अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्‍यालसँग गरेको कुराकानी :

प्रकाशित मिति: 2015-09-21

राजनीतिक स्थिरता आउनका लागि हाम्रो गरीबीले, बेरोजगारीले, सानासाना पार्टीहरुले, हाम्रा बाह्य र आन्तरिक कारणले जुन प्रभाव पार्नुपर्ने त्यो कुनै पनि प्रभाव पारेको छैन भनेपछि यस्तो बेलामा राजनीतिक स्थिरता कहिले आउँछ भनेर कुरेर बस्न मिल्दैन । राजनीतिक स्थिरता अबको ३० वर्ष पछि आउँला रे अनि के आर्थिक विकासको लागि कुरेर बस्ने ?

 

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदले त्यहाँको विकासमा गरेको ‘जादू’लाई लिएर उनको नेपाल भ्रमणका बेला निकै चर्चा भएको छ । कुनै बेला नेपाल जस्तै गरीब मलेसिया उनको सफल नेतृत्वले आज निकै अगाडि बढेको छ । मलेसियाको विकासबाट नेपालले धेरै सिक्न सक्ने महाथिर आफैले पनि काठमाडौंको एक कार्यक्रममा बताए । वास्तवमा नेपालले मलेसियाका सिको गर्न सक्छ ? यसै विषयमा अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्‍यालसँग गरेको कुराकानी :

 

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिरले काठमाडौंमा जुन आफ्नो अनुभव बाँडे त्यो हाम्रा लागि कत्तिको उपयोगी छ ?

 

मलेसियामा जे जति उपलब्धि हासिल भएको छ । त्यसलाई हामीले मुल्याङ्कन गर्ने हो भने महाथिर मोहमदले भनेको कुरा दमदार छ । मलेसिया र नेपालको स्थितिमा केही समानता छ । मलेसिया पनि नेपाल जस्तै एक बहुजातीय र बहुसाँस्कृतिक मुलुक हो । तर मलेसियाले त्यो दुवै स्थितिमा एकतामा बाँध्ने काम र विकासको काम सँगसँगै लगेको देखिन्छ ।

 

गृहयुद्ध त्यहाँ पनि भएको थियो । तर सरकारले गृहयुद्ध जुन ठाउँको असन्तुष्टिबाट जन्मिएको थियो त्यहाँ विशेष किसिमको कार्यक्रम त्यहाँ लगेको देखिन्छ । यो कामले आर्थिक फाइदाहरु त्यहाँका जनताले पाए । महाथिरले सम्पन्न भएका व्यक्तिलाई तल झार्ने भन्दा पनि तलका जनतालाई माथि लैजानुपर्छ भन्ने गरेका छन् । यो कुरालाई नेपालले लिनुपर्छ ।

 

प्राकृतिक सम्पदाकै कुरा गर्ने हो भने मलेसियामा केही रबरका रुख र खनिज वस्तुहरु केहीमात्रमा छन् । नेपालमा भएको प्राकृतिक सम्पदा मलेसियाको तुलनामा कम होइन । तर मलेसियाले आफ्नो नेचुरल रिर्सोसेसहरुलाई आर्थिक विकासको सम्भावना र अवसरको रुपमा लियो ।

तर हाम्रो सन्दर्भमा यो ठिक उल्टो भयो । यहाँ त भगवानले दिएको सम्पदा दिन दिनै नास हुँदा पनि हामी टुलुटलु हेरिराखेका छौ ।

 

नेपालमा स्रोत साधन भएर पनि आर्थिक असमानता चुलिएर गएको छ । मलेसियामा थोरै स्रोत साधनका बाबजुत आर्थिक असमानता घटाउँदै लगिएको छ । उनीहरुले हामीलाई सिकाएको पाठ भनेको विविधतामा शान्तिपूर्ण ढंगले कसरी मुलुकलाई जोड्न सकिन्छ ?, र आर्थिक विकासलाई सँगसँगै कसरी लैजान सकिन्छ भन्ने हो ।

