मोफसल पत्रकारिताका प्रवृति

प्रकाशित मिति: 2016-01-19
तपेन्द्र कुँवर

राज्यको चौथौ अङ्गको उपमा पाएको पत्रकारिता क्षेत्रबाट आम नागरिकले सही सूचना सम्प्रेषण हुने अपेक्षा गरेका हुन्छन । यसले भौगोलिक दुरी छोट्याउन मद्दत गर्नुका साथै समाज, राष्ट्र  विश्वभर नै सूचना संग्रह र सम्प्रेषणलाई छिटो छरितो तुल्याएको छ । नागरिकलाई सहि सूचना सम्प्रेषण गर्ने जिम्मेवार पनि पत्रकारको मुल धर्म हुन आउँछ ।

पत्रकारिता क्षेत्र समाज परिवर्तनको लागि एउटा आधारशिला तथा जिम्मेवारीपूर्ण मर्यादित पेशा हो । समाज रुपान्तरणका साथै सामाजिक उत्तरदायित्ब वहन गर्ने दायित्व पत्रकारिता क्षेत्रको रहेको हुन्छ । राज्यका तिनवटा अंग कार्यपालिका न्यायपालिका तथा व्यवस्थापिकाद्धारा सम्पादित गतिविधिहरुको बारेमा खोज अनुसन्धान गरेर जनतामाझ सार्वजनिक गर्नु मुख्य जिम्मेवारी रहेको हुन्छ । 

यसले राज्यका तिनवटा अंगको सम्पादित गतिविधिहरुको मूल्याङकन गर्ने काम गर्दछ । राज्यका तिनवटा अंगहरुले गर्ने क्रियाकलाप जनताप्रति जवाफदेहिता छ या छैन भन्ने लेखाजोखा गरेर जनतालाई जानकारी गर्नको लागि पुलको भूमिका निवार्ह गर्नु पत्रकारिताको मूल ध्येय रहेको हुन्छ ।

त्यसैल पनि आम मानिसहरुको पत्रकारिता क्षेत्रप्रति अन्य निकायभन्दा बढी बिश्वास हुने गरेको पाइन्छ । त्यसैले पत्रकारिता पेशालाई आवाज विहीनहरुको आवज भनिएको हो । यतिमा मात्रै पत्रकारिता परिभाषामा सीमित छैन अझ कलमको माध्यबाट समाज रुपान्तरणको एउटा हतियारका रुपमा समेत लिन सकिन्छ ।

अल्पज्ञान सैद्धान्तिक विचलन 

तर, पनि पत्रकारिताको क्षेत्र आग्रह र पूर्वाग्रहबाट भने मुक्त हुन सकेको छैन । अझ मोफसल क्षेत्रको पत्रकारिता क्षेत्रमा लहडका भरमा पत्रकारिता क्षेत्रमा प्रवेश भएका व्यक्तिले निहित स्वार्थका आधारमा विषयबस्तु उठान गरेका कारण यो पेशा बदनियत बन्दै गएको अवस्था रहेको छ । व्यवसायिक ज्ञानको अभाव र सैद्धान्तिक विचलनका कारण विषयबस्तुको उठान गलत ढंगले सम्प्रेषण हुँदा यसले समाजमा गलत सन्देश सम्प्रेषण भएको छ । 

मोफसल क्षेत्रमा विषयबस्तुको उठान सकारात्मक भन्दा अतिरञ्जनात्मक हुँदै आएको छ । मोफसलको पत्रकारितामा लगानीको अभाव त छदैछ, त्यसका अलावा शैक्षिक योग्यताको अपर्याप्तताले पनि सोचे जस्तो मर्यादित र बस्तुनिष्ठ पत्रकारिता हुन सकेको छैन  । आवश्यक ज्ञानको अभाव तथा लहडका आधारमा गरिने पत्रकारिता कहिलेकाहीे निहित स्वार्थ कारण समाचारका विषयबस्तुमा यर्थाथरुपमा प्रस्तुत नहुँदा यसले समग्र समाजमा नकारात्मक समस्या पैदा गरेको समेत पाइने गरेको छ ।

पत्रकार एनजिओमुखी हुँदा यसले सञ्चारमाध्यममा आउनु पर्ने विषयबस्तुको उठान हुन सकेको छैन । जो राज्यबाट पछाडि पारिएका वर्गहरु छन, उनीहरुका आवाजहरुलाई ध्यान दिन सकिरहेको अवस्था छैन । 
त्यस्तै, समाचारका विषयबस्तु भन्दा पनि व्यक्तिगत ईगोको रुपमा सत्यापनभन्दा टाढा गएर भावनामा बगेर पुर्वाग्राही रुपमा प्रस्तुत भइदिँदा यसले जनमानसमा नकारात्मक धारणा पैदा गर्ने काम समेत गरेको पाइन्छ ।

