सन्दर्भ: स्तन क्यान्सर विरुद्धको जनचेतना महिना

आफैं पनि परीक्षण गर्न सकिन्छ क्यान्सर (डा.कपेन्द्रशेखर अमात्यसँगको अडियो वार्तासहित)

प्रकाशित मिति: 2016-10-04

काठमाडौँ । नेपालमा क्यान्सर रोगी महिला बढी छन् । सबैभन्दा बढी हुने क्यान्सर पाठेघरको मुखको क्यान्सर हो भने त्यसपछि स्तन क्यान्सर हुन्छ । स्तन क्यान्सर सय जनामध्ये ९९ जना महिलालाई हुन्छ भने १ जना पुरुषलाई पनि यो क्यान्सर हुने गरेको अध्ययनहरुले देखाएको छ ।

स्तनमा केही गिर्खाहरु आएको छ कि छैन भनेर महिनाको एक पटक कम्तीमा पनि छाम्ने हो भने थाहा पाउन सकिने चिकित्सकहरु बताउँछन् भने एकदुई वर्षको फरकमा अस्पतालमै गएर जाँच पनि गराउनु पर्छ । प्रत्येक वर्षको अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सरबारे जनचेतना महिनाका रुपमा पनि मनाउने गरिन्छ ।

नेपालमा पनि यो महिनामा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्ने गरिएको छ । स्तन क्यान्सर र यसबाट बच्न सकिने उपायबारे साथी लक्ष्मी बस्नेतले क्यान्सर रोग विशेषज्ञ डा कपेन्द्र शेखर अमात्यसँग कुराकानी गर्नुभएको छ । 

हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालका कार्यरत अंकोलोजी सर्जन डा कपेन्द्रशेखर अमात्यले पहिलो चरणमा रहेको स्तनको क्यान्सर औषधि वा शल्यक्रियाबाट निको हुने भएकाले यसबारे सबै जानकारी लिन आवश्यक भएको बताउनुभयो ।

उहाँका अनुसार क्यान्सर १९ वर्षका किशोरी देखि ९० वर्षकी महिलालाई पनि भएको अनुभव सुनाउनुभयो । सामान्यतया १९ देखि ४० वर्ष उमेर समूहलाई यो क्यान्सर बढी हुने गरेको छ । पछिल्लो समय स्तन क्यान्सरका रोगी बढ्दै गएको चिकिकत्सकहरु बताउँछन् । 

विभिन्न  अध्ययनअनुसार नियमित शारीरिक व्यायाम गर्दा पनि  स्तन क्यान्सरबाट बच्न सकिन्छ । स्तनमा गाँठागुँठी आउनु, स्तनको टुप्पो रातो हुनु, त्यसबाट पिपजस्तो पदार्थ बग्नु, स्तन सुन्निनु तथा थिच्दा दुख्नुलगायत स्तन क्यान्सरका लक्षण हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा नजन्माउनु, धेरै उमेरमा बच्चा जन्माउनु, सानो बच्चा हुँदा पनि स्तनपान नगराउनु, शरीरको तौलन बढ्नु, मादक पदार्थको अत्यधिक सेवन गर्नुले स्तनमा क्यान्सर हुने गरेको छ । तथ्यांक अनुसार विकसित देशमा प्रत्येक आठ महिलामध्ये एकलाई स्तन क्यान्सरको समस्या देखिएको पाइन्छ । 

स्तन क्यान्सर समयमै पत्ता लगाएमा पूर्ण रुपमा निको हुन्छ । सुरुवाती अवस्थामै क्यान्सरको पहिचान भएमा महिलाको स्तनसमेत फाल्नु पर्दैन । उपचार खर्च समेत निकै कम पर्छ । तर नेपालमा चेतनाको कमीका कारण धेरै महिला तथा युवती तेस्रो तथा अन्तिम अवस्थामा मात्र अस्पतालमा आइपुग्छन् । जसका कारण मृत्युदर बढी हुन पुगेको हो । 