 

मलेसिया सरकारले आफ्नो लगानीमा आफ्ना नागरिकलाई उच्च शिक्षा हासिल गर्न विदेशमा पठायो । भने त्यससँगै विदेशबाट पढेर जाने जनशक्तिलाई रोजगारीको अवसर सृजना गर्न सँगसँगै त्यसै अनुसारका भौतिक पूर्वाधारको पनि विकास गर्यो । जसका कारण मलेसियाको उपादकत्वमा पनि वृद्धि भयो । तर नेपालमा अझै पनि विदेशमा पढ्न गएका नेपाली फर्किएर काम गर्ने वातावरण बनेको छैन ।

 

आर्थिक विकासमा बृहत अर्थतन्त्रको व्यवस्थापनलाई महत्वपूर्ण मानिन्छ, यसमा नेपाल र मलेसियालाई तुलना गर्दा हामी कहाँ निर चुकेका छौ ?

 

महाथिर प्रधानमन्त्री हुनुभन्दा अगाडि सन् १९८० अघि मलेसियाको कुल ग्राहस्थ उत्पादन १२ अर्ब डलरको थियो । तर २००२ मै मलेसियामा कुल ग्राहस्थ उत्पादन ३ हजार ५ सय ४० अर्ब डलर पुग्न गयो । यति छोटो समयमा १२ अर्बबाट ३,५४० अर्ब डलर पुग्नुमा उनीहरुले भनेको कुरामा केही शक्ति त पक्कै छ नी ।

१९९७ मा विश्वव्यापी रुपमा त्यत्रो वित्तिय संकट आयो । त्यतिबेला नेपाल र अरु विभिन्न गरीब मुलुकले अन्र्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंकको सर्त माने । मलेसिया आफ्नै आर्थिक नीति अनुसार अघि बढ्यो । त्यसको प्रतिफल के भयो भने नेपाल जस्ता मुलुक जसले आइएमएफ र विश्वबैंकको सर्त मानेर सस्तो ब्याजदर भन्दै ऋण लिएका थिए उनीहरु पूँजी निर्माण गर्न नसकेर ऋणमा परे ।

 

तर मलेसियाले सर्त नमानेर आफ्नै नीति अनुसार अघि बढ्यो । आफै उत्पादन गर्दै आफ्नै मुलुकमा खपत गर्यो । हाम्रो बृहत अर्थतन्त्र व्यवस्थापन अर्काको हातमा पर्यो । मलेसियाले आफैले गर्यो । त्यसको फलस्वरुप के भयो त भन्दा उनीहरुको मुद्रास्फिति नियन्त्रण भयो । तर हाम्रो अर्थतन्त्र अझै नियन्त्रणमा आउन सकेन ।

जस्तो नेपालको केही प्रतिशत भएपनि आर्थिक वृद्धि त हुन्छ तर रोजगारी सृजना गर्न सक्दैन ।

 

राष्ट्र बैंकले मौद्रिक नीति त ल्याउँछ तर हाम्रो मुद्रास्फितिलाई नियन्त्रण गर्नसक्दैन । हामी यस्तो अनौठो विसंगतिमा परेका छौ । कुनै पनि देशको अर्थतन्त्र बिग्रने कारणहरु एउटा बाह्य हुन्छ अर्को आन्तरिक हुन्छ । हामीले आफू बिग्रनुमा बाह्य कारणलाई प्रधान मान्न सक्छौ तर मलेसियाले बाह्य कारणबाट आफूलाई जोगाउन सक्षम भयो । आफूले सर्त मानेर लिएको ऋणको सही प्रयोग गर्न नसकेर नेपाल जस्ता धेरै मुलुक डुबेका छन् । तर मलेसियाले लिएन राम्रो गर्यो ।

 

मलेसियाले रोजगारीको विकास वा सृजना गर्न पनि निकै नाटकिय परिवर्तन गरेको छ, तर नेपालमा बेरोजगारीको समस्या झन् झन् बढ्दो छ, के हामीले लगानीको लागि क्षेत्र राम्रो छान्न नसकेको हो ?

