जल्यो – पोल्यो उपचारै गाह्रो !

न सरकारको सहुलियत, न अस्पतालमा बर्न वार्ड

प्रकाशित मिति: 2016-12-15
गीता चिमोरिया
तस्वीर सौजन्यः अग्नी हिंसा पीडित नेपाल
तस्वीर सौजन्यः अग्नी हिंसा पीडित नेपाल

जलेपोलेर उपचारका लागि अस्पताल आएका यि त केही प्रतिनिधि घटना मात्रै हुन् । नेपालमा प्रत्येक वर्ष करिब ५५ हजार मानिस जलेर वा पोलेर प्रभावित हुन्छन् । त्यसमध्ये ३ हजारको त मृत्यु नै हुन्छ ।

काठमाडौं । भक्तपुरका कविता खड्का तातो दुधले पोलेपछि दुईवर्षको आफ्नो छोरालाई लिएर उपचारका लागि कान्ति बाल अस्पताल आइपुग्नुभएको थियो । केहीदिन अघि अस्पतालमा उहाँलाई भेट्दा उहाँको छोराको घाउ धेरैजसो निको भइसकेको थियो । तातो दुधले दाइने कुइनो, कोखा र दाहिने खुट्टा पूरै पोलेको थियो । १५ दिन अस्पताल बसेर उपचार गरेपछि हामीले भेट्दा खड्का अस्पतालबाट डिस्चार्ज भएर घर फर्किने तयारी गर्दै हुनुहुन्थ्यो । भूकम्पपछि बस्नेसुत्ने ठाउँ र भान्सा एकैठाउँ हुँदा बच्चाको ख्याल गर्दागर्दै पनि पोलेको खड्काले बताउनुभयो ।

पाक्दै गरेको तातो तरकारीले चार वर्षे छोरीको अनुहार पोलेपछि सुर्खेत धारापानीका मानबहादुर खत्री पनि एम्बुलेन्स भाडामा लिएर उपचारका लागि काठमाडौं आइपुग्नु भयो । सुर्खेतबाट काठमाडौं आउन एम्बुलेन्सले ३० हजार रुपैयाँ लियो । हामीले भेट्दा उहाँ अस्पताल बसेको १० दिन भइसकेको थियो । अझै कतिदिन बस्नुपर्छ भनेर डाक्टरले भनिसकेका थिएनन् । टाढा भएकाले घरीघरी आउन नसकिने भन्दै एकैपटक पूरै घाउ निको भइसकेपछि मात्रै सुर्खेत फर्किने कुरा गर्दै हुनुुहुन्थ्यो, खत्री ।

आगो ताप्दा, खाना बनाउँदा, पानी तताउँदा, ग्यास तथा अन्य प्रज्वलनशिल पदार्थले पोलेर, विद्युतीय लाइनबाट करेन्ट लागेर, एसिड लगाएतका पदार्थले जलेर बिरामी उपचारका लागि अस्पताल आउँछन् । अधिकांश पोलेका घटना घरमै हुन्छ, जसको बढी जोखिममा महिला र बालबालिका छन् ।

९ वर्षका छोरालाई करेन्ट लागेपछि पर्सा दोहरीका पलट चौधरी पनि एक महिनादेखि अस्पतालमै बसेर उपचार गराइरहनुभएको थियो । नारायणघाटमा दाजुसँग बसेर ४ कक्षामा पढ्दै गरेका अनिस छतमा ट्यांकीमा पानी भर्न गएका थिए । बिजुलीको तारमा चरा बसेको थियो, त्यही चरालाई मार्न भनेर रडले हान्दा उनलाई करेन्ट लाग्यो । भरतपूरमै उपचार गर्ने भनेर पहिलो दिन त्यही राखेपनि डाक्टरले यहाँ राम्रो उपचार हुन्न काठमाडौं लानुस् भनेपछि चौधरीले छोरालाई काठमाडौं ल्याउनुभयो । करेन्ट लागेर अनिसको दुबै हात, दुबै खुट्टा र छातीमा ठूलो चोट लागेको छ । खुट्टाको त औला नै काट्नु पर्यो ।
 
जले
पोलेर उपचारका लागि अस्पताल आएका यि त केही प्रतिनिधि घटना मात्रै हुन् । नेपालमा प्रत्येक वर्ष करिब ५५ हजार मानिस जलेर वा पोलेर प्रभावित हुन्छन् । त्यसमध्ये ३ हजारको त मृत्यु नै हुन्छ । जटिल किसिमले जलेका पोलेका मध्ये करिब २५ प्रतिशतको उपचारकै क्रममा अस्पतालमै मृत्यु हुने गर्दछ । सबैमा उपचारको पहुँच पु¥याउन सके मृत्युको यो दरलाई घटाउन सकिन्छ ।

