मिथिलाञ्चलसहित तराइका जिल्लाहरुमा रक्षा बन्धन आज

२० जिल्लामा सार्वजनिक बिदा

प्रकाशित मिति: 2017-08-07
जयन्त ठाकुर, जानकी एफएम, जनकपुरधाम

भाई बहिनीको प्रेमको प्रतिक मानिने पर्व रक्षा बन्धन पर्व आज मिथिलाञ्चलसहित तराईका २० जिल्लामा मनाईदैछ ।

प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन रक्षा बन्धन पर्व मनाइने गरिन्छ । रक्षा बन्धनका दिन बहिनीले आफ्नो भाईको हातमा राखी बाँध्ने गर्छन् भने भाईले आफ्नो बहिनीलाई उपहार दिने गर्छन् ।

यसवर्ष चन्द्र ग्रहण लाग्ने भएकोले चन्द्र ग्रहण लाग्नुभन्दा ९ घण्टा अगावै रक्षा बन्धन मनाउन पण्डितहरुले सुझाव दिएका छन् ।

चन्द्र ग्रहण लाग्नुभन्दा ९ घण्टा अगाडिसम्म असौच रहने भएकोले चन्द्र ग्रहण शुरु हुनुभन्दा ९ घण्टा पहिले नै रक्षा बन्धन मनाउन पण्डित दिगम्बर झा दिनमणिले सुझाव दिनुभएको छ । 

नेपाल पञ्चांग निर्णायक समितिले रक्षा बन्धनका दिन चन्द्र ग्रहण लाग्ने भएकोले नागपञ्चमीकै दिन रक्षा बन्धन मनाउन पनि सुझाएको थियो । अन्य पहाडी जिल्लाहरुमा त्यही दिन रक्षा बन्धन मनाइएको थियो । तर मिथिलाका पण्डितहरुले रक्षा बन्धन पहिलेदेखि नै पूर्णिमाकै दिन मनाउँदै आएकोले पूर्णिमाकै दिन रक्षा बन्धन मनाउने निर्णय गरेका थिए ।

तराइका २० जिल्लामा बिदा

रक्षा बन्धन मनाउने तराइका २० जिल्लामा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले हिजो एक सूचना निकालेर आज रक्षा बन्धन मनाउने जिल्लाहरुका लागि बिदा दिइएको उल्लेख छ ।

झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुर जिल्लामा आज बिदा दिइएको गृह मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

तपाईंको बिचार