कम्प्युटर सिकाइमा गृहिणी

सय जना महिलाको कम्प्युटर मोह रहर लाग्दो छ

प्रकाशित मिति: 2017-01-05
माधव पराजुली, रेडियो पर्वत, पर्वत

पर्वत खानीगाउँकी प्रमिला परियारलाई हिजोआज छोराछोरी स्कुल पठाएपछि झन् हतार हुन्छ, कारण हो आफू कम्प्युटर सिक्न जानका लागि ।

३५ वर्षिया परियारलाई विदेशमा रहेका श्रीमानसँग कुराकानी गर्नका लागि कम्प्युटरबाट मिल्छ भन्ने थाहा पाएकाले पनि कम्प्युटर सिक्न झन् रहर लागेको हो ।

ढिलै भए पनि सिक्नु पाएकोमा उहाँ खुशी हुनुभएकी उहाँ विद्यालय जाने छोराछोरीलाई पनि अब आफै सिकाउने योजनामा हुनुहुन्छ ।
उहाँ जस्तै पर्वतको फलेबास क्षेत्रका गृहिणी महिलाहरु हिजोआज कम्प्युटर सिक्न  फलेवासस्थित खानीगाउँमा रहेको मेती सामुदायिक पुस्तकालयमा पुग्ने गरेका छन् । पुस्तकालयले विवाहित गृहिणी महिलालाई निशुल्क कम्प्यूटर सिकाउन थालेपछि घर धन्दा सकेर महिलाहरु पुग्ने गरेका छन् ।

सिकाइपछिको अपेक्षा पनि आ–आफ्नै छ । एक जना कम्प्युटर सिकारु माया लामिछाने भन्नुहुन्छ, चौबिसै घण्टाको घरधन्दा र चुलोचौको कामभन्दा धेरै फरक सिकाइ भएको छ । 
पर्वतको मोती सामुदायीक पुस्तकालयले ग्रामीण क्षेत्रका महिलाहरुलाई प्रविधिसँंग परिचित गराई सीप र प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले पुस्तकालयमै गृहिणी महिलालाई निशुल्क कम्प्यूटर शिक्षा दिन थालेको हो । 

पुस्तकालयका संरक्षक भोलानाथ शर्मा आजको जमानामा जो सुकैको जीवन सफल बनाउन पनि कम्प्युटर सहयोगी हुने भएकाले यसबारे आधारभूत ज्ञान दिन यस्तो अवधारणा अघि सारिएको हो । 
आधुनिक प्रवृधिमा गृहिणीहरुको खासै पहुँच नपुगेकाले यो सिकाइले उनीहरुको बाहिरको कुरामा जानकारी राख्ने र पुस्तकालयमा पुगेर अध्ययन गर्ने बानी पनि बस्ने अपेक्षा पनि शर्माको छ । 
गृहणी महिलाहरु आधुनिक प्रविधिवाट निकै पछाडी परेको बेला राज्यको विभिन्न निकायमा महिला सहभागिता बढाउन महिलाको क्षमता बृद्धि गर्न पुस्तकालयले चालेको नयाँ कदमलाई धेरैले सकारात्मक भनेका छन् । 

कम्प्युटर सिक्नका लागि फलेवास आसपासका एकसय जनाभन्दा बढी महिलाहरु सहभागी हुने गरेका छन् । बिहानको घरधन्दाको काम सकिएपछि बिहान ११ बजेदेखि ३ बजेसम्म कम्प्युटर कक्षा दिने गरिएको छ ।

यो कक्षा लिन आएका महिलाहरुको लगाव र जाँगर रहर लाग्दो रहेको त्यहाँ पुग्नेहरुको भनाइ छ । 

 

तपाईंको बिचार