काठमान्डु । पूर्वाञ्चलको व्यस्त शहर बिराटनगर । कुनै चोक अथवा गल्ली भित्रको बस्ती, जहाँ पुग्नु परेपनि विद्युतिय रिक्सा चढ्नुपर्छ ।
विराटनगर विमानस्थलमा मूख्य बजारबाट अलि कोल्टो छ । विमानबाट ओर्लिएका यात्रुलाई बजारसम्म आईपुग्न सवारी साधनको साहारा लिनुपर्छ । विमानस्थलको गेटमा रिक्सा, विद्युतिय रिक्सा (अटो रिक्सा) र भ्यान प्रशस्तै भेटिन्छन् । आफ्नो सवारीसाधनमा चढाउन चालकहरुको तँछाड मछाड त्यहिंबाट शुरु शुन्छ ।
लौ हजुर बसपार्क सम्मको भाडा चार सय मात्र भ्यानवाला चिच्याउँछन् ।
अटो रिक्सावाला मधेसी लवजमा बोले, हामी पुराउँछु तीन सयमा ।
रिक्सा चालकहरु त्यहि भीडमा कतै हराए । उनिहरुको स्वर अलि मलिन सुनियो ।
गेटमा लामबद्ध सवारी साधन मध्य अटो रिक्साले सबैको ध्यान खिच्छ । म पनि त्यसैमा चढ्छु दई सय दिने सहमति गरेर ।
पहिलो पटक विराटनगरको यात्रा । अनि अटो रिक्साको सवारी पनि पहिलो पटक । सिट क्षमता चार जनाको । दूई सिट झोलाले ओगट्यो । बाँकी दुई सिटमा मेरो लुरे ज्यान ।
चालकले अटो रिक्सा कुदाए, त्यतिन्जेल मेरो क्यामेरामा केहि थान फोटाहरु कैद भए ।
अटो रिक्सा टेम्पो झैं आवाज निकालेर हुँईकियो । खाल्डा खुल्डीबाटोमा घ्याच्याक घुचुक गर्दै । हावामा धुलोको रङ छर्दै ।
रिक्सा चालक आफैं बोले, सर कहाँ बाट आउनु भएछ ।
काठमान्डुबाट ।
मैले थप बोल्न नपाउँदै उनले मधेसी लबजमा थपे, सरले फोटो खिचिहाल्नु भो । हामीको बहुत समस्या छ हजुर ।
कस्तो समस्या ? भन्नुस् न । उनलाई नजर फ्याँक्दै मैले प्रश्न गरें ।
हामी अटो रिक्सा ६ महिना अघि किनेछु । तर लाईसेन् छैन, यातायात भन्छ लाईसेन् लिनलाई, तर मजबुरी के छ हजुर हामी पढेलिखे छैन । तब कसरी हुन्छ ?
अचम्म लाग्यो उनको कुराले । मैले परिचय नदिई, कसरी थाहा पाए कि म पत्रकार हुँ भनेर । अब केहि त बुझ्नै पर्छ भन्ने लाग्यो ।
दाई तपाईको नाम ?
शम्भु कामत
अनि घर ?
दुहवी हजुर । यहिं बिराटनगरके पासमे छ ।
कस्तो छ कमाई ?
कमाई त के भनुँ हजुर, दु चार महिना अघिसम्म राम्रै थियो तर अहिले सबै डामाडोल भइहालेछ । सबै इरिक्सा नै निकाल्छ त धेरै इरिक्सा भईहाल्यो कसरी पैसा कमाई हुन्छ ? हामी गरिवको बहुत मार परेछ हजुर ।
विमानस्थल देखि बसपार्कसम्म पुग्दा उनले धेरै गुनासो गरे । त्यसपछि मैले उनि जस्तै केहि रिक्सा चालक र सम्बन्धित अधिकारीसँग थप कुराहरु बुझें । ६ वर्ष अघिसम्म विद्युतिय रिक्सा फाट्टफुट्ट देखिन्थे । अहिले अन्य सवारी साधन भन्दा विद्युतिय रिक्साको सङ्ख्या निकै बढि छ । शारीरिक बल नपर्ने हुँदा विद्युतीय रिक्सा चलाउनेहरुको संख्या पनि बढ्दो क्रममा छ ।
पछिल्लो समयको मधेस आन्दोलनले विद्युतिय रिक्साको सङ्ख्या निकै बढाएको छ । रिक्सा आन्दोलनको समयमा चलाउन मिल्ने, अनुमतिपत्र पनि नचाहिने, चलाउन पनि सजिलो हुने एक मात्र विद्युतिय साधन बनेको थियो ।
तर, लेखपढ गर्न नजान्ने भएकाले कतिपय रिक्सा चालक यतिबेला समस्या परेका छन् । हातमा सीप छ, लाईसेन्स्को लागि लिइने लिखित परिक्षा पास गर्ने क्षमता उनिहरुमा छैन । यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोपराज पाण्डे लाइसेन्सको लागि परिक्षा उतिर्ण गर्नुको विकल्प नभएको बताउनुहुन्छ ।
एक वर्षअघिसम्म विद्युतीय रिक्सा बजारका लागि आकर्षक मानिन्थ्यो । विद्युतिय रिक्सा पूर्वको झापा सुदूरपश्चिमको कञ्चनपुरसम्म फैलिसकेको छ । एकातिर साधनको ‘रोड टेस्ट’ नगरिनु र अर्कोतिर चालकको दक्षता जाँच नगरिनुले अहिले समस्या सिर्जना गरेको छ । चालक मनोज सिंहलाई त कहिलेकाही रोक्ने र यात्राु ओराल्ने ठाउँकै समस्या पर्छ ।
चार सिट क्षमताको विद्युतिय रिक्साको भाडादर समेत एउटै छैन । मान्छे हेरेर चालकहरुले मनलाग्दी भाडा लिने गरेका छन् । स्वरोजगारमूलक पेशाको रुपमा स्थापित विद्युतीय एवम् अटो रिक्सा सञ्चालनमा देखिएको बेथितिमा नियन्त्रणमा मापदण्ड बनेको छैन । छिट्टै यसको ब्यबस्थापन गर्ने तयारीमा यातायात ब्यवस्था विभाग लागेको प्रवक्ता डा. टोपराज पाण्डेको भनाई छ ।
दुई दर्जनभन्दा बढी शहरमा चल्ने विद्युतीय रिक्सा कति छन् सरकारसँग पनि तथ्याङ्क छैन । तर २० हजारभन्दा बढी रहेको अनुमानका आधारमा मापदण्ड बनाइदैछ । तराईका विभिन्न शहरमा विद्युतिय रिक्सा (अटो रिक्सा)को लोकप्रियता बढ्दो छ । अत्यावश्यक सेवाका लागि होस् अथवा छोटो दुरीमा कतै घुम्न जान परोस् विद्युतिय रिक्सा रोजाईमा पर्छ । तर यसभित्रका समस्याहरु पनि प्रसस्तै छन् ।
तपाईंको बिचार