३ वर्ष अघिसम्म घरकै काममा दिन बिताउने दाङकी इन्द्रा बुढा मगरलाई हिजोआज आफ्नो व्यस्तता, काम र कुरा कति हो कति फरक लाग्छ आफैंलाई । काखमा दुधे बच्चा भए पनि उहाँलाई काममा बाधा पुगेको छैन । काम गर्नैपर्ने बाध्यता त होइन तर बच्चा छ भनेर काम नगरी बस्नै मन लाग्दैन । आफू जस्तै दिदीबहिनी अल्लो धागो उद्योग खोलेको बताउने उहाँ अल्लोका उत्पादन बोकेर जहाँ मेलाहरु हुन्छन् गइहाल्नु हुन्छ ।
केही दिन अघि राजधानीमा भएको महोत्सवमा पनि उहाँ अल्लोबाट बनेको युवा महिला र पुरुषले बोक्ने ब्याग, लगाउने कपडा, जुत्ता, कोट गरी झण्डै दुई दर्जन सामान लिएर आउनु भएको थियो ।
हुम्ला घर भएकी बेलमती रोकाया पनि आफ्नो घरपरिवार व्यवस्थापनसँगै पनि २०६८ सालदेखि उद्यमी बन्नु भएको छ । ललितपुरमा डायमण्ड ह्याण्डीक्राफ्ट उद्योग स्थापना गरेर पढिसकेको पत्रपत्रिकाबाट कागजको पेन्सिल बनाउनुहुन्छ । चीनबाट पेन्सिलको लिड ल्याउने र यहाँ फालिने कागजले घेरेर (¥याप) गरेर बनाइएका पेन्सिल काठमाडौंका विभिन्न विद्यालय, संघसंस्थाले पनि प्रयोग गर्छन् भने विभिन्न देशमा पनि पठाइरहनु भएको छ । आफ्नो छोराछोरीले दैनिक पेन्सिल सक्दा यसैको उत्पादन थाल्दा के होला भनेर सोच्नु भएकी उहाँ अहिले आफ्नो यस किसिमको उद्योग नेपालकै पहिलो भएको दाबी पनि गर्नुहुन्छ ।
अघिल्लो महिना भृकुटीमण्डपमै भएको महोत्सवमा भेटिनु भएकी पार्वती खड्का विभिन्न भान्सामा चाहिने खानेकुरा र तितौंरा, क्यान्डीहरु लिएर दोलखादेखि आउनु भएको थियो । अदुवा, लप्सीलगायतको क्यान्डी बनाउन पोख्त उहाँले फर्सीको क्यान्डी पनि बनाउन थाल्नु भएको छ । गाउँघरमा फल्ने ठूलाठूला फर्सीको क्याण्डी महोत्सवको लागि नयाँ भएको उहाँ बताउनुहुन्थ्यो ।
झण्डै ३५ वर्षदेखि घरेलु तथा साना उद्योग विकास समितिको जागिरे जीवनबाट अवकाश लिनु भएकी निलम ताम्राकारको उत्पादन पनि नयाँ मान्न सकिन्छ । आफूले बजारको माग र युवा पुस्ताको चाहना अनुसार नयाँ काम गरेको बताउने ताम्राकारले पुराना कागजबाट कानमा लगाउने गरगहना बनाउने गर्नुभएको छ भने लगाएर पुराना भइसकेका कपडाबाट फुलदानीहरु उत्पादन गरिरहनु भएको छ । उहाँ पुराना कागज र पुराना कपडाबाट के के बन्न सक्छ र कसरी बनाउने भनेर तालिम पनि दिने गर्नुहुन्छ ।
विराटनगरकी चम्पा नेपाल भने जुत्ता, चप्पल उत्पादन गर्नुहुन्छ । कपडाबाट पनि चप्पल बनाइने भएकाले गर्मी मौसममा लगाउन शीतल हुने खालका उत्पादन लिएर काठमाडौं आएको बताउनुभयो । उहाँ सिजनअनुसार जाडो र गर्मीका लागि जुत्ता चप्पल, बालबालिकादेखि सबै उमेरकाहरुलाई हुने गरी बनाउने बताउनुहुन्छ ।
सरकारले पनि महिलाहरुलाई आयआर्जनमा प्रोत्साहन गर्न जिल्ला जिल्ला घरेलु तथा साना उद्योग कार्यालयमार्फत तालिम दिने गरको छ भने महिलाको नाममा उद्योग दर्ता गर्दा ३५ प्रतिशतसम्म छुटका साथै उद्यमशिलता विकास कोषमार्फत विना धितो ऋण पनि दिने गरेको छ । त्यसका साथै औद्योगिक सम्पत्ति पेटेन्ट डिजाइन र टे«डमार्क दर्ता पनि छुटको व्यवस्थाले उद्यमशिलतामा महिलाहरुको आकर्षण बढिरहेको छ ।
तपाईंको बिचार