हाईकु । अर्थात छोटो कबिता । नेपालमा शंकर लामिछानेले हाईकूको लेखन भित्राउनुभएको थियो । अहिले नेपालमा हाईकु थोरै लेखिन्छन्, जति लेखिन्छन्, त्यति बुझिदैनन् पनि । तर पनि युवा पुस्ताका माझमा चर्चित छ हाईकु लेखन ।
रित्तो आभा
आफ्नै फूलको छाया
मृत्यु वाँसको ।
नेपाल हाईकु संघका अध्यक्ष चेतनाथ धमलाको हाईकु । उहाँको हाईकु रित्तो आभा, आफ्नै फूलको छायाँ मृत्यु बाँसको, सर्सती सुन्दा यसको अर्थ बुझिदैन । गहिरिदै जादा अर्थपनि गहिरिदै जान्छ । जापानबाट भित्रिएको कविताको छोटो रुप हाईकु लेख्न सजिलो भने छैन । नियम र परिधि भित्र रहेर लेखिने हाईकुले अर्थ पनि गहिरो बोकेका हुन्छन् ।
कसरी लेखिन्छ ? हाईकू ? लेखक बिष्णुबहादुर सिंह भन्नुहुन्छ, पाँच, सात र पाँच अक्षरको संरचनामा हाईकु लेखिन्छ । यदि नियमसंग तरिकाले लेखिदैन भने त्यसलाई हाईकु भनिदैन । त्यो लघू कविता वा अरु केही हुन सक्छ ।
हाईकु तीन पंक्तिमा लेखिन्छ । शुरुको हरफ ५, दोश्रो हरफ ७ र तेश्रो हरफ ५ अक्षरको गरि १७ अक्षरमा लेखिन्छ । अक्षरसंगै हाईकूले प्राकृतिक बिषय पनि बोल्नुपर्छ अन्यथा त्यो हाईकु हुदैन । कडा नियमको घेरामा लेखिने हाईकूको पाठक कति छन् ?
हाईकु संघका अध्यक्ष चेतनाथ धमला हाईकुको पाठक भने अलिक कम नै भएको स्वीकार गर्नुहुन्छ । थोरै शब्दमा धेरै भन्नुपर्ने अर्थात शुत्रात्मक ढंगले लेखिने भएकाले पाठकहरु अलिक कम छन् । र नेपालमा लेखिएका १ सय हाईकुका किताबहरुमा शुद्धता खोज्न थाल्यो भने झण्डै ९९ ओटा हाईकु संरचनामा नरहने बताउनुहुन्छ, अध्यक्ष धमला ।
नेपालमा हाईकु नै लेख्नेहरु थोरै छन् । त्यसो त हाईकू बुझ्नेहरु पनि कम नै । तर छोटो लेखाईमा गहिरो अर्थ बोकने हाईकुको भाव भने गहु्रगो छ ।
जस्तै, साहित्यकार केदार संकेतको हाईकु
१, सोझा नारीको
फाइदा नउठाउ
मित्रको विन्ती ।
२, मौलिक हक
श्रीमातीको प्रसंसा
अध्यारो घर ।
सबैले बुझ्ने गरि हाईकूलाई स्वतन्त्र तरिकाले लेख्न सकिदैन ? हाईकु संघका अध्यक्ष धमला हाईकु नियम सम्बद तरिकाले नै लेख्नुपर्ने र नियम सम्बद्ध भएन भने त्यो हाईकु हुनै नसक्ने बताउनुहुन्छ । स्वतन्त्रताको नाममा हाईकुको लेखन बिर्गान नहुने उहाँ बताउनुहुन्छ ।
हरेक बिषयको नियम भए जस्तै हाईकु लेखनको पनि नियम हुन्छ । कडा नियमकै बिचमा पनि हाईकु लेख्ने र पढ्ने क्रम भने जारी नै छ ।
तपाईंको बिचार