पोलेका बिरामीको उपचारका विशेषज्ञ र पूर्वाधारको कमीले धेरै मानिसलाई बचाउन नसकिएको डाक्टरहरुको भनाइ छ । बचाउन सकिने अवस्थामा पनि तत्काल सही उपचार नपाउँदा अन्य देशको तुलनामा मृत्युदर पनि बढी हुने गरेको चिकित्सकहरु बताउछन् । नेशनल ट्रमा सेन्टर, वीर हस्पीटलका सिनियर कन्सल्टेन्ट सर्जन डा. पियुष दाहाल नेपालमा यसको उपचार सन्तोषजनक नभएको बताउनुहुन्छ । “उपचारमा धेरै विभागहरुको आवश्यकता पर्छ दाहालले भन्नुभयो, मेडिसिन, न्युरो सर्जरी, आवश्यकता अनुसार कार्डियोलोजी, रेस्पेट्रोरी यि सबै विधाहरु भएका अस्पतालहरुको संख्या नै कम छ ।” दाहालले अगाडी थप्पनुभयो, “बिरामीहरुको चाप अत्यधिक छ, चिकित्सकहरु, तालिमप्राप्त स्वास्थ्यकर्मीहरु, नर्सिङ स्टाफ, फिजियो थेरापिस्टहरु नै कमी छन् । बेडहरु पनि कम छ । ”
   
पोलेका बिरामीको उपचार सेवा काठमाडौं केन्द्रीत छ । गाउँ गाउँबाट उपचारका लागि राजधानी सम्म आउँन निकै गाह्रो छ, ल्याउदा समय बढि लाग्ने भएकाले काठमाडौं आइपुग्दासम्म उपचारका लागि निकै ढिला भइसकेको हुन्छ । जटिल किसिमले पोलेका बिरामीलाई तत्कालै अस्पताल ल्याउन सकेमात्रै बाँच्ने सम्भावना बढी हुन्छ ।

स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखा प्रमुख भोलाराम श्रेष्ठ जलेका÷पोलेका बिरामीको उपचार सेवा बिस्तारका लागि सरकारले अञ्चल अस्पताल तथा क्षेत्रिय अस्पतालहरुमा बर्न वार्ड तथा विशेषज्ञ पु¥याउन योजनाबद्ध ढंगले काम गरिरहेको बताउनुहुन्छ ।  
 
सरकारले योजना बनाउन बाहेक यस्ता बिरामीको उपचारका लागि खासै केही गर्न सकेको छैन । जलेका बिरामीको उपचार खर्च पनि निकै महङ्गो छ । सरकारको तर्फबाट यस्ता बिरामीको उपचार खर्च व्यहोर्ने कुनै व्यवस्था छैन, जसका कारण धेरै बिरामीको मृत्यु हुने सम्भावना हुन्छ । कान्ति बाल अस्पतालका डा. आरपी चौधरी जटिल किसिमले पोलेका बिरामीको उपचारका लागि महिनौ लाग्ने भएकाले खर्च पनि बढि लाग्ने बताउनुहुन्छ । सरकारी अस्पतालमा केही कम खर्चमा उपचार हुने भएपनि सबैले त्यहाँ उपचार सेवा पाउन सक्दैनन् । पूर्वाधारको कमी, थोरै शैया, कम डाक्टर जस्ता विभिन्न समस्याले गर्दा यस्ता बिरामीले नीजि स्वास्थ्य संस्थामा उपचार गर्नुपर्ने बाध्यता छ । डाक्टर चौधरीका अनुसार विशेषगरी गाउँघरमा पानी तताउँदा, खोले पकाउँदा, रक्सी पार्दा, दुध तताउँदा बच्चाहरुलाई बढि पोल्ने गर्दछ । धेरैजसो जल्ने÷पोल्ने घटना अभिभावकको लापर्वाहीले हुने उहाँले बताउनुभयो ।

जल्ने पोल्ने घटनाबाट प्रभावित भएकाहरुको अनुहार बिग्रिने, हातखुट्टाले काम नगर्ने, पोलेको अंग नै काट्नुपर्ने पनि हुन्छ । महिनौसम्म अस्पताल बस्दा विद्यालय जाने उमेरका बाबालिकाको पढाइ छुट्ने, मनोवैज्ञानिका रुपमा पनि उनीहरुलाई आघात पर्ने गर्दछ । कम पोलेको छ भने केही दिनको उपचारले निको हुन्छ । तर गहिरो चोट लागेको छ भने महिनौ अस्पताल बसेर डढेको ठाउँमा नयाँ छालाहरु राख्नुपर्ने हुन्छ ।

१३ वर्षदेखि नेपालमा जले÷पोलेका बिरामीहरुलाई सहयोग गर्दै आउनुभएका चान्स फर नेपालका संस्थापक बारबारा डेट्सन यस्ता घटनाबाट बच्न गाउँदेखि शहरसम्म सचेतना मूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ । उहाँले अग्नि हिंसा पीडित नेपाल मार्फत जलेपोलेका घटनाबाट पीडित भइ विभिन्न अस्पतालमा उपचार गराइरहेकाहरुलाई पोषणयुक्त खानेकुरा, बच्चाहरुलाई खेलौना लगाएतका सामग्री सहयोग गर्ने गर्नुभएको छ । त्यस्तै विभिन्न ठाउँमा सडक नाटक र रेडियो कार्यक्रम पनि गर्ने गरेको डेट्सनले जानकारी दिनुभयो । मानसिक रुपमा उनीहरुले आफ्नो पीडा बिर्सिउन् भनेर यस्तो सहयोग गरेको डेट्सनले बताउनुभयो । डेट्सनले भन्नुभयो, “सबैभन्दा महत्वपूर्ण कुरा जनचेतना नै हो । विद्यालयका पुस्तकहरुमा पनि यस्ता विषय समेट्न सके साना बालबालिका आफू पनि सचेत हुने र अभिभावकलाई पनि सम्झाउन सक्छन् ।” आगो र आगोजन्य घटनाबाट कसरी बच्न सकिन्छ भनेर रेडियो÷टेलिभिजन लगाएतका सञ्चारमाध्यमबाट विज्ञापन र कार्यक्रम प्रशारण गर्नुपर्ने उहाँको सुझाव छ ।

डाक्टरहरुका अनुसार हरेक वर्ष एचआइभी एड्स र टिबी (क्षयरोग) लगायतका रोगबाट भन्दा बढि जलेर मानिसहरु मर्ने गर्दछन् । तर सरकारले यस्ता बिरामीको उपचारका लागि न त छुट्टै अस्पतालको व्यवस्था गर्नतर्फ ध्यान दिएको छ न त गाउँ वा जिल्लामै उपचार सेवा पु¥याउन । अन्य रोगका बिरामीलाई उपचारमा केही सहुलियत दिने व्यवस्था भएपनि जले÷पोलेर घाइते भएका बिरामीलाई उपचारमा सहयोग गर्ने कुनै व्यवस्था छैन । जिल्लामा कार्यरत डाक्टरहरुलाई बर्नका विषयमा तालिम दिन सके उनीहरुले प्राथमिक उपचार गरी बिरामीलाई तत्कालै सम्बन्धीत ठाउँमा रेफर गर्न सक्छन्, यसो भयो भने मृत्यु दरमा समेत कमी ल्याउन सकिन्छ ।  

कतिपय मानिसलाई त पोलेपछि उपचारका लागि कहाँ जाने भन्ने जानकारी समेत छैन । आगोले पोलेपछि गाउँघरमा गोबर लगाउने, अन्य झारपात निचोरेर रस लगाउने जस्ता चलन छन्, जसले गर्दा घाउमा चाडै संक्रमण हुन्छ । आगोले पोलेपछि तत्कालै सफा, चिसो पानीमा १० देखि २० मिनेटसम्म डुबाएर राख्नुपर्ने डाक्टरहरुको सल्लाह छ । तर गाउँघरमा पोलेपछि पानी त हाल्नै हुँदैन भन्ने भ्रम पनि छ ।   

विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार प्रतिवर्ष विश्वमा १० लाख मानिस जलेर घाइते हुन्छन् । तीमध्ये पाँच प्रतिशत विकसित देशका मानिस पर्छन् भने बाँकी ९५ प्रतिशत नेपालजस्ता अविकसित देशका छन् । हाम्रो सानो लापार्वाहीका कारण आगो र आगोजन्य पदार्थबाट हुने यस्ता दुर्घटनाले ज्यानै जान सक्छ, जसका लागि हामी आफैं पनि सचेत हुन जरुरी छ ।

 

तपाईंको बिचार