राति १२ बजेपछि मौन अवधि, चुनाव प्रचारप्रसार गर्न नपाइने

मौन अवधिमा संचारमाध्यमले उम्मेदवारको विज्ञापन गर्न पनि नपाउने

प्रकाशित मिति: 2017-05-11

वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेपछि सुरु हुने भएको छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न गराउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।  

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार “स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६० को (१)मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।” 

निर्देशिकाको दफा ७० को उपदफा(१)मा मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउने वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ ।

मौन अवधि भन्नाले ‘मतदान गर्ने समयभन्दा ४८ घन्टाअघि सम्मको अवधि’ लाई बुझाउँछ । उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग, बिक्री वा प्रदर्शन गर्न पनि मौन अवधिमा निषेध गरिएको छ । 

मौन अवधिमा संचारमाध्यमले उम्मेदवारको विज्ञापन गर्न पनि नपाउने

निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि दल वा उम्मेदवारसँग सम्बन्धित प्रचार प्रसारका सशुल्क वा निःशुल्क विज्ञापन प्रसारण÷प्रकाशन गर्न पनि नपाइने जनाएको छ ।

मौन अवधिमा निर्वाचनको प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाइएको हुनुपर्ने व्यवस्था रहेको छ । 

आयोगले तोकिएको समयभन्दा बढी नहुने गरी र सशुल्क विज्ञापन भएको जनाउने गरी निर्वाचन विज्ञापन प्रसारण वा सम्प्रेषण गर्ने तर मौन अवधिमा त्यस्ता विज्ञापन प्रकाशन वा सम्प्रेषण गर्न नपाइने स्पष्ट पारेको हो ।

पे्रस काउन्सिलले स्थानीय तहको निर्वाचनको सञ्चारमाध्यमको अनुगमन गर्दै आएकाले यो विषयमा निर्वाचन आयोगले पे्रस काउन्सिललाई पत्र लेख्दै सबै संचारमाध्यमलाई जानकारी गराउन भनेको हो ।

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुनेजस्ता मौन अवधिमा पालन गर्नुपर्नेजस्ता विषयवस्तु निर्वाचन आचारणमा उल्लेख छ । 

तपाईंको बिचार