कुनै व्यक्तिलाई खुसी पार्न तथा व्यक्तिगत ईगोका कारण खुईल्याऊने प्रवृत्तिका कारण पनि मोफसल क्षेत्रको पत्रकारिताले जनमानसमा वितृष्णा पैदा गर्दै आएको देखिन्छ । लहडका भरमा पत्रकारिता क्षेत्रमा प्रवेशका कारण समाचारका विषयबस्तुमा यर्थाथपरक भन्दा पनि अतिरञ्जित भएर प्रस्तुत हुँदा पत्रकारिता क्षेत्र माथि प्रश्न चिन्ह समेत उठ्ने गरेको प्रष्ट छ । 

स्वार्थसिद्द गर्ने साधन

निहित स्वार्थ तथा पत्रकारहरु आफ्नो धर्मबाट बिचलित भईदिँदा पत्रकारका लागि बनाइएको आचारसंहिता उल्लङघन गर्दा यसले समग्र समाजमा समेत नकरात्मक असर परिरहेको छ । समाजलाई सत्य, तथ्य र यथार्थता विषयबस्तुको बारेमा जानकारी गराउनको लागि थालिएको विषयबस्तुलाई सत्यापनभन्दा पूर्वाग्राही रुपमा समाचारका बिषयबस्तु प्रकाशित तथा प्रसारित गर्दा जनतालाई दिगभ्रमित पार्न खालका विषयबस्तुको सञ्चार हुन थालेको देखिन्छ ।

पत्रकारिता पेशाको धर्म समाज परिवर्तको लागि पुलको भूमिका निर्वाह गर्ने काम भएपनि निहित स्वार्थ राखेर व्यक्ति संस्थाको उछिनो काढ्ने प्रवृतिका कारण पत्रकारिता पेशा बदनियत हुन थालेको छ । यो समस्या मोफसल पत्रकारितामा बढी पाइने गरेको छ । 

पत्रकार पनि सामाजिक प्राणी हो, तर आफु पत्रकार भनेर समाजभन्दा ठूलो भन्ने भावना साँध्ने अहंमकारी सोचको प्रवृति पत्रकारमा मौलाउँदा पनि मोफसल पत्रकारिता क्षेत्रमा विकृति मौलाउँदै गएको छ । पत्रकारले जे लेखे पनि सत्य हुन्छ, आफूलाई राज्यको कुनै नियम कानुन लाग्दैन, मैलै लेखेको समाचार समाजलाई पाच्य हुनुपर्छ भन्ने अहमकारी भावना सोच राख्ने प्रवृत्तिले  पत्रकारता पेशाको शाख र पत्रकारप्रतिको सम्मान घट्दै गएको छ । 

समाचारको विषयबस्तुलाई सकरात्मक भन्दा पनि बढीजस्तो नकरात्मक पक्षमा विश्लेषण गर्दा समाचार अब्बल बन्ने भन्ने सोच पत्रकारिता क्षेत्रमा बढी हाबी हुँदै गएको देखिन्छ । जुन समाचारीय सामग्री भएपनि त्यसले समाजमा सकारात्मक प्रभाव भने पार्दैन । जुन समाचार बढी नकारात्मक भयो र सनसनी फैलाउँछ त्यस्ता खाने सामग्रीले मात्र यहाँ प्राथमिकता पाइरहन्छन् ।

सकारात्मक पाटो ओझेलमा

नकारात्मक विषयबस्तुलाई मात्र उठान गर्ने सोचका कारणले मात्र समाज रुपान्तरण हुँदैन । यसले देशलाई विकास भन्दा पनि बाधा पनि पु¥याउँछ । त्यस्तै यसले सामाजिक, राजनैतीक ,आर्थिक, साँस्कृतिक क्षेत्रमा नकरात्मक धारणाको विकास भएको पाइन्छ । हामी सकारात्मक विषयबस्तुभन्दा पनि नकारात्मक विषयबस्तुको तवरबाट प्रस्तुत भइदिँदा आम सर्वसाधारणको मानसपटलमा समेत नकरात्मक धारणा पैदा भएको पाईन्छ । समाचारका विषयबस्तु नकारात्मकबाट मात्र बाहिर आउँछ भने त्यसले सबैको मनोभावनामा समेत त्यस्तै असर पारिरहेको हुन्छ । अनि पत्रकारिताको धर्म सार्वजनिक हितको उच्च आकांक्षा लिएर समुदाय विशेषलाई संगठित पार्दै जनताका आवाज मुखरित पार्ने काम ओझेलमा पर्दै जान्छ । त्यसले समाजको विकासमा पनि असर पर्दै जान्छ ।

