वालबिवाहको असर खेप्दै आमाहरु

प्रकाशित मिति: 2015-12-30
निमुसंगम घर्ती, रेडियो मध्यपश्चिम दाङ

दाङ, १५ पुस । देउखुरी वेलाकी सन्तोषी यादवको ११ बर्षकै उमेरमा विबाह भयो । विबाह भएको ४ बर्षपछि महिनावारी भयो । त्यसपछि उहाँले बर्षैपिच्छे जसो ८ वटा बच्चा जन्माउनु भयो । ती मध्य दुई वटा बच्चाको निमोनियाका कारण मृत्यु भयो । अहिले उहाँको तल्लो पेट दुख्ने, पिसाव पोल्ने र सेतो पानी बग्ने समस्याले पिडित हुनुहुन्छ ।

परम्परा अनुसार नै बिहे गर्नुभएकी यादवले पढ्न लेख्न पाउनु भएन । सन्तोषी अहिले ६५ बर्षको हुनुभयो । आफ्नै गाउँको स्वास्थ्य चौकीमा घोराहीबाट निशुल्क उपचार गर्न डाक्टर आउने खबर पाएर शिबिरमा पुग्नुभएकी सन्तोषीको मन डाक्टरको सल्लाह र कुरा सुनेर विगतलाई सम्झनु भयो । घर परिवारको सल्लाहबाटै ११ बर्षमा बिबाह गरेकी सन्तोषीको मन अहिले त्यो दिन र संस्कारलाई सम्झेर असन्तोष छ ।

यादव समुदायमा संस्कार नै थियो सानैमा बिहे गर्ने र दुई चार बर्ष माईती मै बस्ने सन्तोषिले भन्नुभयो,— त्यति बेलाको जमाना अर्कै थियो अहिले त सबैले पढ्ेलेखेका छन् हाम्रो पालामा त्यसो थिएन । संस्कार र काम प्यारो हुन्थ्यो सन्तोषीले भन्नुभयो,—अहिले पछुताएर के गर्ने नाति नातिनालाई पढाउने र उमेर पुगेपछि बिहे गर्ने सल्लाह दिन्छु ।

ओरेक नेपाल दाङ, नेपाल परिवार नियोजन संघ र जिल्ला जनस्वास्थ्य कार्यालयले देउखुरीको बेलामा आयोजना गरेका एकीकृत महिला स्वास्थ्य शिबिरमा आएका सन्तोषी एउटा उदाहरणका पात्र हुनुहुन्छ । करिब २ सय महिलाहरुले शिबिरमा स्वास्थ्य जाँच गराउदा ७५ प्रतिशत महिलाहरु सानैमा बिहे गरेका र प्रजनन तथा यौन समस्याबाट पिडित बनेको पाइए ।

शिविरमा उपचार गराउन पुगेकाहरु महिलाहरुको प्रजनन् स्वास्थ्यमा गम्भिर असर देखा परेको छ । विवाह गर्ने उमेर नहुदै बिवाह गर्ने र छिटो बच्चा जन्माउदा महिलाहरुको प्रजनन् स्वास्थ्यमा समस्या देखा परेको हो । शिविरमा आउनु भएकी शिबा खनालले पनि ११ बर्षमै बिहे गरेको चिकित्सकलाई सुनाउनुभयो ।

८ वटा बच्चा जन्माउनु भएकी शिबाले ४ वटालाई बचाउन सक्नु भएन । विहे गरे देखी नै स्वास्थ्य समस्या खेप्दै आउनु भएकी शिवा अहिले पनि रोग सँग लड्दै आउनुभएको छ । सुत्केरी हुदा समेत स्याहार नपाएको बताउने शिवालाई अहिले बिभिन्न शारिरीक समस्या रहेको बताउनुहुन्छ ।

सानै उमेरमा बिबाह गर्दा परिपक्व शरिर नहुदै बच्चा जन्मने, स्याहार नपाउने, पोषणा तत्वको कमी, घरमै बच्चा जन्माउने र शिक्षाको अभाबका कारण महिलाहरुको प्रजनन् स्वास्थ्यमा असरहरु देखा परेको डा. अरबिन्द भुसालले बताउनुभयो ।

उपचारका लागि शिविरमा पुगेका अधिकांश महिलाहरुमा पाठेघरमा समस्या, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, ढाड कम्मर दुख्ने समस्याहरु देखिएको थियो ।

यादब समुदायको बस्ती रहेको वेला, खरदरीया, प्रतापपुरका महिलाहरुले सानै उमेरमा बिबाह गरेको र धेरै सन्तान जन्माउदा अहिले समस्या थपिदै गएको डा. भुसालको भनाई छ ।

शिबिरमा गएका अधिकांश महिलाहरुले १० देखी १५ बर्षको उमेर मै बिबाह गरेको बताएका थिए । त्यसैगरी सन्तान पनि १० वटा सम्म जन्माउने गरेको पाइएको छ । शिबिरमा २ सय बढीले निशुल्क सेवा लिएका छन् ।

तपाईंको बिचार