संविधान जारी भयो अब के हुन्छ ?

प्रकाशित मिति: 2015-09-21


गोविन्द खड्का
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पारित भएसँगै दलहरुका अनुसार  संक्रमणकाल टुङ्गिएको छ । शान्ति प्रकृया एउटा निश्कर्षमा पुगेको छ । संविधान कस्तो कसरी बन्ला भन्ने थुप्रै आशंकाले जवाफ पाएका छन् । तर संविधान जारी भएसँगै अब के हुन्छ यी प्रश्नको उत्तर पाइसकेको छैन । के हुन्छ अब ?
संविधान जारी भएपछि मुलुकले नयाँ बाटो समातेको छ । नेताहरुको भनाई सापटी लिदा मुलुक नयाँ युगमा प्रवेश गरेको छ । नयाँ संविधान सँगै नयाँ सरकार, नयाँ राष्ट्रपति नयाँ कानुनहरुको निर्माण धेरै विषय नयाँ हुनेछन् । तर दलहरुका लागि सबैभन्दा पहिलो नयाँ काम हुनेछ नयाँ सरकार गठन । ४ गते विजयउत्सोवको मुडमा समय वितेपनि पाँच गतेबाट दलहरुको कोर्स सत्ता साझेदारीमा केन्द्रित हुनेछ । राजनीतिले अनपेक्षित मोड लिएन भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्नेछ ।
संविधान जारी भएको सात दिनभित्र संसदको नयाँ अधिवेशन आह्वान गरिसक्ने र संसद अधिवेशन सुरु भएको सात दिनभित्र नयाँ प्रधानमन्त्री चयन प्रक्रिया थालिसक्ने व्यवस्था छ । त्यसकारण ढिलोमा १७ असोजभित्र नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सुरु भइसक्नेछ । नयाँ प्रधानमन्त्रीलाई भने वर्तमान राष्ट्रपतिले नै शपथ दिलाउने छन् ।
किनभने, ७ दिनभित्र प्रधानमन्त्री चयन गर्ने र ३० दिनभित्र राष्ट्रपति चयन गर्ने नयाँ संविधानको व्यवस्था छ । संविधान जारी भएको २० दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने भनिएको छ । संविधान अनुसार संविधान जारी भएको एकमहिना अथवा मंसिर ४ गतेसम्म सबैकाम पुरा भइसक्नेछ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार त्यसपछि भइरहेका कानुनलाई नयाँ संविधानअनुसार अद्यावधिक, संशोधन र परिमार्जनको काम नयाँ सरकारले गर्नुपर्नेछ ।
तर अहिले विवादको मुख्य विषय प्रदेशको व्यवस्थापन नयाँ सरकारका लागि सुरुमै टाउको दुखाई बन्ने देखिन्छ । प्रादेशिक सरकारका लागि आवश्यक संरचना निर्माण, व्यवस्थापन राजधानी तोक्ने, काम सून्यबाटै सुरुगर्नेपर्ने भएकाले सरकारले गर्ने त्यसको सहजिकरण चुनौतीपूर्ण हुनेछ । तर, आम निर्वाचन, प्रदेश सभाको निर्वाचन र स्थानीय निकायको निर्वाचन कहिले र कसरी हुन्छ ? नयाँ संविधानको वास्तविक कार्यान्वयन भने यहीँ पुगेर हुनेछ ।  

 

तपाईंको बिचार