मौन अवधि शुरु

चुनावी प्रचारप्रसार गर्न नपाइने

प्रकाशित मिति: 2017-06-25
काठमाडौं ।

असार १४ गते हुने दोस्रोे चरणको स्थानीय तह निर्वाचनको मौन अवधि राति १२ बजेपछि सुरु हुने भएको छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार “स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६० को (१) मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।”

निर्देशिकाको दफा ७० को उपदफा (१) मा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउने वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ ।

मौन अवधि भन्नाले ‘मतदान गर्ने समयभन्दा ४८ घण्टाअघि सम्मको अवधि’ लाई बुझाउँछ । उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग, बिक्री वा प्रदर्शन गर्न पनि मौन अवधिमा निषेध गरिएको छ । 

 

तपाईंको बिचार