पूर्व पश्चिम राजमार्ग ठप्प, सयौँ सवारी राजमार्गमै अलपत्र

राजमार्गमा स्कर्टिङ बन्द

प्रकाशित मिति: 2015-11-22
जर्नाजन खत्री, रेडियो एकता

सर्लाही, ६ मंसिर । असुरक्षा बढेको भन्दै प्रहरीले स्कर्टिङ नगरेपछि गएरातीदेखि पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत रौतहटको चन्द्रनिगाहपुरदेखि धनुषाको ढल्केवरसम्म सयौँ मालबाहक ट्रक, यात्रु बस सहित अन्य सवारी अलपत्र परेका छन् ।

गएराती सप्तरीको भारदह लगायतका स्थानमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले निषेधित क्षेत्र उल्लङ्घन गरि गाडीहरुमा तोडफोड गरेपछि प्रहरीले राजमार्गमा स्कर्टिङ बन्द गरेको हो ।

स्कर्टिङ नहुँदा रौतहटको चन्द्रनिगाहपुर, बागमती, सर्लाहीको कर्मैया, हरिवन, नवलपुर, लालबन्दी, फूलजोर, महोत्तरीको लक्ष्मीनिँया, माईस्थान, बर्दिवास, धनुषाको ढल्केवर लगायतका स्थानमा सयौँ यात्रु अलपत्र परेका छन् । राजमार्गमा रोकिएका सवारी मध्ये राजधानी काठमाण्डौबाट छुटेर आएका यात्रु बस धेरै रहेका प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा मात्र दुई सय भन्दा बढी सवारी रोकेर राखिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक रमेशकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार धनुषा, सिरहा र सप्तरीमा बिहानै देखि आन्दोलनकारीहरुले सडकमा निस्किएर टायर बालेर प्रदर्शन गरिरहेकाले अलपत्र अवस्थामा रहेका सवारी साधनलाई गन्तव्य तर्फ पठाउन समस्या भएको छ ।

सञ्जय कार्की, रेडियो गुञ्जन रौतहटका अनुसार सप्तरीको भारदहमा आन्दोनकारी र प्रहरीबीच झडप भएपछि रौतहटको चन्द्रनिगाहपुरमा पुर्ब जान आएका ८० वटा सबारी साधन रोकिएका छन् । घटनापछि पूर्वबाट एउटा पनि सवारीसाधन आउन सकेको छैन ।

तपाईंको बिचार