२०७२ सालमा गएको भूकम्पमा प्रभावित ३१ जिल्लामध्ये बढि प्रभावित १४ जिल्लाको काम पहिलो चरणमा सुरु भयो । १४ जिल्लामध्ये काठमाडौं उपत्यका बाहिरका ११ जिल्लामा खटिएका २५ सय ७१ इन्जिनियर र प्राविधिक अहिले आन्दोलनमा छन् । भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियरले आन्दोलन थालेपछि पुनर्निर्मार्णको काम रोकिएको छ ।
आफूहरुको मागप्रति सरकारले वेवास्ता गरेपछि आन्दोलनमा जान बाध्य भएको इन्जिनियरहरुले बताएका छन् । इन्जिनियर र प्राविधिक आन्दोलित भएपछि पहिलो किस्ता पाएर लडेको घर उठाउन सुरु गरेका भूकम्प पीडित समस्यामा परेका छन् । इन्जिनियरले घरको प्राविधिक निरीक्षण गरेर सिफारिस गरेपछि मात्रै पीडितले दोश्रो किस्ता पाउने व्यवस्था छ ।
काम रोकेर आन्दोलनमा उत्रिएका इन्जिनियर भूकम्प पीडितको समस्याप्रति संवेदनशिल नभएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्वाही गर्ने चेतावनी दिएको छ । यता इन्जिनियरहरुले भने आफ्नो माग संवोधन नभएसम्म काममा नफर्किने बताएका छन् ।
गाउँमा गएर काम गर्न निकै समस्या रहेको भन्दै उनीहरुले ती समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । पुनर्निर्माणको कामलाई ठप्प पारेर इन्जिनियरहरु आन्दोलनमा उत्रिएपछि विभिन्न क्षेत्रबाट टिकाटिप्पणी भइरहेको छ । गीता चिमोरियाले नुवाकोटको गोस्र्याङ गाविसमा खटिनुभएका इन्जिनियर कपील रेग्मीसँग इन्जिनियरहरु पुनर्निर्माणको काम रोकेर आन्दोलनमा जानुको कारणका विषयमा कुराकानी गर्नुभएको छ ।
गाउँ जानुभएको कति भयो ?
म चाहिँ वैशाखको १३ गतेबाट खटिएको, अरु साथीहरु कोही अलि अघि कोही अलिपछि निस्किनुभयो ।
अहिलेसम्म गाउँ पुगेर के के काम गर्नुभयो ?
पहिले त सुरुमा हाम्रो ७ दिनको तालिम भयो । गाउँ पसिसकेपछि सम्झौता गरियो सुरुमै । गाउँको सबै सम्झौता इन्जिनियर बसेरै गरेको हो । डिजिटल वेभमा पठाउने भनिएको थियो बैंकको फम्र्याटहरु पनि, त्यो सबै भरियो । गाउँमा भइरहेको डकर्मी तालिमको निरीक्षण गर्नुको साथै वडा भेलाहरु गराउँदै उहाँहरुलाई भूकम्प प्रतिरोधि घर कसरी बनाउने भनेर जानकारी गराउने काम ग¥यौं ।
नुवाकोटमा पुनर्निर्माणको काम कहाँ पुग्यो अहिलेसम्म ?
नुवाकोट जिल्ला १४ जिल्लामा सबैभन्दा अगाडी छ पुनर्निर्माणमा । ४३ सय घरको जग हाल्ने काम सकिसकेको छ । कतिपय बन्ने क्रममा छ भने कतिपय अन्तिम चरणमा पुगेको छ । भूकम्प प्रभावित धेरै जिल्लामा इन्जिनियरहरु गाउँमा आएनन्, सदरमुकाममै बसे, गाउँमा आएका पनि एउटा घर हेर्न नआइदिने, ‘हामी एउटा घर हेर्न आउन भ्याउँदैनौं’ भन्छन्, भन्ने थुप्रै गुनासोहरु आएको छ ।
नुवाकोटमाचाहिँ कसरी काम गर्नुभयो, गाउँ कति जानुभयो, सदरमुकाममा कति बस्नुभयो ?
नुवाकोटमा जतिपनि प्राविधिक, इन्जिनियर छौं हामी सबै गाविसमै छौं । नुवाकोटको प्राय सबै गाविसमा गाडी पुगेको छ । बस्ने व्यवस्था नभएपनि कहिले कसको घरमा कहिले कसको घरमा बसेर भएपनि हामीले काम गरिराखेका छौं । कतिपय साथी त पालमा बसेर पनि काम गरिराख्नुभएको छ । सबै ठाउँमा बस्नको लागि होटल पाइदैंन । तर हामीले सकेसम्म गाउँमै बसेर काम गरिरहेका छौं । सदरमुकाममा परेका साथीहरु बाहेक अरु कोही पनि सदरमुकाममा हुनुहुन्न ।
अनि यति राम्रोसँग काम गर्दागर्दै किन एक्कासी आन्दोलन थाल्नुभयो ?
