सडक पछ्याउँदै कोशीपारी देखि फर्पिङसम्म

२३ वर्ष पुरानो दुनोट पसलको कथा

प्रकाशित मिति: 2017-07-28
राजन रुचाल

काठमान्डु । वल्खु देखि चोभार हुँदै दक्षिणकालीसम्मको सडक पुरानो सडक मध्येको एक हो । अहिले यो सडक मर्मतको काम चलिरहेको छ । घाम लागे धुलाम्मे, पानी परे हिलाम्य सडकमा सवारी साधन गुडाउनै गाह्रो छ । 

दक्षिणकाली नगरपालिकाको डोल्लु पुग्दा सडक किनारमै एउटा पूरानो घर भेटियो । ६५ वर्षिया तुलसी माया श्रेष्ठ पसलमा बसीरहनु भएको छ । उहाँको पसल पनि निकै पुरानो रहेछ । सडक बनेपछि खोलिएको पसल । शुरु–शुरुमा राम्रै चलेको थियो । हामीले सडक र त्यसबेलाको अवस्था बारे जिज्ञाशा राख्यौं, तर बृद्धा अबस्थाका कारण उहाँलाई खासै स्मरण रहेनछ । त्यतै नजिकै बिस्कुट कारखाना भएको उहाँले बताउनुभयो । त्यसपछि हामी बिस्कुट कारखाना खोज्दै दक्षिणकाली क्षेत्रको पूरानो शहर फर्पिङ तिर लाग्यौं । त्यहाँ बिस्कुट कारखाना त भेटिएन तर एउटा पुरानो दुनोट उत्पादन गर्ने कारखाना भेटियो । 

फर्पिङ चोक नजिकै एउटा पुरानो घरमा दुनोट पसल छ । २३ वर्षदेखि सञ्चालित यो पसलमा काभ्रेका नारायण उप्रेती र मोति कृष्ण उप्रेती दुई दाजुभाईलाई हरेक दिन दुनोट बनाउने र पकाउन भ्याई नभ्याइ हुन्छ । मध्ये दिउँसोको उखरमाउलो गर्मीमा असिन पसिन भएर उहाँहरु काम गरिरहनु भएको छ । 

दक्षिणकाली नगरपालिकाको प्राय सडक पुगेको क्षेत्रमा यहि पसलको दुनोट साईकल, मोटरसाईकलमा  पुग्ने गरेको छ । वरिपरीका विद्यालयबाट दुनो लिन पसलमा आउने गरेको पनि दखियो । 

यो क्षेत्रकै पहिलो दुनोट पसल । बच्चा देखि पाकासम्मले चिन्छन् । सबैले मिठो मान्छन् । यसो भनिरहँदा दुनोट पकाईरहनु भएका मोति कृष्ण उप्रेती मुस्कुराउनुभयो ।  
त्यो बेला पसलमा काम गर्नेहरु अरु तीन चार जना थिए । सबैलाई तलब दिएर र खर्च कटाएर दाजुभाईलाई महिनाको २०⁄२२ हजार बँच्थ्यो । ६५ साल यता दाजुभाईले मात्रै पसल चलाएदेखि मिहेनत थपिए पनि आम्दानी राम्रै छ । 

काभ्रेको कोशीपारी बल्ल कच्चि सडक पुगेको छ । त्यसबेला गोरेटो र घोडेटो बाटाहरु थिए । यी दाजुभाई मोटर गुड्ने सडक खोज्दै फर्पिङ आईपुगेको सम्झनुहुन्छ, ४२ वर्षिय नारायण उपे्रती । त्यसबेला फर्पिङ अहिले जस्तो थिएन । पिठोसँग खेल्दा खेल्दै २३ वर्ष बितेको यी दाजुभाईको जोडीलाई पत्तै भएन । 

मुग्लीन नारायणघाट सडक खण्डको निर्माणकार्यका कारण पनि यो मार्गको चाप कम छैन अनि व्यापार पनि उत्तिकै चलेको छ । परिवार पाल्न विदेशिनु परेको छैन । यो भन्दा धेरै सन्तुष्टी के हुन्छ र ? सडकको कारण मिलेको सन्तुष्टी । 
जे छ सडककै कारण भएको छ । सडक भएकैले दुनोट पसल छ । पसल भएकैले दाजुभाईको मुहारमा खुशी छ । 

२० मिनेट जति कुरा गर्दा तीन जना ग्राहक आए । कसैले त्यहिं बसेर खाए कसैले लिएर गए । भाई मोतिकृष्ण २ सय वटा दुनोट बोकेर बिद्यालय तिर लाग्नुभयो । दाई नारायण चाँही दुनोट पकाउन थाल्नुभयो । 

२३ वर्षदेखि मैदा पेलिरहेका यी दाजुभाई सडक किनारामा मैदा पेलेरै बाँकी जीन्दगी सुन्दर बनाउने सपना बुनिरहेका छन् । सडककै कारण ठाउँको जनजिविका नै फेरिन्छ र बस्तीको रुप पनि, त्यसैले सडकलाई विकास र समृद्धिको आधार मानिन्छ । त्यही सडक कैयौँका लागि जिविका चलाउने माध्यम पनि बनेको छ । 

https://www.youtube.com/watch?v=MXhCAuDhAWc&feature=youtu.be

तपाईंको बिचार