अछाममा मस्टामाण्डौ मेला आजदेखि

प्रकाशित मिति: 2017-08-06
रमेश रावत, रेडियो परिवर्तन, अछाम

अछामको विनायकमा आज देवत्व प्रकट हुने आम नागरीकले विश्वास लिएका छन् । आज लाग्ने धार्मीक मेलामा मस्टा देवताका धामीहरुमा देवत्व प्रकट हुने विश्वास गरिन्छ । मेला हेर्न १० हजार भन्दा बढि आउने अनुमान गरिएको छ । परापुर्व कालदेखि चल्दै आएको धार्मीक एंव ऐतिहाँसीक मेलामा हरेक वर्ष हजारौंको सहभागीता हुने गर्छ ।

मस्टा देवताको पर्वको बेलामा हरेक वर्षको यसै समयमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । मेलामा अछाम, दैलेख, सुर्खेत, कालीकोट, कैलाली, बांके, बर्दिया, जुम्ला लगायतका ठाउँबाट भक्तजनहरु आउने गर्छन् । मेलामा आउनेहरुका लागि खानेपानी तथा टेन्ट लगायतका सामानको व्यवस्था मिलाइएको मेला व्यवस्थापन समितिका संयोजक तथा पञ्चदेवल विनायक नगरपालिका २ का नव निर्वाचित वडा अध्यक्ष पदम धामीले जानकारी दिनुभयो । 

उहाँका अनुसार भक्तजनको सुरक्षाका लागि ५० भन्दा बढि प्रहरी खटिएका छन् । आईतबार बिहानैबाट सुरु भएको मेला सोमबार बेलुकीसम्म चल्नेछ । मेलाका कारण विनायक बजारमा लाखांैको कारोबार हुने बजार व्यवस्थापन समितिका कोषाध्यक्ष धर्मराज तिमिल्सेनाले बताउनुभयो ।

मेलामा मदिराजन्य पदार्थ विक्रि वितरण तथा सेवनमा रोक लगाईएको छ । त्यस्तो गरिएको पाइए कडा कार्वाही हुने मेला व्यवस्थापन समितिले जनाएको छ । मेलामा अछामको रामारोशन क्षेत्रमा घरमै बनाईएका डोका,च्याङ्ग्रोको व्यापार पनि हुने गरेको छ । मेलामा स्थानीय संस्कृति झल्किने देउडा खेलिन्छ । 

तपाईंको बिचार