एमालेको मेची–काली अभियान आजदेखि हेटौंडाबाट सुरु हुँदै

हेटौंडामा दिउँसो सभा

प्रकाशित मिति: 2017-03-10

राजविराज घटनापछि तीन दिनका लागि स्थगित भएको नेकपा एमालेको मेची–महाकाली अभियान आज फेरि सुरु हुँदैछ । 

आजदेखि हेटौंडाबाट सुरु हुने अभियानमा यसअघिको टोली नै सहभागि हुनेछ । सभालाई एमाले अध्यक्ष केपी ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
हेटौंडाको भुटनदेवी माविको मैदानमा हुने आमसभा दिउँसो २ बजे शुरू हुने एमाले सचिव यागेश भट्टराईले जानकारी दिनुभयो ।

आमसभाका लागि मकवानपुरका साथै छिमेकी जिल्लाबाट पनि सहभागी हुने उहाँले बताउनुभयो । एमाले मकवानपुर सचिव एकलाल श्रेष्ठले सभामा करिब २० हजार जनसहभागिता हुने लक्ष्य राखिएको बताउनुभयो ।

मञ्चसहित सांस्कृतिक कार्यक्रम, स्वयंसेवक परिचालनलगायत तयारी सम्पन्न भइसकेको उहाँले बताउनुभयो। हेटौंडामा आमसभापश्चात् २८ गते केन्द्रीय टोलीलाई मकवानपुर र चितवनको लोथरसम्म बिदाइ गरिनेछ । 

अध्यक्ष ओलीद्वारा हेटौंडा–८ मा एमाले वडा कार्यालय भवन शिलान्यास तथा हेटौंडाको एकमात्र टिभी टिम टेलिभिजनको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

तपाईंको बिचार