१५ चैत / पद्मकन्या क्याम्पसका पूर्व स्ववियु सभापति लालकुमारी पोखरेल ‘स्वस्तिका’ को आज बाराको अमलेखगन्जमा सडक दुर्घटनामा परी निधन भएको छ । उहाँसँगै उहाँ चढेको गाडीका चालक काभे्रका धु्रव कार्कीको पनि निधन भएको छ । उदयपुरको कटारीबाट काठमाडौं आइरहेको बा ३ च ८०९७ नम्बरको पोखरेल चढेको गाडीलाई विपरित दिशाबाट आइरहेको अर्को गाडीले ठक्कर दिएको थियो । ठक्करपछि पोखरेल र कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीमा रहेका अरु दुई जना पोखरेलका भाइ प्रदिप पोख्रेल र उहाँकै भिनाजु उदयपुरकै ३५ वर्षिय गोविन्द बुढाथोकी घाइते भएको छ । दुवै जनालाई उपचारका लागि वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको नेविसंघका प्रवक्ता युपि लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो । पोखरेल र कार्कीको शव अहिले नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमै छ । परिवारका सदस्यहरु पुगेपछि काठमाडौं ल्याउने वा घर लैजाने भन्ने थाहा हुने पनि लामिछानेले जानकारी दिनुभयो ।
यसअघि २०५२ सालमा पनि स्ववियु सभापति नानु न्यौपानेको पनि सडक दुर्घटनामै परेर मृत्यु भएको नेविसंघका एक नेताले जानकारी दिए । दुईजना जुझारु महिला नेता एवं पूर्व सभापतिहरुको निधनलाई नेविसंघका नेताहरुले दुःखद संयोग भनेका छन् । पोखरेलको निधनप्रति विद्यार्थी नेताहरुले दुःख व्यक्त गरेका छन् ।
तपाईंको बिचार