दशैंले कहाँ छुनु, पानी दिने मान्छे समेत छैनन् उहाँको । उहाँले कति दिन देखि मुख समेत धुनुभएको छैन ।
काठमान्डु । दशैंको माहौल छ । देशैभरी हर्षोल्लास छाएको छ । तर अस्पतालहरुमा भर्ना भएर बसेका बिरामीलाई भने दशैंको न कुनै रौनक छ न त कुनै उल्लास । अस्पतालमा न विरामीलाई न उनिहरुका आफन्तलाई दशैं आयो । न त डाक्टर र नर्सहरुलाई नै दशैं आएको छ ।
सोमबार दिउँसो राजधानीको बीर अस्पतालमा पुग्दा नुवाकोटका रामेश्वर सुवेदी घरमा रहेकी श्रीमतीसँग फोनमा कुराकानी गरिरहनुभएको थियो । लडेर खुट्टा भाँचिएपछि उपचारका लागि काठमान्डु आउनुभएका उहाँको यसवर्षको दशैं यतै बित्दैछ । फोनमा श्रीमतिलाई घर नआउने जानकारी गराएपछि सुबेदी मुसुक्क हाँस्दै बोल्नुभयो, दशैं भन्दा त स्वास्थ्य उपचार ठुलो कुरा हो नि हैन र ? उहाँ आफुलाई सन्चो भए दशैं त अर्को वर्ष नि आईहाल्छ नि ।
ट्रमा सेन्टरको ४ सय २७ नम्बर बेडमा नेपालगञ्जका करुणा बिक हुनुहुन्छ । दशैंका लागि माटो खन्न गएका बेला ढिस्कोले पुरिएर उहाँको कम्मर भाँचिएको छ । हलचल गर्न सक्ने अवस्था छैन । तर मन भने नेपालगञ्ज पुगेको छ । त्यो घर ती आफन्त अनि साथी संगी सम्झिंदा सम्झिंदै करुणा भकानिनुभयो । दशैंकै लागि माटो खन्न गएको यस्तो अवस्था भयो कुरुणाको अवस्था र अस्पतालको माहौल नै कारुणिक बन्दै गयो ।
यस्तै बीर अस्पतालमै उपचाररत सुर्खेतका मोहन कुमार ओलीको त झन आफन्त समेत कोही छैनन् । नौ दिन देखि अस्पतालमा उहाँ एक्लो हुनुहुन्छ । दशैंले कहाँ छुनु, पानी दिने मान्छे समेत छैनन् उहाँको । उहाँले कति दिन देखि मुख समेत धुनुभएको छैन । आफ्नो हात भाँचिएको छ, हलचल गर्ने गाह्रो छ । अनि मुख कस्ले धोईदिने ? उहाँको गुनासो पनि उत्तिकै कारुणिक थियो ।
दशैको बेला अस्पतालमा बिरामीको सङ्ख्या पनि निकै पातलो छ । त्यस्तै स्वास्थ्यकर्मीहरु पनि सिमीत सङ्ख्यामा छन् । भर्ना गर्नै पर्ने बिरामी मात्रै अस्पतालमा बसेका छन् । बिरामी कुर्न बसेका आफन्तलाई पनि दशैं आएको गएको पत्तो छैन । नेपालगञ्जका खुमा बिकलाई अस्पतालको दशैं खल्लो लाग्दै छ ।
दशैं मान्न पाईएन भन्ने चिन्ता भन्दा पनि बिरामी र उनिहरुका आफन्तलाई खानेकुराको समस्या छ । अस्पताल वरिपरीका होटलहरु बन्द छन् । बजार पसल पनि न्युन सङ्ख्यामा मात्रै खुलेका छन् । यसले दशैंको बेलामा बिरामी र उनिहरुका आफन्तको मन खल्लो भएको छ नै भने जस्तो खान नपाउने बाध्यता थपिएको छ ।
तपाईंको बिचार