दशै सारेरै मनाए गोपालीले

प्रकाशित मिति: 2016-10-21
सुरजकुमार भुजेल, रेडियो आवाज
मान्यजनबाट टीका थाप्दै गोपाली समुदाय । उनिहरुले कात्र्तिक ४ गते दशैंको टीका लगाए । तस्वीर सुरजकुमार भुजेल ।
मान्यजनबाट टीका थाप्दै गोपाली समुदाय । उनिहरुले कात्र्तिक ४ गते दशैंको टीका लगाए । तस्वीर सुरजकुमार भुजेल ।

परम्परा अनुसार चित्लाङको गोपाली समुदायले ३ कात्तिकमा कुल देवता अर्थात भिमसेनको पुजा गरेको स्थानीय सुशीला गोपालीले बताउनुभयो । कुलपुजाको अवसरमा भकारी भर्न सहयोग गर्ने खेतीपातीमा प्रयोग हुने सबै औजारलाई पनि पुजा गर्ने गोपालीहरुको परम्परा छ ।

मकवानपुर । मकवानपुर चित्लाङ गाउँ विकास समितिका चार गाँउका गोपाली जातीले यसवर्षको दशै ४ कात्तिकमा मनाएकाछन् । चित्लाङका गोपाली र गमालहरुले परम्परागत चम्पाकेश्वर महादेवको जात्रा लाग्ने दिन कात्तिक संक्रान्तिभन्दा अघि दशै परेकोले गाउँमा भद्र भलाद्मी सहित थकालीको निर्णयबाट दशै सारेका थिए ।


गोपाली समुदायले परम्परा अनुसार कार्तिक १ गते चम्पाकेश्वर जात्रा, २ गते सगोलमा राँगा काट्ने, ३ गते बोकाको बली सहित कुल पुजा गरेर ४ गते टीका लगायौं’, स्थानीय सुशीला गोपालीले भन्नुभयो । कार्तिक संक्रान्तिदेखि वरको ८ औं दिन महानवमी परेकोले सारेको र दशै ४ कात्तिकमा मनाइएको थकाली ९२ वर्षिय आरसिंह गोपालीले बताउनुभयो । आठ दिनअघि गोपाली समुदायको परम्परागत जात्राका लागि आँग’ अर्थात प्रसादका लागि जाँड राख्ने दिन हो । कार्तिक संक्रान्तिको आठ दिन अघि महानवमी नपरेको भए दशैं माथ्यौं’–स्थानीय ४८ वर्षिय अंक गोपालीले भन्नुभयो ।


परम्परा अनुसार चित्लाङको गोपाली समुदायले ३ कात्तिकमा कुल देवता अर्थात भिमसेनको पुजा गरेको स्थानीय सुशीला गोपालीले बताउनुभयो । कुलपुजाको अवसरमा भकारी भर्न सहयोग गर्ने खेतीपातीमा प्रयोग हुने सबै औजारलाई पनि पुजा गर्ने गोपालीहरुको परम्परा छ ।


चित्लाङका गोपालीहरुले ३ कात्तिकमै कुलपुजा सकेर घरको जेठोदेखि उमेर अनुसार ताँती लगाएर स्थानीय गणेश मन्दिरमा पुजा गर्दछन् । अन्य समयमा गोपाली महिलाहरु गणेश मन्दिर जाने भए पनि त्यस दिन महिलाहरु पुजामा सहभागी हुँदैनन् ।


गोपालीहरुले ४ कात्तिकमा अघिल्लो दिन कुल पुजा गरेको सरजामहरु, फुलहरु, अक्षता नजिकैको दोबाटोमा लगेर सेलाएपछि मात्र दशैको टीकाको सुरसार हुन्छ । उनीहरुले सेलाएको बस्तुलाई फुलपाती भन्छन् भने सेलाउने ठाउँलाई हिडल’ भन्छन् । गोपालीहरुको फुलपाती सेलाउने ठाउँ भने टोल अनुसार फरकफरक हुन्छ ।


कात्तिक संक्रान्तिपछि गोपालीहरुले लगाउने दशैको टीका पनि हिन्दु परम्परा अनुसार नै घरको पाको व्यक्तिबाट क्रमैसंग टीका र आशिष लिने चलन छ । गोपाली समुदायमा ४ कात्तिक दिनभर घरगाउँमा दशैको टीका लगाएपछि बेलुकी कुलदेवतालाई बली दिएको बोकाको टाउकाको थकाली घरमा भोज खाने चलन छ ।

टाउकाको कान, नाक, मुख, आँखा लगायतको भाग छुट्ययाई खाने यस्तो भोजलाई उनीहरु शिकाःभ्वयः’ भन्छन् । दशैको टीका लगाएको भोलीपल्ट एक दिन मात्र परदेशीका लागि टीका लगाउन पर्खने चित्लाङका गोपाली समुदायमा परम्परा रहेको स्थानीय ४२ वर्षिय नानकाजी गोपालीले बताउनुभयो । चित्लाङको गोपालीको बसोबास रहेको न्हुँलगाँउ र  टौखेल, तथा गमालको बसोबास रहेको कलाँटु र तल्लो बिसिङ्खेलबासीले दशै सारेका थिए ।

के छ किम्बदन्ती
धार्मीक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासंग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ । गोपाली जातीको बहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरीएको छ । यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने बताइन्छ । यस मन्दिरमा पुख्यौँली घर पाटन रहेका राजोपाध्याय  खलकका पुजारी छन् । प्रत्येक वर्ष जात्रामा विशेष पुजाका लागि महादेवलाई जाँड र एकैपटक कुटीएको चिउरा चढाउनु पर्छ । जसलाई स्थानिय वासिन्दा ककः बजी भन्दछन् ।


सोही दिन बेलुकी काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी र पगरीभरि फूल सिउरेर स्थानीय गोपालीहरुले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । उक्त नाचलाई स्थानिय भाषामा ‘ट्वाक प्याखँ’ भनिन्छ ।


स्थानिय गोपालवंशी ग्वालाहरुको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठीयारहरुले चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजी’ प्रसादको रुपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ ।


किम्बदन्ती अनुसार हालको थानकोटलाई प्राचिन कालमा शोणितपूर भनिन्थ्यो । त्यहा राजा बाणासुर ले राज्य गर्दथे । एक दिन शिकार खेल्न राजपरिवार र सेनाहरु चन्दागिरी जंगल हुदै बिसिङखेलको वनमा आइपुगेको स्थानिय बासिन्दा बताउँछन् । उक्त वनको एउटा रुखमा फूलिरहेको चापको फूल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फूल टिपेर ल्याउन अनुरोध गरिएको स्थानिय बुढापाकाहरु बताउँछन् ।


कथाअनुसार फूलको रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साह्ै रिस उठेछ । त्यसपछि कलाँटु गाँउका काठका काम गर्ने ब्यक्तिहरुलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन् । रुख काट्दा रगत आएको र एउटा ज्योर्तीलिङ्ग पैदा भएपछि कलाँटुका गमालहरुले उक्त लिङ्ग आफ्नो गाँउमा लगेर राखेछन् । तर त्यो रात गाँउमा कुखुराको भाले नबासेपछि केहि अनिष्ट भयो भन्ठानेर गाँउलेमा चिन्ता बढेछ ।


क्षमापुजा गरेपछि आकाशवाणी भएर सोझा जाती गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्नु’ भनेपछि अझैपनि जात्राको दिन टौखेलबाट शिवलिङ्ग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको छ । अहिले पनि चाँपको रुखको ठुटो हालसम्म मन्दिरमै छ ।

 

तपाईंको बिचार