२ चैत, गुल्मी, महिनावारी भएको समयमा महिलाले अझै पनि घर र समाजसम्मै विभेद भोग्नुपर्छ । तर यसविरुद्ध सरकारी तथा गैरसरकारी क्षेत्रले मात्र होइन व्यक्तिहरुले पनि त्यो विभदे र सुरक्षित महिनावारीका बारेमा अभियानहरु संचालन गरिरहेका छन् । त्यस्तै मध्येका एक गुल्मीका गंगा खड्काले २ वर्ष अघि एक्लै थालेको अभियान अहिले साझा बनेको छ ।
“स्वस्थ रहने हाम्रो चाहना, सुरक्षित महिनावारी हाम्रो अधिकार, सुरक्षित महिनावारीका लागि हाम्रो साझा अभियान” भन्ने नाराका साथ गुल्मीको एक विद्यालयबाट खड्काले अभियान थाल्नु भएको थियो । अहिले यो अभियान गाउँटोलसम्म पुगेको छ । गाउँगाउँका महिलाहरुसम्म छलफल गरेपछि झण्डै एक तिहाइ पाको उमेरका महिलाहरुले नै महिनावारीका बेला बार्न छोडेको खड्काको भनाइ छ ।
महिनावारीका बेला आफूले पनि विभिन्न खाले विभेद भोग्नु परेकाले अभियान नै शुरु गरेको अभियानकर्ता खड्का बताउनुहुन्छ । अभियानअन्तर्गत खड्काले विभिन्न चरणमा गाउँघरमै पुगेर महिलाहरुलाई महिनावारीको समयमा हुन सक्ने जटिलता र ध्यान दिनुपर्ने कुराहरुका विषयमा प्रशिक्षण समेत दिने गर्नुभएको छ ।
महिनावारी भएका बेला कतिपय छात्राहरु विद्यालय नै नआउने र त्यसको कारण देखाउँदै विद्यालयमा अभियान पुर्याएपछि धेरै विद्यालयले छात्रा मैत्री शौचालय तथा महिनावारी भएको बेलामा आवश्यक पर्ने सेनेटरी प्याड लगायतका अन्य सामाग्रीको समेत व्यवस्था गर्न थालेका छन् ।
खड्काले सुरक्षित सामाग्रीयुक्त कार्यालय बनाउन थाल्नु भएको अभियानअन्तर्गत नेपालमै पहिलो पटक जिल्ला प्रहरी कार्यालय गुल्मी महिनावारीको लागि सुरक्षित सामाग्रीयुक्त कार्यालय घोषणा भैसकेको छ ।
अहिलेसम्म गुल्मीका झण्डै आधा दर्जन गाविसका विद्यालयहरुमा यो कार्यक्रम सफल भैसकेको छ भने अरु विभिन्न ग्रामिण भेगमा पुर्याउने उहाँको योजना छ । खड्काले दुई वर्ष पहिले थालेको अभियानलाई अहिले जिल्ला विकास समिति पश्चिमाञ्चल नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको दोस्रो चरण तथा प्रवासमा रही गाउँघरको सेवामा काम गर्ने संस्था नेपाली क्यानेडिएन ट्रकर्स एसोसियसन क्यानडालगायत अन्य सघंसंस्थाले पनि सहयोग गर्दै आईरहेका छन् ।
खड्काको कार्यलाई सह्राना गर्दै गुल्मी घर भई क्यानडा बस्दै आउनुभएका इश्वरी भण्डारीले सामाजिक संजालमार्फत अभियानको प्रचार र आर्थिक सहयोग अभियान नै थाल्नुभएको छ । समाजमा सुरक्षित महिनावारी सम्बन्धी अभियान चलाएर महिलाहरुलाई सचेतना प्रदान गर्दै आउनु भएका खड्कालाई सबै क्षेत्रबाट सहयोग हुन सके र उहाँको जस्तो सोच भए यस्तो अभियान देशव्यापी हुन सक्छ ।
तपाईंको बिचार