बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति अकोराबद्वारा दुःख व्यक्त

सावधानी अपनाउने र जीवन उपयोगी सामाग्री प्रसारण गर्न रेडियोहरुलाई आग्रह

प्रकाशित मिति: 2017-08-13

विगत केही दिन यता लगातारको वर्षाले तराई मधेसका अधिकांश जिल्लामा भएको जनधनको क्षतिप्रति सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले दुःख व्यक्त गरेको छ । 

अकोराबका महासचिव गोविन्द देवकोटाले आज विज्ञप्ति निकालेर सामुदायिक रेडियोहरुले बाढी, पहिरो, डुबानको यस विपतमा समेत आफू जोखिममा रहेर पनि नागरिकलाई सुसुचित गराउने काम जारी राखेकोमा सराहना गर्दै रेडियो र रेडियोकर्मीहरुको उच्च प्रशंसा पनि गर्नुभएको छ । 

साथै उहाँले सबै रेडियोहरुलाई आफू सुरक्षित रहँदै उद्धार तथा राहतको कार्यमा सघाउँदै संकटको घडीमा अपनाउनुपर्ने सावधानी र जीवन उपयोगी रेडियो सामग्रीहरु प्रसारण गर्न पनि अनुरोध गर्नुभएको छ ।

अकोराबले विज्ञप्तिमार्फत बाढी पहिरोमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ । 

 

तपाईंको बिचार