गोरखाका राजा पृथ्वी नारायण शाह मकवानपुर जाँदै थिए । चन्द्रागिरीबाट देखे रमणिय उपत्यका । र त्यसलाई आफ्नो बनाउने इच्छा बनाए । तयारी गरे । केहि वर्षपछि काठमान्डु उपत्यका बिजयी मात्र गरेनन्, समग्र देशको एकिकरण समेत गरे । कक्षा चारको मेरो देश किताबमा झण्डै दूई दशक अगाडी पढिएको थियो । त्यहि चन्द्रागिरीमा जब केबुलकार खुल्यो । सीआईएनको टोली नै पुग्यो । घुम्न र रिपोर्टिङ गर्न ।
उ बेला झैं चन्द्रागिरी डाँडाबाट काठमान्डु उपत्यका रमणिय देखिन्न । दूई सय ५० वर्ष अगाडीको काठमान्डु र अहिलेको काठमान्डुमा आकाश जमिनको फरक छ । तर चन्द्रागिरीबाट देखिने चित्लाङ । अहिले पनि उस्तै छ । हरियाली । मनमोहक । साँच्चिकै आकर्षक । घुम्न लायकको ठाउँ ।
त्यहि बेला बनेको योजना साकार हुन समय लाग्यो । झण्डै ६ महिना । वर्षात् ऋतुको प्रारम्भको बेला । मौसम गर्मीको । तर दिनभर घामपानी घामपानी । बिहानको ६ बजे स्टार्ट भएको मोटरबाईक । दक्षिणकाली बाटो पाखेल, कुलेखानी हुँदै चित्लाङ पुग्दा ११ बजेको थियो ।
बाईक रोकिने बित्तिकै आँखाहरु चित्लाङको दृश्यमा नाँच्न थाले । चारैतिर हरियाली । पाखै हरियो । आँखै हरियो । काठमान्डु जस्तो च्याउ सरी घर थिएनन् । बरु थिए च्याउका टनेल । प्रशस्तै । कतै बन्दा र काउलीले छपक्कै ढाकिएका खेत । कतै किसानलाई आलु खन्ने चटारो । घरमा मान्छेहरु भेट्नै मुस्किल । खेत खेतमा किसान । घरहरु सुनसान् ।
तीन तिर उभिएका हरिया पहाड । बीचमा चिटिक्क परेको उपत्यका । ७० वर्ष अघिसम्म यो ठाउँको सान बेग्लै थियो । राजधानीलाई तराई जोड्ने मूख्य पैदल मार्ग । राजा महाराजा हिंड्ने बाटो पनि यहि । हात्ती घोंडाका लस्कर । अहिले पनि चित्लाङमा हात्तीसार भन्ने ठाउँ छ । केहि वर्ष अघिसम्म घोंडा बाँध्ने तबेला पनि थियो । नुन्, तेल, लत्ता कपडा हरचिज चित्लाङमै बास बसेर राजधानी भित्रिन्थे । राजादेखि राणासम्म, व्यापारी देखि भरियासम्मको बास पनि चित्लाङमै हुन्थ्यो । लिच्छिवी कालदेखि नै काठमान्डुलाई तराई जोड्न बाटो चित्लाङकै काखमा थियो ।
चित्लाङ प्राचीन गाउँ हो । यहाँ नेवार बाहुन, क्षेत्री र तामाङ जातीका मानिस बसोबास छ । चित्लाङका बारेमा रोचक र ऐतिहासिक सन्दर्भ छन् । त्यहाँ भेटिएका बुढापाका इतिहाँसको महिमा गाउँछन् । तर सुनेको जति मात्रै । कति कुरा त उनिहरुले पनि बिर्सन थालीसके ।
केहि पाका मानिसको भनाई मान्ने हो भने, चित्लाङ राजा अंशु बर्माले गोठालाहरुलाई उपहारमा दिएको गाउँ हो । यस कुरालाई पुष्टि गर्ने केहि आधार पनि छ । यहाँ गोपालीहरुको पनि बसोबास छ । उनिहरु आफुलाई ग्लावा (गोठालो) मान्छन् । वि.सं. २०२८ सालमा नापी हुनुपूर्व उनिहरुको थर ग्वाला नै थियो ।
द्वापर युगमा सप्तऋषिहरुले नुहाउने सप्तश्री धारा पनि चित्लाङमै छ । वि.सं. ३ सय १६ मा सम्राट अशोकद्वारा निर्मित अशोक चैत्य पनि यहाँको मूख्य आकर्षण हो । हरेक फागु पूर्णिमाको दिन मेला लाग्ने डाँडो छ । भालेबास डाँडो । जसलाई भगवान शिव मानेर पुजिन्छ ।
इतिहाँस कोट्याउँदै जाँदा थाहा भयो । महाकवी लक्ष्मी प्रसाद देवकोटाको चर्चित ‘यात्री’ कविता चित्लाङकै काखमा लेखिएको थियो । पशुपति दर्शनमा आएका भारतिय तिर्थ यात्रीहरु थकित देखेर । देवकोटा लेख्नुभएको थियो, “कुन मन्दिरमा जान्छौ यात्री” ।
तपाईंको बिचार