मतदाता परिचयपत्र वितरण शुरु

सकेसम्म आफैं जानु राम्रो नत्र परिवारका सदस्यलाई दिइने

प्रकाशित मिति: 2017-05-11

निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण शुरु गरेको छ । यससँगै हरेक मतदान केन्द्रबाट निर्वाचन शिक्षाको विषयमा जानकारी पनि दिइनेछ ।

आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । 
त्यसका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिएको छ ।

सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता, स्वयम्सेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता, स्वयम्सेवकलाई निर्देशन दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले सीआईएनलाई जानकारी दिनुभयो ।

नमुना मतपत्रसमेत लिएका मतदाता शिक्षा कार्यकर्ता स्वयम्सेवकले मतदाता परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने सही तरिका सिकाउने छन् । 

परिचयपत्र लिन व्यक्ति आफैं जानु पर्ने तर कारणवश जान नसके परिवारका सदस्यलाई पनि दिने व्यवस्था आयोगले गरेको छ ।

परिवार सदस्य हो होइन भन्ने आधिकारिक प्रमाणपत्र अथवा राजनीतिक दल वा त्यहाँ खटिएका प्रतिनिधिहरुले चिनेको आधारमा दिन पनि सक्ने भनिएको छ । 

 

तपाईंको बिचार