के रोग लाग्यो हुम्लामा ? एकै घरका तीन जनासहित १४ जनाको मृत्यु

औषधी नहुँदा उपचारमा थप समस्या

प्रकाशित मिति: 2016-04-25
नवराज महतारा, रेडियो कर्णाली आवाज, हुम्ला

हुम्ला ।  एक साता देखि फैलिएको रोगका कारण एकै घरका तीन जना सहित राया र स्याँडामा १४ जनाको ज्यान गएको छ । रोगले स्याँडा ५ भजने रोकायाका भाई रंगविरे रोकाया र भाइ बुहारी भ्याल्नी रोकायाको मृत्यु भएको छ । 

गएको साता देखि फैलिएको अज्ञात रोगका कारण स्याँडा ४ लामती बुढा, ६ भद्विर बुढा, ५ ढोली बुढा र ४ का धनराज बुढाको मृत्यु भएको स्याँडाका स्थानीय छक्क बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा १९ देखि ७२ वर्ष सम्मका  छन् ।

यसैगरी अज्ञात रोगका कारण रायामा समेत ७ जनाको ज्यान गएको छ । गएको ७ गते देखि आजको दिन सम्म उक्त संख्यामा बिरामीको मृत्यु भएको रायाका स्थानीय वासिन्दा वलविर रावलले जानकारी दिनुभयोउहाँका  अनुसार एक सातामै अचानक फैलिएको रोगले राया ६ का सिरे रावल र  उहाँकी श्रीमती लाटी रावलको मृत्यु  भएको छ ।

श्रीमती लाटीको वैशाख ८ गते मृत्यु भएको थियो भने सिरेको आज ( वैशाख १२) गते मृत्यु भयो । शुरुमा नाक, कान बुझीने, ज्वरो आउने र बिस्तारै खान मन नलाग्ने उक्त रोगले राया ८ का ५७ वर्षका जस रावल र निजकी ५२ वार्षिय श्रीमती चिनकली रावलको समेत मृत्यु भएको छ । ज्यान जानेमा राया ६ की ३५ वार्षिय विष्णु रावल, ७ की ७५ वर्षकी रिउली रावल, २ का ७७ वर्षिय सर्वजित रावलको मृत्यु भएको रायाका पूर्व गाविस अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिनुभयो । 

औषधी नहुँदा थप समस्या 

गएको साता देखि अचानक फैलिएको अज्ञात रोगले पिडित बिरामीहरुका लागि स्थानीय स्वास्थ्य चौकीमा औषधी नभएकाले समस्या थप जटिल बन्दै गएको बताइएको छ । रायाका पूर्व गाविस अध्यक्ष प्रेम बुढाका अनुशार स्थानीय स्वास्थ्य चौकीमा औषधी नभएकाले पनि केही बिरामीको मृत्यु भएको हो ।

सामान्य बिसन्चो हुँदै बिरामी स्वास्थ्य संस्था जान्छन तर स्वास्थ्य संस्थामा भएकी अनमीले औषधी सकिएको भनेर रित्तोहात फर्काउने गरेकाले पनि बिरामीको अवस्था नाजुक हुँदै गएको बताउनुभयो । 

राया स्वास्थ्य चौकीकी अनमी बेलसरी बुढाका अनुसार स्वास्थ्य चौकीमा जिल्ला अस्पतालले पठाएको औषधी सकिएकाले स्वास्थ्य चौकीमा आएका बिरामीलाई उपचार गर्न नसकिएको स्वीकार गर्नुभयो ।  

चैत अन्तिम साता सम्म जिल्ला अस्पतालमै सामान्य औषधी समेत नभएको हुम्लाका स्थानीय स्पास्थ्य संस्थामा सिटामोल समेत नपाएर बिरामीको ज्यान गएको स्याँडाका  स्थानीय छक्क बुढाले नयाँपत्रिकालाई जानकारी दिनुभयो 

उहाँका अनुसार लामो समय देखि सँडा स्वास्थ्य चौकी यन्चार्ज बिहिन छ । स्याँडा स्वास्थ्य चौकीमा भएकी अनमी संगिता बुढाले आउने बिरामीलाई सिटामोल समेत छैन भनेर फर्काउने गरेकाले पनि बिरामीको ज्यान गएको आरोप स्थानीय वासिन्दाले लगाएका छन् ।

तर जिल्ला स्वास्थ्य कार्यालयले भने त्यसको अस्विकार गरेको छ । गएको सातादेखि फैलिएको रुघाखोकीले राया ५ र स्याँडामा ४ गरी ९ जनाको मात्रै ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेशवावु श्रेष्ठले जानकारी दिनुभयो ।

एकिकृत स्वास्थ्य शिविरका क्रममा कालिका रहेका सूचना अधिकारी श्रेष्ठले गएको चैतमा जिल्लाभरीमै औषधीको अभाव भएपनि हाल त्यो अवस्था नरेहको दावी गर्नुभयो ।

अज्ञात रोगले एक सातामे ९ जनाको ज्यान गएको खबरपश्चात आजै राया र स्याँडामा औषधी सहित स्वास्थ्यकर्मीको टोली खटाएको बताएका सूचना अधिकृत श्रेष्टले स्वास्थ्यकर्मीको रिर्पोटका आधारमा मात्रै कुन रोग हो भनेर एकिन हुने जानकारी दिनुभयो ।  रायामा अहेव कालीबहादुर शाहीको नेतृत्वमा र स्याँडामा अहेव हरिभक्त शाहीको नेतृत्वमा औषधी सहितको टोली परिचान गरिएको छ । 

तपाईंको बिचार