टुटेको मन, छुटेको सम्बन्ध जोड्दै मेलमिलाप

प्रकाशित मिति: 2016-02-11
मोतीराम तिमल्सिना, प्राइम एफएम, बनेपा

भुकम्पले पारिवारीक रुपको बेमेललाई एकता बनाएका केहि स्थानका उदाहरण छाड्ने हो पनि पछिल्लो समय राहत र अन्य सुविधाका कारण उत्पन्न विवादले समाजमा अशान्ति फैलन थालेको छ । जिल्लाका हरेक गाविसमा पारिवारीक कलह त छँदैछ त्यो भन्दा ठुलो पीडितहरुको मन र सम्वन्ध टुट्न थालेका छन् । 

तत्काल घर बनाउने कुरामा पनि पीडितहरु हच्किन थालेका छन् । त्यहि स्थानमा घर बनाउँदा त्यसको भग्नावशेष नरहँदा लगतमा छुटिने पो हो कि ? थुप्रै खाले शंसयमा जीवन गुजारिरहेका पीडितहरु मेलमिलाप केन्द्र धाउन थालेका छन् । 

जिल्ला दैवि प्रकोप तथा उद्धार समितिले भुकम्प पीडित भनेर टुङ्गयाउन नसकेका एक हजार भन्दा धेरै निवेदनका बारेमा छानविन गर्न गठित सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले पनि थप पीडितहरुको पहिचान गर्न सकेन । अस्वभाविक रुपमा भुकम्प पीडितहरुको संख्या बढेको भन्दै गृह मन्त्रालयलाई अर्थ मन्त्रालयले रकम निकासा दिन मानेन । दोश्रो चरणमा न्यानो राहतका लागि पर्खिबसेका पीडितहरु गर्मीको मौषम शुरु हुँदा समेत चिसोमै बस्न बाध्य भए । 

सरकारी राहत समानुपातिक हुन नसक्दा भएका विवादहरु त छँदै छन् पछिल्लो समय भुकम्प प्राधिकरणले तथ्याङ्क कार्यालय मार्फत खटाएका इन्जिनियरहरुको टोलीले संकलन गर्ने लगतमा एउटा घरको गणना हुने तर चार परिवारसम्मले प्राप्त गरेको भुकम्प पीडितको रातो कार्ड खोसिने डरले अर्काे विवाद शुरु भएको छ ।

अझ तत्काल घर बनाउने कुरामा पनि पीडितहरु हच्किन थालेका छन् । त्यहि स्थानमा घर बनाउँदा त्यसको भग्नावशेष नरहँदा लगतमा छुटिने पो हो कि ? थुप्रै खाले शंसयमा जीवन गुजारिरहेका पीडितहरु मेलमिलाप केन्द्र धाउन थालेका छन् । 

द एसिया फाउण्डेशनको सहयोगमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले काभ्रे लगायत अन्य पाँच जिल्लामा शुरु गरेको मेलमिलाप अभियानमा यस्ताखाले पीडितहरु उजुरी बोकेर मेलमिलाप केन्द्र धाउन थालेका छन् ।

न्यानो राहत र अब वितरण हुने भनेको घर निर्माणको दुई लाख र सहुलियत ऋणका विषयलाई लिएर दाजुभाई र देउरानी जेठानी बीचको झगडा हुन थालेका छन् । 

एक महिनाको बीचमा जिल्लाको भुमेडाँडा गाविसमा दर्जन भन्दा धेरै विवादहरु मिलाईसकेको भुमेडाँडा गाउँ विकास समितिका मेलमिलाप संयोजक देवराज केसीले बताउनुभयो ।  ‘मेलमिलाप केन्द्र खोल्नु अघि यो के हो र कस्तो हो ? भन्ने भ्रम र जिज्ञासा थिए’–उहाँले भन्नुभयो–‘अहिले समाजमा भएका विवादहरु मिलापत्र हुन र सम्वन्धमा सुधार हुन थालेपछि विवादहरु केन्द्रमा आउन थालेका छन् ।’ 

माघ १६ गते मेलमिलापकर्ताहरुले भुकम्पका कारण सिर्जित विवाद समाधान गरेका थिए । एउटा घरमा तीन जना दाजुभाई बसिरहेको अवस्थामा प्राप्त एउटा राहतलाई लिएर भएको विवादले पारिवारीक बेमेल शुरु भएको थियो । न्यानो राहत र अब वितरण हुने भनेको घर निर्माणको दुई लाख र सहुलियत ऋणका विषयलाई लिएर दाजुभाई र देउरानी जेठानी बीचको झगडा मेलमिलाप केन्द्र मार्फत समाधान गरिएको संयोजक केसीले बताउनुभयो ।

