गुँइठाले धान्दै आएको जीवन !

दाङका थारु समूदायमा अधिकांशको घरमा गुँईठाबाटै खाना पाक्छ

प्रकाशित मिति: 2016-01-11
निमुसंगम घर्ती, रेडियो मध्यपश्चिम दाङ

दाङ, पुस २७ । नाकाबन्दीका कारण बजार भरी र बजारका नजिकका गाउँमा ग्याँसको अभाब र चिन्ता छ । रातभर लाईनमा बसेर पनि उपभोक्ताहरुले खाना पकाउने ग्याँस पाउन सकेका छैनन् । दाउराको खोजी गर्नेहरु पनि चिर्ने साधन नहुँदा अप्ठेरोमा परेका छन् । तर दाङ, घोराहीकी शुसीला चौधरीलाई आगो के ले बाल्ने भन्ने कुनै चिन्ता छैन । गोबरबाट दाउराको जोहो गर्ने शुसीलाको दैनिकी बनेको छ । यीनै “गुँईठा”बाट सधंैभरी भात तरकारी पाक्छ, शुसीलाको भान्छा उत्रिन्छ । 

बर्ष दिन पुग्ने गुँईठा उहाँलाई यहि जाडो सिजनमै तयार पारिसक्नु पर्ने भएकाले हरेक दिन बारीमा गोबरका रोटी सुकाएकै हुनुपर्छ । ‘नत्र चुल्हो बल्दैन’ उहाँले भन्नुभयो ‘हामीलाई भात खान दिने भनेकै यहि गोबरले त हो ।’ रोटी आकारमा सुकाईने गोबर चार पाँच दिनमा आगो बाल्नका लागि गुँईठाका रुपमा तयार हुन्छ । अरुलाई जस्तो ग्याँस कहिले पाईएला भन्ने चिन्ता शुसीलालाई फिटिक्कै छैन । नत उहाँलाई दाउरा र मट्टितेल प्रति चासो नै छ । ‘गोबर पाएकै छु, भात तरकारी पाकेकै छ,’उहाँले भन्नुभयो ‘किन ग्याँस चाहियो र मलाई ।’ शुसीलाले घरमा ग्याँसमा खाना पकाएको अहिले सम्म थाहा पाउनुभएको छैन । 


आँफूले थाहा पाउने भएदेखिनै गुँईठामा पाकेको खाना खाँदै आएको उहाँले वताउनुभयो । ‘मेरो माईतीमा पनि गुँईठामा भात तरकारी पकाउँछन्, घरमा पनि ग्याँस कहिले किन्दैनम्,’उहाँले भन्नुभयो ‘थाहा पाउने भएदेखि मेरो परिवारले गुईठा बालेकै देखेकी हुँ ।’

 

शुसीलाले घरमै दुईवटा भैँसी पाल्नुभएको छ । घरमै पालेका भैँसीको गोबरले बर्ष दिन खाना पाक्ने गुँईठा तयार हुन्छ । गुँईठा बनाउन समय पनि धेरै लाग्दैन, खर्च पनि लाग्दैन जाडोमा आगो ताप्नका लागि पनि गुँईठा उत्तिकै राम्रो हुने शुसीलाले खुशी हुँदै सुनाउनुभयो । 


शुसीलाकी छिमेकी रीता चौधरीलाई पनि बजारमा निम्तीएको ग्याँसको हाहाकारले केहि फरक पारेको छैन । नाकाबन्दीले बजारमा ग्याँसको अभाव छ रे भन्ने सुनेपनि ग्याँस नपाउनुको पिरलो नभएको उहाँले बताउनुभयो । नत ग्याँसका लागि लाईनमा बस्नुको सकस नै बेहोर्नु पर्छ ।

बरु जति सक्यो गुँईठा कसरी पार्ने भन्ने चिन्ता छ । गुँईठा पार्नकै लागि बारीमा व्यस्त देखिने उहाँले भन्नुभयो ‘हामीलाई ग्याँसको चिन्ता छैन, गोबर भए भोकै मर्दैनौं ।’ रीताको पाँच जनाको परिवारका लागि पनि बर्ष दिनसम्म एक सिजनमा तयार पारेको गुईठाले खाना पाक्छ । रीताको परिवारले चारवटा गाई पालेको छ । घरमा पालीएका गाईको गोबरबाटै रीताको परिवारलाई बर्ष दिन खाना पाक्ने गुँईठा तयार हुने गर्दछ ।

अर्का स्थानीय दुखीराम थारु ५८ बर्ष हुनुभयो । यो अवधि सम्म दुखीरामलाई पनि कहिल्यै ग्याँसको चिन्तागर्नु परेन । अघिल्लो पुस्ताले देखाएको जीवन निर्वाहको बाटोमा दुखीराम पनि लाग्नुभयो । फलस्वरुप अहिले यो उमेर सम्म पनि उहाँ गुईठामै निर्भर हुनुहुन्छ । उहाँ आउँदा दिनमा पनि गुँईठाको विकल्प नखोज्ने बताउनुहुन्छ । 


गुँईठाको थोरै प्रयोगले पनि खाना पाक्ने र धुँवा समेत नहुने भएकाले यसको प्रयोग अधिक राम्रो हुने दुखीरामको अनुभव छ । भारतीय नाकाबन्दीले देशब्यापी रुपमै ग्याँसको हाहाकार भईरहेपनि यहाँका ग्रामिण बस्तीका थारु समुदायमा भने यो अभावले फिटिक्कै छोएको देखिन्न । थारु समुदायमा बैकल्पीक उर्जा गुँईठाले हरेकका चुल्हा बलेकै छन्। अहिले पनि ग्रामिण बस्तीका अधिकांश थारु समुदायमा गुँईठा बाल्ने संस्कार हटेको छैन । बर्षौँ देखि गुँईठाबाटै आगो बाल्दै आएका उनिहरुका लागि यो आफुहरुको परम्परागत संस्कृतिकै रुपमा जरा गाडेर बसेको छ । थारु समुदायका लागि गुँईठा आफ्नो साँझ बिहानको छाक टार्ने स्रोत मात्रै हैन, उनिहरुले यसको विक्री वितरण गरेर धेरथोर आर्थिक जोरजाम समेत गर्ने गरेका छन् ।

तपाईंको बिचार