आज रातीदेखि ९६ घण्टा रसुवागढी नाका बन्द

बैशाख ३१ गते रातीदेखि खुल्ने

प्रकाशित मिति: 2017-05-10
अनु आचार्य, रेडियो रसुवा, रसुवा

नेपाल र चिनबीच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी नाका ९६ घण्टाका लागि बन्द गरिने भएको छ । 

बैशाख ३१ गते हुने पहिलो चरणको स्थानिय तहको निर्वाचनलाई मध्यनजर राख्दै चिनसँगको एक मात्र व्यापारिक नाका रसुवागढी बन्द गरिन लागिएको हो । 

नाका बन्द गर्नका लागि रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र चीनका बोर्डर एडमिनिस्ट्रेसन कमिटिका प्रमुखबीच हिजो केरुङ बोर्डर कार्यालयमा भएको बैठकमा सहमति भइसकेको छ । 

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भरे राती १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म नाकामा सिल लगाइने प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो । 

निर्वाचनको दिन नाकामा प्रमुख जिल्ला अधिकारीबाट पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधनले आवतजावत गर्न नपाउने बताइएकोे छ । 

यस्तै स्थानिय तहको निर्वाचनमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर सीमा नाका रसुवागढीमा सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गर्नुका साथै गस्तीको कार्यलाई पनि तीव्र बनाएको छ ।  

 

तपाईंको बिचार