आफै न्यायाधीश

पत्रकारको मुल ध्येय समस्याको उठान गर्दै सम्बन्धित निकायलाई गतिविधीलाई पारदर्शिता बनाउँदै समाजप्रति जिम्मेवारी बनाउँदै सचेत गर्नु हो  । उसका कमजोरी औल्याउने काम मात्रै हो, तर हामी न्यायधिशको जस्तै आफै फैसला गर्ने परम्पराको विकास गर्न तर्फ उद्त भइदिन्छौं । जो पत्रकारिताको धर्म होइन । किनकि समस्याको फैसला गर्न हाम्रो कार्य क्षेत्र भित्रै पर्दैन ।

स्रोतको नाममा मनगणन्ते समाचारका विषवस्तुलाई सम्प्रेषण गरेर उल्टै अन्यौलतातर्फ धकेल्ने कामले समाजलाई अस्थिरताको बाटो उन्मुख हुनुका साथै गलत काम गर्न ब्यक्तिले प्रोत्साहन मौका पाएको छ । लहडका  भरमा स्रोतलाई उद्धित गरेर आफुलाई पत्रकारिताको धर्मबाट बिचलित पार्दै अरुको बैशाखी टेकेर जब समाचारका विषयबस्तु सम्प्रेषित हुन्छन त्यसले अस्थिरताको बाटो समात्न पुग्छ ।

जसले समाज निर्माणमा सकारात्मक बाटो तर्फ डो¥याउनुभन्दा पनि अस्थिरता तर्फ समाजलाई समात्न पुग्छ । स्रोतको हवला दिँदै वैशाखीको साहारमा विषयबस्तु सम्प्रेषण हुँदा गलत नजिर बस्न सक्छ । 

यस्तो पत्रकारिता गर्ने परिपाटिको विकास मोफसल क्षेत्रमा भएको पाइन्छ । जसले राज्यको चौथो अङ्गको उपमा पाएको पत्रकारिता क्षेत्रकोे बदनाम हुने काम समेत भएको पाइन्छ । जसले गर्दा आममानिसको भरोसाको केन्द्रका रुपमा रहेको पत्रकारिता क्षेत्र बेलगामको घोडा जस्तै हुन पुगेको छ ।

यसले गर्दा नागरिकलाई सुसूचित पार्नुभन्दा पनि उल्टै नागरिकले पत्रकारिता क्षेत्र माथि नै औँला उठाउने मौका पाउँछन भने पत्रकारिता क्षेत्रलाई हेर्न दृष्टिकोणमा समेत परिवर्तन ल्याइदिन्छ । जसले गर्दा पत्रकारद्धारा सम्प्रषित विषयबस्तुमा प्रश्न चिन्ह उठाउने ठाउँ मिल्दछ । तथ्यपरकता भन्दा पनि आवेग निहित स्वार्थ, पत्रकारको लागि बनाइएको आचारसंहिता लक्ष्मण रेखा तोड्ने काम हुँदा यसले पत्रकारहरुको शाख गिराउने काम भइरहेको छ । यो समस्या बढी जस्तो मोफसल क्षेत्रका पत्रकारहरुमा बढी पाइने गरेको छ । 

अन्त्यमा

पत्रकारीतालाई पेशाभन्दा पनि स्वार्थ सिद्ध गर्ने अस्त्र र साधनका रुपमा प्रयोग गरिनु, पेशा मर्यादा अभिवृद्धि गर्नु भन्दा मालिकको स्वार्थ पूर्ति मतियार बन्ने प्रवृतिका कारण पनि यसले पत्रकारिता क्षेत्रको शाख गिर्दै गएको छ ।

सत्ता र संस्थाको निकम्मा गरिने पत्रकारिताले मोफसलको पत्रकारिताको शाखा गिर्दै आएको छ भने अर्कातिर पत्रकारिता पेशा नबुझेका व्यक्तिको बाहुल्यताका कारण मोफसल क्षेत्रको पत्रकरिताको विकास हुन सकेको छैन । पत्रकारिताको मुल धर्म नबुझेका व्यक्तिको प्रबेशका कारण सीमित स्वार्थका कारण आफू अनुकूलका सरकारी तथा गैरसरकारी संस्थाका भजन गाउने प्रवृतिले समेत जटिल समस्या उत्पन्न हुँदै गएको छ । 

जबसम्म मोफसल पत्रकारिताको दायरा एनजियो प्रवृतिबाट माथि उठेर समाज रुपान्तरणको हाँगोलो समात्न सक्दैन त्यसका लागि व्यक्तिगत निहित स्वार्थलाई तिलाञ्जली दिँदै निष्पक्ष हुन आवश्यक छ भने अर्कातर्फ मालिकलाई खुसी पार्ने प्रवृतिको पनि निराकरण हुन आवश्यक छ । अनि पत्रकारलाई पत्रकारिता पेशा निर्भरता गराउन मालिक र पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले पनि पत्रकारका समस्याका लागि गम्भिर बन्न आवश्यक देखिन्छ ।  

तपाईंको बिचार