एमालेको मेची महाकाली अभियान आजदेखि

सबै शीर्ष नेता काँकडभिट्टामा

प्रकाशित मिति: 2017-03-04

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान आजदेखि शुरु हुँदैछ । पार्टीलाई ‘मधेश विरोधी भन्दै फिँजाइएको भ्रम चिर्ने’ लक्ष्यका साथ शुरु गर्न लागेको अभियानमा सहभागी हुन एमाले शीर्ष नेताहरु हिजै झापा पुगेका छन् । 

अभियानका लागि अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरु झापा पुगेका हुन् ।

काँकडभिट्टाबाट मधेश केन्द्रीत मेची महाकाली अभियानको शुरुवात हुने एमालेले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

हिजो झापाको ज्यामिरगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले यो यात्राले मधेस र मधेसी जनताप्रति फैलाइएको भ्रम समाप्त पार्ने दाबी गर्नुभयो ।

काँकडभिट्टाबाट शुरु हुने अभियान मधेशका विभिन्न जिल्ला हुँदै महेन्द्रनगर पुग्ने र चैत दोस्रो साता सुर्खेतमा पुगेर जनसभा सहित समापन गर्ने तयारी छ ।

आज पहिलो दिन झापाको काँकडभिट्टा, विर्तामोड र दमकमा जनसभा हुने एमालेले जानकारी दिएको छ ।

त्यहाँ सबै नेता तथा मुलुकका विभिन्न भागबाट यात्रामा सहभागी हुन झापा पुगेका सबैलाई काँकडभिट्टाका कार्यकर्ताका घरघरमा आवासको व्यवस्था गरिएको जनाइएको छ ।

आज फागुन २१ गतेकै दिन झापा बिद्रोहका ५ जनाले एकैपटक सहादत प्राप्त गरेको दिनकै सन्दर्भ पारेर एमालेले अभियान थालेको हो ।

 

तपाईंको बिचार