अहिलेसम्मको काम त ग¥यौं तर अब हामीलाई दोश्रो किस्ताको लागि दबाब आउन थाल्यो । हामीले नै उहाँहरुलाई सल्लाह दिइसकेपछि त उहाँहरु ढुक्क हुनुभयो नि । गाउँमा भूकम्प प्रतिरोधि घर बन्न थालिसकेको छ । गाविसमा घर बन्न थालिसकेपछि सरकारले एक किसमले भ्रम के फैलाइदियो भने ‘तपाईंहरुको जगको कार्य सकिसकेपछि इन्जिनियरले प्रमाणित गरिसकेपछि दोश्रो किस्ता पाउनुहुन्छ ।’ तर त्यो किसिमको कार्य भएन ।
पहिलो किस्ताको ५० हजार दिइसकेपछि त्यो पैसाले घरको जग खन्नुपर्ने थियो र त्यो जग बनिसकेपछि तपाईंहरुले प्रमाणित गर्नुपर्ने थियो, भूकम्प प्रतिरोधि छ कि छैन भनेर । त्यो प्रमाणित गर्ने कामचाहिँ सुरु भएको थियो कि थिएन ?
त्यो काम सुरु हुन सकेको छैन । कार्यविधि आइसकेको छ तर कार्यविधिको बारेमा हामीलाईचाहिँ केही जानकारी गराइएको छैन । कुनै किसिमको तालिम दिइएको छैन, कस्तो किसिमले त्यो घरहरु पास गर्ने हो भनेर । भूकम्प प्रतिरोधिको आधारहरु के के हो, कस्तो किसिमले बनाउँदा घर भूकम्प प्रतिरोधि हुन्छ भनेर सुरुमा हामीले पीडितलाई जसरी जानकारी गराएका छौं त्यसरी नै उहाँहरुले घर बनाइराख्नुभएको छ । अब अहिले उहाँहरु हामीलाई भन्नुहुन्छ ‘सर, दोश्रो किस्ता त पाउनुप¥यो नि, मैले माथी घर बनाउनुपर्छ । ’ कतिपय छाना छाउने बेलामा आएर अड्किनु भएको छ, त्यही पैसाको कारणले । त्यही दबाबले गर्दा नै हामी अहिले यो आन्दोलन गर्न बाध्य भएका हौं ।
ए, त्यसोभए सरकारले÷प्राधिकरणले इन्जिनियरहरुलाई काम गर्न असहयोग ग¥यो हैन त ?
हो । त्यही भएर नै हामी अहिले आन्दोलनमा जानुपरेको हो ।
यसअघि असोजमा पनि आन्दोलनमा हुनुहुन्थ्यो नि ?
हो । असोजको आठ गते हामीले काम स्थगीत गरेका थियौं । त्यसबेला हाम्रा मागहरु पूरा हुने भनेपछि हामी फेरि काममा फर्किएका थियौं ।
तपाईहरुको मुख्य माग ‘सरकारले भत्ता दिएन, कार्यालयहरु भएन, समयमा कार्यविधि आएन, तालिमहरु भएनन्’ भन्ने नै हो नि, हैन त ?
एकदमै हो । तर अहिले इन्जिनियरहरुको माग भत्ता नै हो भनेर प्राधिकरणले बुझिराखेको छ, त्यो एकदमै गलत छ । मिडियामा पनि इन्जिनियरहरु भत्ता मागेर आन्दोलन गर्दैछन् भन्ने खालका समाचारहरु मात्रै आए । गाउँ गएर काम गर्न निकै समस्या छ, तर इन्जिनियरका समस्या बुझिदिने प्रयासचाहिँ कसैले गर्नुभएन । हाम्रा मागहरु मध्ये एउटा माग भत्तापनि हो तर भत्तामात्रै हाम्रो माग होइन । हाम्रो मागको पहिलो बुँदा ‘पुनर्निर्माणको कामलाई दु्रत गतिमा अगाडी बढाउन सुरक्षा सहितको वातावरण चाहियो हामीलाई ।’ गाउँमा हामीलाई धम्की आउँछ ।
धम्की पनि आउँछ ? कस्ता अप्ठ्याराहरु छन्, गाउँमा गएर काम गर्न तपाईहरुलाई ?
व्यक्तिगत मेरो केशमा÷ मेरो गाविसमाचाहिँ अहिलेसम्म त्यस्तो भएको छैन । तर थुप्रै साथीहरुलाई त्यो समस्या परेको छ । उहाँहरुले गुनासो गर्नुहुन्छ । जसरी पनि यो घर पास गर्दिनैपर्छ तपाईंले भनेर दबाब आउँछ । एकजना साथीलाई त सुरुमै हामी गाउँ जाने बित्तिकै ज्यान मार्ने धम्की पनि आएको थियो तर त्यो फोन कसले गर्यो भनेर पत्ता लगाउन सकिएन । पछि त्यो घटना त्यसै सेलाएर गयो ।
पीडितका गुनासा थुप्रै छन्, सरकारले समयमा गुनासो संवोधन गरिदिंदैन । गुनासो व्यवस्थापन समितिमा हामीलाई पनि राखिएको छ, समयमा गुनासो संवोधन नभएपछि दबाब त धेरै नै आउँछ । हामी इन्जिनियरहरुलाई गाउँ बसेर काम गर्न नागरिक, सरकार, प्राधिकरण सबैकोसहयोग हुनुपर्छ । उहाँहरुको सहयोग बिना हामी गाउँ बसेर कसरी काम गर्न सक्छौं ?
