नेपालमा आजदेखि बहुपक्षीय सैन्य अभ्यास

२८ देशका सेना ‘अभ्यास शान्ति प्रयास ३’ मा

प्रकाशित मिति: 2017-03-20

नेपालमा आजदेखि सयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र काभे्रको पाँचखालमा २८ मुलुकका एकहजार २४ सेनाले संयुक्त सैन्य अभ्यास गर्दैछन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पाँचखालमा सैन्य अभ्यास उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुने बहुपक्षीय सैन्य अभ्यास २१ चैतमा समापन हुनेछ । 

सैन्य अभ्यासलाई ‘अभ्यास शान्ति प्रयास ३’ नाम दिइएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा कार्यरत मुलुकका सेनाबीच तालिम र सहकार्यमा सामन्जस्य कायम गर्न हरेक वर्ष यस्तो अभ्यास आयोजना हुँदै आएको छ । 

सेनाको तालिम केन्द्रका प्रमुख महासेनानी प्रयोग जंगबहादुर राणाका अनुसार नेपालमा हुन लागेको यो तेस्रोपटक हो । अभ्यासका लागि नेपाली सेनाले ४९ जना सैन्य प्रशिक्षक तयार गरिसकेको महासेनानी राणाले जानकारी दिनुभयो । 

पहिलो पटक सन् २००० जनवरीमा र दोस्रो पटक सन् २०१३ मार्च १९ देखि ७ अप्रिलसम्म नेपालमा बहुपक्षीय शान्ति अभ्यास आयोजना भएको थियो । 

अभ्यासमा अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डर हर्रे भी ह्यारिस तथा राष्ट्रसंघको पिस किपिङ अपरेसन विभाग प्रमुख हर्भे ल्याडसस पनि सहभागी हुने कार्यक्रम छ । 

अभ्यासमा नेपाल, बंगलादेश, बोस्निया हर्जगोभिना, कम्बोडिया, घाना, इन्डोनेसिया, जोर्डन, काजकिस्तान, मलेसिया, मंगोलिया, मेक्सिको, पाराग्वे, फिलिपिन्स, पाकिस्तान, रुवान्डा, श्रीलंका, किर्गिस्तान, थाइल्यान्ड, अमेरिका, उरुग्वे, भियतनाम, अस्टे«लिया, क्यानडा, भारत, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र बेलायत सहभागि हुनेछन् । 

 

तपाईंको बिचार