रोगका लक्षण
६० देखि ८० प्रतिशत महिला आफ्नो जीवनकालमा स्तनसम्बन्धी कुनै न कुनै समस्याबाट पीडित हुने गरेको पाइएको छ । स्तन क्यान्सरको सुरुसुरुको अवस्थामा बिरामीले सामान्यतया कुनै लक्षणको अनुभव गर्न सक्दैनन् । त्यस कारणले नै सबै महिलाले नियमित पहिले आफैंले र कुनै शंका भएमा त्यसपछि विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नु जरुरी हुन्छ । जब स्तन क्यान्सर बढ्दै जान्छ, तब लक्षणहरू देखा पर्न सक्छन् ।
लक्षणहरू
– कुनै एक वा दुवै स्तनमा नदुख्ने डल्लो वा कडा गिर्खाहरू आउने ।
– कुनै एक वा दुवै स्तनको साइज वा आकारप्रकारमा परिवर्तन हुने ।
– स्तनको मुन्टोबाट रगतसहित वा रगतरहितको तरल पदार्थ बगिरहने, छालाको अल्सर हुने ।
– स्तनको छालामा परिवर्तन आउने, गाढापन बढ्ने वा छालाको रंग परिवर्तन हुने ।
– स्तनको मुन्टो वरिपरि वा मुन्टोमै स–साना घाउ/खटिरा,बिमिरा देखापर्ने ।
– स्तनको मुन्टो पहिलेभन्दा फरक रुपमा देखा पर्ने वा मुन्टो स्तनभित्र धसिने आदि ।
– अकस्मात शारीरिक तौल घट्ने ।
– शरीरका हड्डीहरू दुख्ने ।

आफैं परीक्षण गर्ने समय र तरिका

- २० वर्षमाथिका हरेक महिलाले महिनावारी भएको पाँच–सात दिनमा परीक्षण गर्ने ।
- महिनावारी सुकेको र गर्भवतीले हरेक महिनाको एउटै गते÷दिनमा परीक्षण गर्ने ।
- आफ्नो स्तनका बारेमा थाहा पाउने, जसले गर्दा सानोतिनो परिवर्तनमा आफू जानकार हुन सकियोस् ।
- परीक्षण हरेक महिना गर्ने ।
- जम्मा १० मिनेट लाग्छ ।

तरिका
- ऐनाअगाडि बसेर कम्मरमा हात राखेर आफ्नो स्तन परीक्षण गर्ने ।

- स्तनको आकार, प्रकार एकनास छ, छैन परीक्षण गर्ने ।

- गिर्खा छ, छैन परीक्षण गर्ने ।
- स्तनको मुन्टो भित्र गएको छ, छैन परीक्षण गर्ने ।
- छालाको रंगमा फरक छ, छैन हेर्ने । सुन्तलाको जस्तो रंग छ, छैन हेर्ने ।
- दुवै हातमाथि उचालेर हेर्ने, दुवै स्तन एक प्रकार र किसिमले माथि जान्छ कि जाँदैन भनेर जमिनमा पल्टिएर हेर्ने ।
-अनि बायाँ हातले दायाँ र दायाँले बायाँपट्टिको स्तनको मुन्टो वरिपरिबाट पूरै स्तन छाम्ने । फोटोमा देखाएजस्तै ।
-अनि काखी मुखी छाम्ने
-स्तनको मुन्टो निचोरेर पिप, रगत वा पानी आएको छ छैन हेर्ने ।

विशेषज्ञबाट स्तन परीक्षण
- ४० वर्ष माथिका महिलाको हरेक वर्ष कम्तीमा एकपटक गरिन्छ ।
- २०–४० वर्षका महिलाका लागि हरेक तीन वर्षमा कम्तीमा एकपटक जाँच गर्नुपर्छ ।
– बढी जोखिमको सङ्केत भएका महिलाका लागि अरुभन्दा चाँडै यो किसिमको जाँच गरिन्छ।
– यो विशेषज्ञ चिकित्सकबाट मात्र गरिने परीक्षण हो ।

स्तन क्यान्सर र यसबाट बच्न सकिने उपायबारे साथी लक्ष्मी बस्नेतले क्यान्सर रोग विशेषज्ञ डा कपेन्द्र शेखर अमात्यसँग कुराकानी गर्नुभएको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Dr_kapendra_sekhar_amatya.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Dr_kapendra_sekhar_amatya.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार