वर्षौ देखिको
दस्तावेज पल्टाएर
एक वृद्ध
आफ्नै करङको
वलिष्ट पाताहरु पढिरहेछन् ।
र, बजिरहेछ नमिठो साईरन् ।
ईद, अमिन, मुसोलिनीको
अलिकति ईतिहास चोरेर
खै कस्तो संग्राहलाय बनाउन खोज्दै छन् उनी ?
न्युटनको तराजुमा मनुष्यलाई जोखेर
खै कस्तो अवशेष खोज्दैछन उनी ?
र आफ्नै छायाँको आकृतिले
निस्सासिएको अट्टहास आवाज
निकालिरहेछ
चिहानको वदनमा ।
अपागं अक्सीजनको सेवनबाट
आफुलाई
मञ्चमा सामुहिक
मृत्युवरण गर्न हतार देखिएका उनी
आफुलाई पर......पर सम्म
फिजाँईरहेछन् ।
र, देखिएका छन्
मसालको एउटा अशक्त योद्धा झै ।
आफु जस्तै वुढो बुट्यान सगँको
प्रसिद्ध प्रेमको विभत्स
हत्या गरेदेखि
उनका नाकहरुले
काचो रगत शिबाय
अरु सुगन्धहरु लिएको छैन ।
र, वुढो बुट्यान सगँको
प्रसिद्ध प्रेमको विभत्स
हत्या गरेदेखि नै
हावाका झोकाहरु
बहुलाएर
करङहरु सगँ ठोक्कीरहेका छन् ।
सायद,
उनी देख्न चाहन्छन् –
आफ्नै शरीर जलाएको एउटा कैदी ।
सायद, उनी सुन्न चाहन्छन् –
पहाडमा ठोकिएका बाँसुरीका धुनहरु ।
र सायद, उनी पढ्न चाहन्छन् –
अक्षरहरुले विद्रोह गरेको अखबारहरु ।
दिलिप कुवँर
रोल्पा
तपाईंको बिचार