काठमाडौं १ पुस । नेपालको संविधान २०७२ को घोषणा भएपछि नेपालसँग छिमेकी मुलुक भारत असन्तुष्ट रहँदै आएको छ । जसका कारण भारतले नेपालमाथि लामो समययता अघोषित नाकाबन्दी समेत गरिहेको छ । नेपालमा भएका मुख्य परिवर्तनमा भारतले चासो मात्रै होइन हस्तक्षेप गर्दै आएको छ ।
सुरु २००७ सालबाट
एकीकृत माओवादी नेता गोपाल किंरातीको भनाई मान्ने हो भने २००७ सालमा राणाशासन ढाल्नको लागि तत्कालिन राजा त्रिभुवनले दिल्लीमा लिएको शरण नै नेपालमा देखिने गरि भएको पहिलो भारतिय हस्तक्षेप हो । २००७ सालको परिवर्तन लगत्तै तत्कालिन भारतिय राजदुत चन्दे्रश्वर प्रसाद नारायण सिंहले मन्त्री परिषदको बैठकमा सहभागिता जनाउने गरेको र उनलाई प्रत्येक पटक सिंहदरबार प्रवेश गर्दा २१ तोपको समाली दिने गरिएको इतिहाँसविद्हरुको भनाई छ ।
२००७ साल यता लगातार रुपमा नेपाली राजनीतिमा भारतीय दबदबा रहँदै आएको प्रष्ट छ । इतिहाँसविद् दिनेशराज पन्त नेपालको कमजोर परराष्ट्रनीति र कुटनीतिका कारण नै हस्तक्षेप सुरु भएको विश्लेषण गर्नुहुन्छ ।
कमजोर नेतृत्व
शक्तिराष्ट्रको रुपमा उदाउँदै गरेको भारतले छिमेकी देशहरुलाई शासन गर्न खोज्नु नौलो नभएको कतिपय विश्लेषकहरु बताउँछन् । तर आफ्नो देशको सार्वभौमिकताको रक्षा नेपाली शासकहरुबाट हुनु नसक्नु नै नेपालको आन्तरिक मामिलामा भारतिय हस्तक्षेप हुनुको पहिलो कारण हो भन्नुहुन्छ परराष्ट्रविद् रमेशनाथ पाण्डे ।
परराष्ट्रविद् पाण्डेको भनाईमा राजनितिक विश्लेषक रमेश ढुंगेल पनि सहमत हुनुहुन्छ । पछिल्लो पटक नेपाली नेताले गरेको भारत भ्रमणबाट नेपालमा भारतिय प्रभावको पुष्टी हुने उहाँको भनाई छ ।
भारतीय स्वतन्त्र संग्रामको समयमा नेपालले भारतलाई सघाएको थियो, छिमेकमा अप्ठ्यारो पर्दा सरसहयोग गर्नु स्वभाविक भएपनि भारतीय सहयोग हस्तक्षेपको रुपमा विकसित हुनुमा भारतीय हस्तक्षेपकारी नितिको साथैसाथै नेपाली नेताहरुको कमजोरी पनि कारण रहेको कतिपयको विश्लेषण छ । नेपाली उखान छ 'आफ्नो थैलीको मूख राम्रोसँग बन्द राखे अरुलाई चोरीको दोष लगाउनै पर्दैन ।'
तपाईंको बिचार