आजदेखि चार दिन राजधानीमा सरकारी बस सेवा सुरु

प्रकाशित मिति: 2015-11-11

काठमाडौं २५ कात्तिक ।  
सरकारले सर्वसाधारणको सुविधाका लागि आजदेखि यही कात्तिक २८ गतेसम्म विभिन्न रुटमा १२ वटा बस सेवा सञ्चालन गरेको छ । मुख्य सचिवको अध्यक्षतामा उच्च सरकारी अधिकृत सम्मिलित हिजो बसेको बैठकले प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न रुटमा बस सेवा सञ्चालन हुने निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लगनखेलबाट चक्रपथ घुम्ने रुटका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एउटा, शिक्षा मन्त्रालयको दुईवटा, न्याय सेवा तालिम केन्द्रको एउटा र सामान्य प्रशासन मन्त्रालयको एउटा गरी पाँचवटा बस सञ्चालन हुनेछन् ।

कीर्तिपुर–रत्नपार्क–जोरपाटी रुटमा गृहमन्त्रालयको एउटा, स्थानीय विकास मन्त्रालयको एउटा गरी दुईवटा बस सञ्चालन हुनेछन् भने रत्नपार्क–थानकोट रुटमा सामान्य प्रशासन मन्त्रालयको एउटा बस सञ्चालन हुनेछ ।

रत्नपार्क–भक्तपुर सूर्यविनायक रुटमा सामान्य प्रशासन मन्त्रालयको एउटा, रत्नपार्क–लगनखेल रुटमा शान्ति मन्त्रालयको एउटा, रत्नपार्क–कलङ्की– नयाँबसपार्क रुटमा मुद्रण विभागको एउटा बस सञ्चालन हुनेछ । रत्नपार्क–पेप्सिकोला रुटमा स्वास्थ्य मन्त्रालयको एउटा र रत्नपार्क–वनस्थली–स्वयम्भू रुटमा विज्ञान तथा प्रविधि मन्त्रालयको बस सञ्चालन हुने मन्त्रालयले जनाएको छ । 

 

तपाईंको बिचार