मलेसियाले यस्तो क्षेत्रमा लगानी गर्यो जहाँबाट प्रशस्त मात्रमा रोजगारी सृजना हुन्छ । तपाईले भनेको ठिकै हो उनीहरुको इम्प्लोइमेण्ट फिगरलाई हेर्यो भने त डरै लाग्छ । स्वतन्त्रता पछि दुई दशकको समयमा उनीहरुको दुई सय ६० प्रतिशत भन्दा बढी रोजगारी सृजना भएको देखिन्छ ।  तर हामी कहाँ अझै पनि लगानी कुन क्षेत्रमा गर्ने वा प्राथमिकता कुनलाई दिने भन्ने नै निक्र्यौल भएको छैन । अनि यस्तो स्थितिमा कसरी उपलब्धि आउँछ ?

 

मलेसिया परिवर्तनमा प्रत्यक्ष वैदेशिक लगानी महत्वपूर्ण छ, नेपालमा पनि यसको खुब चर्चा हुन्छ तर लगानी आउँदैन किन ?

 

यो त यहाँको ऐन र शासकिय प्रणाली (गर्भरनेस सिस्टम) राम्रो नभएर हो । हामी ‘वन विन्डो पोलिसी’ भन्छौ तर वास्तविकतामा ‘फोर, फाइभ विन्डो पोलिसी’ जस्तो छ । कुनै पनि निर्णय गर्नलाई त्यो निर्णयको फाइल चार, पाँच वटा मन्त्रालयमा पुग्नुपर्छ । जब निर्णय हुन्छ त्यो बेलासम्म ढिलो भइसकेको हुन्छ । समय ढिलो हुँदा लागत बढेको हुन्छ । हामी कहाँ बाह्य लगानीलाई आकर्षण गर्न बनाइएको ऐनमा दिइएका सुविधाहरु सबै आयकर ऐनले फिर्ता लिएको छ । यस्ता दुई अर्थ लाग्ने ऐन नमिलाएसम्म सोचे जस्तो वैदेशिक लगानी आउने छैन ।

 

मलेसियामा कसरी लगानीलाई ‘वन विन्डो पोलिसी’मा पुर्याउन सकिन्छ भन्ने मात्र सोचे । पछि अझै सजिलो पार्न आयकर नै छुट दिए । त्यसपछि लगानी यसरी बढ्यो कि त्यो एक उदाहरण बन्न पुग्यो । तर नेपालमा यस्तो हुन सकेको छैन । जस्तो हामीले हाइड्रोपावर भनेर चिच्याइरहेका छौ तर यसमा पनि वैदेशिक लगानी आउन बाधा खडा खरिएको छ ।

 

२००६ मा अध्यादेशमार्फत आएको नयाँ ऐनले तीन मेघावाट र त्यसभन्दा माथि पावर जेनेरेट गर्नेहरुले भ्याट तिर्नुपर्छ भनेर अनिवार्य बनाइदियो । त्यसले गर्दा लागत बढाइदियो । यसबाट सानो–सानो लगानीलाई निरुत्साहित पार्ने काम भयो । मलेसियामा यस्तो छैन ।

 

राजनीतिक अस्थिरताले देशको विकासलाई कत्तिको रोकेको छ

 

राजनीतिक अस्थिरताले वास्तवमा रोकेको छ । महाथिरको भनाईमा साना–साना पार्टीहरु भए भने मुलुकमा स्थिरता आउन सक्दैन भन्ने छ । तर सबै मुलुकहरु मलेसिया जस्तो भाग्यमानी हुँदैनन् । अमेरिका, मलेसिया, युरोपका केही देशमा दुई वटामात्र पार्टी होलान । तर सबै मुलुकमा यस्तै हुन्छ भन्ने हुँदैन ।