सरकारले दिन सक्दैनथ्यो भने किन हामीलाई झुटो आश्वासन दिएको ? हाम्रो माग भत्ता मात्रै होइन, पुनर्निर्माणको काम अघि बढ्नुपर्छ भन्नेपनि हो । जसका लागि हरेक निर्णयहरु समयमा हुन जरुरी छ ।
तपाईंहरुलाई सरकारले भत्ता नदिएपनि तोकेको तलब त दिइराखेको छ नि है ?
सरकारी स्केल अनुसार तोकेको तलबचाहिँ हामीले पाइराखेका छौं । २२÷२५ हजार तलब पाइराख्नुभएको छ । समयमा प्राधिकरण बन्न सकेन, कार्यविधि बन्न सकेन, राजनीतिक, आर्थिक यावत कारणले पुनर्निर्माणको काममा निकै ढिला भइसकेको छ । दुईवर्ष हुनलाग्दा पनि खासै काम सुरु हुन सकेको छैन ।
सरकारले दिने भत्ता त परको कुरा हामीलाई तलब पनि चाहिँदैन, हामी जनताकै घरमा भात खान्छौं अनि लडेका घरहरु उठाउँछौं भन्ने सोंच त २६ सय युवालाई आउनुपर्ने होइन ? देश बनाउने जिम्मा त युवाहरुको पनि हो नि है ?
हो, हामीसँग जोश छ । तर त्यो जोश अनुसारको काम गर्न पाएनौं हामीले । केही दिन, केही महिना हामी स्वयंमसेवि रुपमा पनि काम गर्न सक्छौं । तर सरकारले समयमा निर्णयहरु नगर्ने हो भने हामीले मात्रै गरेर पुनर्निर्माणको काम अगाडी बढ्न सक्दैन । सरकारले पीडितलाई दिन्छु भनेको अनुदान रकम समयमा दिएन भने कसरी बन्छ घर ?पुनर्निर्माणसँग जोडिएका सबै पक्षले उत्तिकै चाँसो दिएर काम गर्नुपर्छ । नत्र काम अघि बढ्न सक्दैन ।
अहिले आन्दोलनले काम रोकिएको कि सरकारले पीडितलाई पैसा नदिएर ?
होइन, हाम्रा केही मागहरु छन्, ती सबै पूरा हुनुपर्छ जस्तो लाग्छ । जस्तो जीवन बीमाको कुरा छ । अस्ति भर्खरै नुवाकोट जिल्लामै फिल्डमा जाँदा एकजना साथीको खुट्टा भाँचियो । उपचार खर्चको कुरा आउँछ, जीवन बीमा त हुन पर्यो नि इन्जिनियरलाई । कतिपय ठाउँ दुर्गम छन्, जहाँ गएर काम गर्न गाह्रो छ । जीवन बीमाको कुरा त सुरुमा हामीलाई नियुक्तिको लागि जुन सुचना प्रकाशित गरिएको थियो त्यसमै उल्लेख थियो । त्यो त कार्यान्वयन हुन पर्यो नि । भत्ता दिने कुरापनि सरकारले प्रत्तिबद्धता गरेकै कुरा हो । कहिले सतप्रतिशत, कहिले ७५ प्रतिशत भनेर हामीलाई आश्वासन मात्रै दिइयो । सरकारले दिन सक्दैनथ्यो भने किन हामीलाई झुटो आश्वासन दिएको ? हाम्रो माग भत्ता मात्रै होइन, पुनर्निर्माणको काम अघि बढ्नुपर्छ भन्नेपनि हो । जसका लागि हरेक निर्णयहरु समयमा हुन जरुरी छ ।
तापाईंहरु आफैं काम रोकेर आन्दोलनमा हिड्नुभएको छ, अनि कसरी दु्रत गतिमा अघि बढ्ला त पुनर्निर्माणको काम ?
सबै कुरा प्राविधिकले चाहेर मात्रै नहुने रहेछ । हामी त दिनरात खटिएका छौं, काम गरेका छौं । भूकम्प प्रतिरोधि घर पनि बन्दैछ गाउँमा । तर निर्णय गर्ने ठाउँमा हामी छैनौं । पुनर्निर्माणमा देखिएको समस्या समाधानका लागि ठीक समयमा ठिक निर्णय हुनुपर्छ ।
जग उठाएको मान्छेले जब छानो हाल्न पाउँदैन, समयमा कार्यविधि आउँदैन, कार्यविधि आएर पनि हामीलाई तालिम दिईंदैन, गाउँमा बसेर काम गर्न सुरक्षाको वातावरण हुँदैन, इीन्जनियरहरुलाई जीवन बीमाको कुरा हुँदैन भने कसरी काम अगाडी बढ्छ ? इन्जिनियर एक्लैले केही गर्न सक्दैन ।
तपाईंको बिचार