सरकारद्वारा सबै प्रकारका राहत तीनै जना दाजुभाईले समान रुपले वितरण गर्ने सहमति पश्चात एक आपसमा मिलेर बस्ने र सम्वन्धलाई पुरानै अवस्थामा फर्काउन सहज भएको पीडितहरुले बताएका छन् ।

भुमेडाँडा गाविसमा भएका घरेलु हिंसा, छिमेकी बीचको विवादलाई समेत मेलमिलाप केन्द्रले समाधान गरी सम्वन्धलाई सुमधुर बनाएको छ । भुमेडाँडा बाहेक अन्यत्र मेलमिलाप केन्द्र खुलेका गाउँ विकास समितिहरुमा समेत विवाद केन्द्रमा आउन थालेको र समाधान हुन थालेको संयोजकहरुले बताएका छन् ।

सरमथली, कुशादेवी लगायतका स्थानहरुमा पनि मेलमिलाप केन्द्रहरुमा विवाद दर्ता हुन थालेका छन् । हरेकखाले विवादहरु प्रहरी प्रशासनमा जाने र त्यसले मान प्रतिष्ठामा त आँच आउने नै थियो त्यो भन्दा धेरै समय र आर्थिक नोक्सानी समेत भईरहेको सन्र्दभमा प्रहरीले हेर्न नपर्ने देवानी प्रकृतिका मुद्दाहरुलाई समुदायमै मेलमिलाप गराउँदा सम्वन्धमा पनि सुधार हुने र समुदायमा पनि शान्ति छाउने प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका समुदायमा मेलमिलाप कार्यक्रम संयोजक सरिता सापकोटाले बताउनुभयो । 

जिल्लामा ५० वटा भन्दा धेरै मेलमिलाप केन्द्र खुलिसकेको र खुलेका केन्द्रहरुमा समुदायले सहयोग र चासो ब्यक्त गर्दै विवादहरुलाई समेत केन्द्रमा पठाउने र समाधानका लागि सहयोग गर्ने लहर शुरु भएको सापकोटाले बताउनुभयो । समुदायमा भुकम्प पछि यौनजन्य हिंसा, घरेलु हिंसा, पारिवारीक बेमेल जस्ता घटनाहरु उब्जिएका छन् ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट र रसुवा जिल्लामा मेलमिलाप कार्यक्रम शुरु गरेको छ भने रामेछाप र सिन्धुलीमा पनि मेलमिलाप कार्यक्रम द एशिया फाउण्डेशसनको सहयोगमा शुरु भएको छ । 

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुपबहादुर थापाका अनुसार पाँच वटा जिल्लाका सबै गाविस र नगरपालिकामा यो कार्यक्रम शुरु भएको छ । यो कार्यक्रमले समाजमा सुमधुर सम्वन्धका लागि महत्वपूर्ण भूमिका खेलिरहेको थापाले बताए । विभिन्न जिल्लाको तथ्याङ्क हेर्दा कयौ विवादमा मेलमिलाप केन्द्रहरुले मेलमिलाप गराईसकेका छन् । 

जिल्ला अदालत काभ्रेको तथ्याङ्क अनुसार आर्थिक वर्षको ६ महिनामा एउटा पनि मुद्दा मेलमिलाप हुन सकेन । अदालतसम्म आएका मुद्दाहरु मेलमिलाप गर्न कठिन देखिएको छ । एउटा पक्षले हार्ने निश्चित हुँदा समेत अडानका कारण मुद्दाहरु दर्ता भईसकेपछि मेलमिलाप हुन नसकेको हो ।

तर मेलमिलाप केन्द्रमा दर्ता भएका विवादहरुलाई पहिलाकै अवस्थामा समाधानको प्रयास खोजिने र विवादित पक्षहरुलाई जित जितको माध्यमबाट मेलमिलाप गराउने भएकाले अदालतसम्म पुग्न नपर्ने देखिएको छ ।

सरोकारवाला निकायहरुले यसलाई अझै गम्भिरतापुर्वक लिन सके समाजमा हुने साना साना विवादले लिने ठुला रुपहरुको न्युनिकरण र दिगो शान्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । 

तपाईंको बिचार