काठमान्डु । ललितपुरको पाटनढोका पुरानो बस्ति र एक हिसावले नेवार समुदायको प्रवेश ढोका पनि हो । नजिकै सानो बसपार्क छ । बसपार्क आसपास तरकारी, फलफूल र चटपटे बेच्नेदेखि जुत्ता सिलाउँदै भविश्य खोज्नेहरुका बिचबाटै फराकिलो सडकमा लाखौका गाडीहरु हुइकी रहेका छन् ।
चोक नजिकैको त्यहीसडक किनारमाएउटा तीनपाङ्ग्रे ठेलागाडा छ । ठेलागाडामा भुजा, चना केराउ, उसिनेको आलु सहितको चटपटे बनाउने सामाग्री छन् । अनि एउटा प्लास्टिकको झोलामा पानीपुरी पनि छ । हँसिलो अनुहारका सिन्धुपाल्चोक थुम्पाखरका मनकुमार सुनारको दैनिकी त्यही चटपेटसँग गाँसिएको छ ।
कैले चर्को घामले पोल्छ, कैले चटपटे बेच्दा बेच्दै पानीले निथ्रुक्कै भिजाउँछ । तर त्यही घामपानीका बिचमा सुरु गरिएको सानो ब्यबसायले दुई छोरा–छोरीको भविश्य, श्रीमतिको आशा र मनकुमारको जीवनलाई जोडिरहेको छ ।
जीवन सुखको सँगालोमात्रै होइन, नियतिको भँगालो पनि हो । त्यस्तै रहेछ मन कुमारको जीवनयात्रा पनि । गफिंदै जाँदा थाहा भयो, चटपटे व्यवसायको सम्बन्ध जीविकासँग मात्रै होईन, जीवनसँग गाँसिएको रहेछ । मनकुमारका दुई मृगौला सद्दे छैनन् ।
मृगौला फेल भएको थाहा पाएपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसको छँदा खाँदाको जागिर गुमाउनु परेपछि सडकमै पुगियो । र, सडकबाटै सुरु भयो अर्को संघर्षको कथा । त्यो सम्झिंदा मनकुमारको मन अहिले पनि अमिलो हुन्छ । तर बिरामी शरिरसँगै जागिरबाट हात धुनु पर्दा पनि उहाँ बिचलित भने हुनुभएको छैन ।
दुखाई, भोगाई र सिकाईबाट शुरु भएको नयाँ संघर्षमा चटपटे व्यवसाय एउटा हिंसा बनेर जिडियो । त्यही आम्दानी परिवारको खुसीको एउटा पाटो बनेको छ त्यहीबाट बचेको पैसा मृगौला जोगाइ राख्ने बाटो बनेको छ ।
सानो ठेलागाडामा थापेको चटपटे र पानीपुरीको दोकानको छेउमा मनकुमारलाई ढाडस दिदै श्रीमति गीता सुनारले साथ दिइरहनु भएको छ । श्रीमानले तान्नुहुन्छ श्रीमतिले धकेल्दै ग्राहकको खोजीमा सडककै छेउमा गुडिरहेको एउटा ठेला गाडाले एक रथको दुई पाग्राको श्रीमान श्रीमतिको सम्बन्धलाई अथ्र्याइरहेको छ ।
रोग पत्ता लागेको दुई वर्ष बित्यो, शूरुमा डाक्टरले औषधी खाएरैै ठिक हुने बताएका थिए । झण्डै डेढ वर्ष औषधि खाँदापनि ठिक नभएपछि मनकुमार उपचारका लागि ६ महिना पहिले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर पुग्नुभयो ।
उपचार त भईरहेको छ, तर ऋणैऋणमा । सडक किनाराको व्यापारले जसोतसो गुजारा चलेको छ तर औषधीमूलो गर्न समस्या नै छ । अन्धकारलाई सराप्न भन्दा पनि सानै भए पनि वक्ति बाल्ने र उज्यालो खोज्ने मनकुमार कोही मनकारीको सहयोगलाई पर्खिरहनुभएको छ ।
सास फर्नु जस्तै हो सडक र सडक छेउमा गुडिरहेको गाडा । जुनदिन सडकमा ठेला गाडा गुड्न रोकिने छ सायद त्यही दिन मनकुमारको जीन्दगी पनि रोकिनेछ । ठुलो रोगले च्यापेको छ, तर हिम्मत हार्नुभएको छैन । हिम्मतिला मन कुमारको समस्या हामीले तत्कालिन स्वास्थ्यमन्त्री गगनथापालाई पनि सुनाएका थियौं । निवर्तमान स्वास्थ्यमन्त्री थापाले औषधि खर्च वापत दूई लाख रुपैँयासम्म दिन सकिने बताउनुभयो । यो खबर हामीले मन कुमारको कानसम्म पुरायौं । खबर सुनेपछि, उहाँलाई अझ केहि गर्ने आँट पलाएको छ ।
मनमा आँट र सहास मात्रै होईन हातमा सीप पनि छ । त्यही सीपले नमिठो भोगाई मिठो बनाउने र गुम्दै गरेको खुशीलाई फर्काउने विश्वास मन कुमारको मनबाट डगमगाएको छैन ।
तपाईंको बिचार