुरिती जन्य हिंसालाई केन्द्रित गरेर सामुदायिक रेडियो प्रसारक संघ अकोराबले सञ्चार अभियान शुरु गरेको छ ।
हरेक वर्षको २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना बढाउन विभिन्न कार्यक्रमको आयोजना गरिदै आएकोमा यस वर्ष १६ जना उत्कृष्ट महिलाको संघर्ष, सफलता र उनीहरुले हिंसा अन्त्यका लागि गरेको कामका विषयमा चर्चा गर्न लागिएको हो ।
प्लान इन्टरनेशनल नेपाल, सिविन नेपाल र ओरेकसँगको सहकार्यमा १६ महिलाको प्रोफाइल तयार गरी प्रशारण तथा प्रकाशन गर्ने, पीडितको आवाज समेटेर रेडियो रिपोर्ट तथा कार्यक्रम उत्पादन र प्रशारण गर्ने अभियान सुरु भएको हो ।
यो अवधीभर सीआईएन मार्फत कुरीति र परम्पराजन्य हिंसा अन्त्य गर्न चेतना फैलाउने खालको सूचनाहरु प्रशारण गरिदै छ ।
त्यस्तै, यस्ता हिंसा अन्त्यको लागि छाता कानुन बनाउनको लागि वकालत गरिनेछ । रेडियो उत्पादकहरुको विषय विज्ञता बढाउने प्रशिक्षण कार्यक्रम पनि गर्न लागेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ ।
१६ दिने अभियानमा महिलाहिंसा विरुद्ध आवाज उठाउने र काम गर्ने संघर्षशील महिलाहरुलाई थप उत्साह बढ्ने भन्दै प्रोफाईल तयार गरि प्रशारण र प्रकाशन गर्न लागिएको हो ।
संसारभरिका प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोग्दै आएका छन्, नेपालमा यो अवस्था अझै भयावह छ ।
तपाईंको बिचार