 

मलाई के लाग्छ भने हाम्रो मुलुकमा राजनीतिक संरचना र आर्थिक संरचनालाई सँगसँगै लैजानुपर्छ । राजनीतिक स्थिरता आउनका लागि हाम्रो गरीबीले, बेरोजगारीले, सानासाना पार्टीहरुले, हाम्रा बाह्य र आन्तरिक कारणले जुन प्रभाव पार्नुपर्ने त्यो कुनै पनि प्रभाव पारेको छैन भनेपछि यस्तो बेलामा राजनीतिक स्थिरता कहिले आउँछ भनेर कुरेर बस्न मिल्दैन । राजनीतिक स्थिरता अबको ३० वर्ष पछि आउँला रे अनि के आर्थिक विकासको लागि कुरेर बस्ने ? यो हुनसक्दैन ।

 

नेपालको विकासका लागि हामीले प्राथमिकताको क्षेत्र छुट्याउन नसकेको हो की ?

 

सन्तुलित विकासको अवधारणालाई हामीले लागू गर्नुपर्छ । एउटै क्षेत्रमा हामीले भएभरको रकम लगानी गर्यो भने जोखिम बढी हुन्छ । मेरो भनाई के छ भने नेपालको सन्दर्भमा प्राथमिताका ३ वटा क्षेत्रमात्र हामीले निर्धारण गर्नुपर्छ । जस्तो जलविद्युत, कृषि, पर्यटन वा औद्यौगिक क्षेत्र । हामी कहाँ यस्ता क्षेत्रमा धेरै सम्भावना छन् ।

 

जस्तो कृषिलाई व्यवसायिक बनाउन सरकारले बिमाको व्यवस्था गर्ने, भूमिको विकासका लागि लगानी बढाउने लगायतका काम हामीले गर्नुपर्छ । पर्यटनको कुरा गर्दा हामीले खाली पर्यटकको बसाई लम्बाउने मात्र सोच्छौ । तर सरसफाई र अन्य पूर्वाधार निर्माण गरेर धेरै खर्च गर्न सक्ने पर्यटक नेपाललाई चाहिएको छ । पानी पनि निर्धक सँग पिउन नपाइने भएपछि हामी कहाँ कस्तो पर्यटक आउँछ ? यस्ता विषयमा ध्यान दिन जरुरी छ ।

अन्त्यमा, अहिले जो नेपाली राजनीतिमा प्रभावशाली छन्, ती नेताहरुबाट मलेसियामा महाथिरले दिएको जस्तो

 

संविधान बन्यो अब जादुमयी नेतृत्वको आशा हामी गर्न सक्छौ ?

 

संविधान बन्यो त्यो हामी सबैका लागि खुसीको कुरा हो । अब निश्चियपनि विकास र सम्भावनाका धेरै ढोका खुल्नेछन् । सम्भावना नयाँ बाटो नयाँ भएपनि डा्रयाउने र हिड्ने मान्छे पुरानै छन् । अहिले भएकाबाट आश गर्न सकिदैन । अहिलेकै माहोलमा दोस्रो पुस्ता पनि विकास भयो भने अब आउनेको गति पनि त्यही हुन्छ । अहिलेको वातावरण भन्नाले राजनीतिक अन्यौलता, आर्थिक पछौटेपन जस्ता धेरै कुरामा सुधार ल्याएर अहिलेका नेताले त्याग गरेर नेतृत्व हस्तान्रण गरे भने नयाँ पुस्ताबाट स्वभाविक रुपमा केही आश गर्न सकिएला ।तर अहिलेकै नेतृत्वबाट यो मुलुकको कायापलट हुन्छ भन्ने त म सोँच्दै सोँच्दिनँ । अहिलेको नेतृत्व त असफल भइसकेको नेतृत्व हो ।

तपाईंको बिचार