तरकारीमा बिषादी छ कि छैन , चिन्ने कसरी ?

प्रकाशित मिति: 2016-10-30
गीता चिमोरिया

काठमाडौं । ललितपुर कुपन्डोलका तारा पोखरेल हरेक दिन तरकारी किन्न बजार जानुहुन्छ । आफूले किन्ने तरकारीमा विषादीको प्रयोग छ कि छैन भन्ने कुरा हेरेर थाहा नपाइने पोखरेलको भनाइ छ । पोखरेलले भन्नुभयो, “ बेच्ने मान्छेलाई सोध्दा यो त अर्गानिक हो, विषादी हालेको छैन भन्छन् । सबैले त्यस्तै किनिराखेका हुन्छन्, हामी पनि किन्छौं । ”

ललितपुर कुपन्डोलका सञ्जिता रौनियार तरकारी बजारमा विषादी प्रयोग भएको छ छैन भनेर जाँच्ने प्रविधि नहुँदा विक्रेताले जस्तो बेचे त्यस्तै किन्नुपर्ने बाध्यता रहेको बताउनुुहन्छ । “हेर्दाखेरि राम्रो देखिन्छ, किन्ने ठाउँहरुमा त्यस्तो जाँच्ने प्रविधि पनि हुँदैन । यो चाहिँ विषादी रहित भनेर तरकारी बेच्ने ठाउँमा त्यस्तो कुनै स्टिकरहरु पनि त राखेको हुँदैन । सोध्दा छैन भनेपछि छैन होला भनेर किन्छौं, अरु विकल्प पनि त हुँदैन ।” रौनियारले भन्नुभयो । 

विषादीको सम्पर्कमा आउँदा तत्कालै रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, छाला चिलाउने जस्ता समस्या देखिन्छन् । खाद्यान्न र तरकारीमा प्रयोग हुने विषादीको परिमाण कम गर्न भनेर सरकारले २१ वर्षदेखि राष्ट्रिय एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम (आईपीएम) सञ्चालन गरेको छ । 

यो सँगै बाली संरक्षण निर्देशनालय र कृषि विभागले रसायनिक विषादीको कम प्रयोग गर्न कृषकहरुलाई जनचेतना मूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । रसायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न तथा रसायनिक विषादीको प्रयोग गर्नै परेपनि कस्ता खालका विषादी प्रयोग गर्ने र कस्ता खालका विषादी प्रयोग नगर्ने भनेर तालिम दिने गरेको बाली संरक्षण निर्देशनालयका वरिष्ठ कार्यक्रम अधिकृत राजीवदास राजभण्डारी जानकारी दिनुभयो । विषादीको प्रयोगमा कमि ल्याउन यति धेरै कार्यक्रम सञ्चालन भएपनि मानव स्वास्थ्यलाई हानी गर्ने विषादीको आयात दर भने घट्नुको साटो वर्षेनी बढीरहेको छ । 

तरकारीमा विषादी प्रयोग भएको छ छैन भनेर जाँच्ने प्रयोगशाला काठमाडौंको कालिमाटीमा मात्रै भए पनि त्यहाँ सबै तरकारीको परीक्षण हुँदैन । आर्थिक वर्ष २०७१÷२०७२ मा १६ सय १९ तरकारीको नमुना परीक्षण गर्दा ३२ वटा खान अयोग्य भेटिएका थिए भने ७२÷०७३ मा यो संख्या घटेर ८ मा पुगेको छ । 

तरकारीमा विषादीको प्रयोग भएनभएको उपभोक्ता आफैले पनि थाहा पाउन सक्ने बताउनुहुन्छ, विषादी पञ्जिकरण तथा व्यवस्थापन शाखाका विषादी रजिष्टार बेदप्रसाद चौलागाई । चौलागाईले भन्नुभयो, “ प्राय उपभोक्ता चिल्ला र सफा साबुनले धोएको जस्तो तरकारी खोज्नुहुन्छ, त्यस्तो तरकारीमा विषादीको प्रयोग धेरै भएको हुन्छ । तरकारी किन्दा अलि किरा लागेको, कालो, ध्वासे तरकारी किन्नुपर्छ, त्यस्तो तरकारीमा विषादीको प्रयोग कम हुन्छ । ”  

बाली संरक्षण निर्देशनालयका अनुसार नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग भइरहेको । तरकारीमा भने बिषादीको प्रयोग १६ सय ५ ग्राम प्रति हेक्टर हुन्छ । बिज्ञहरुका अनुसार विषादीयुक्त तरकारी खाँदा बाँझोपन, क्यान्सर, ट्युमर, आँखाको ज्योति गुम्ने, लगायतका समस्या हुने भएका कारण तरकारी किन्दा उपभोक्ता स्वयंम पनि सचेत हुन जरुरी छ । 

तपाईंको बिचार