किसानका लागि स्थानीय सरकारका अनेक योजना

५० प्रतिशत अनुदानदेखि हाते ट्याक्टर वितरणसम्म

प्रकाशित मिति: 2019-02-05
हुमाकान्त पोखरेल, रेडियो स्काई गुल्मी
स्केचः गुगगलबाट
स्केचः गुगगलबाट

गुल्मीका स्थानीय तहहरुले किसानलाई कृषिमा आकर्षित गर्न नयाँ–नयाँ कार्यक्रम ल्याएका छन् । कृषिमा भित्रिएको नयाँ प्रविधि, उत्पादनमा आधारित अनुदान, गाडी लगायतका सुविधा स्थानीय तहहरुले अगाडी सारेका छन् । 

 

गूल्मिको सत्यवती गाउँपालिकाले आफ्नो क्षेत्रको दुर्गम गाउँ वडा नम्बर ३ को ठुलो लुम्पेकका किसानको कृषि उत्पादनलाई बजारीकरणका लागि १२ लाख ५० हजारमा नयाँ गाडी प्रदान गरेको छ भने ५० प्रतिशत अनुदानमा किसानहरुलाइ हाते ट्याक्टर प्रदान गरेको छ । छत्रकोट गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको छ ।

 

छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्याल किसानलाइ प्रोत्साहनको लागि नयाँ कार्यक्रहरु सुरु गरिसकेको बताउहुन्छ । कृषि बागवानी निर्माण गर्ने योजना पनि गाउँपालिकाले राखेको उहाँले बताउनुभयो । 

 

धुर्कोट गाउ“पालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम अगाडी बढाएको छ । बर्षमा तिन भन्दा बढी खसीबोका विक्रि गर्नेलाई प्रति केजी २५ रुपैंया, वार्षिक एक सय लेयर्स र १० लोकल कुखुरा पालेर अण्डा उत्पादन गर्नेलाई प्रति अण्डा दुई रुपैंया, मासिक ५० लिटर भन्दा बढी दूध उत्पादन गरेर बिक्री गर्ने किसानलाई प्रति लिटर पाँच रुपैंया थप रकम गाउँपालिकाले प्रदान गर्ने गाउँपालिका उपाध्यक्ष शिव केसीले जानकारी दिनुभयो ।  

 

मुसिकोट नगरपालिकाले एक सय कफिको बोट रोपे १० हजार र तीन रोपनीमा एकै जातका फलफुल रोपे प्रतिबोट १ सय ५० का दरले किसानलाई उपलब्ध गराउछ । मदाने गाउँपालिकाले वडा नम्बर ५ भनभनेका किसानलाइ उन्नत जातका १० भैँसि किसानलाई प्रदान गरेको छ ।

 

इश्मा गाउँपालिकाले गत बर्ष सवै वडामा उन्नत् जातका पाडा र चार वडामा उन्नत जातका बोका वितरण गरेको थियो । मालिका गाउँपालिकाले कोदो चुट्ने हाते ट्याक्टर वितरण गरेको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो । 

 

रेसुङ्गा नगरपालिकाले किसानलाइ गत बर्ष २९ हाते ट्याक्टर वितरण गरेको थियो । अहिले तीन हाते ट्याक्टर, १० प्लाष्टिक पोखरी र ५५ ओटा टर्नेल वितरण गर्ने योजना बनाएको छ । बाख्रा बिमा कार्यक्रम अन्तरगत अहिले सम्म १ सय ५२ बाख्राको बिमा गरिसकिएको छ । 

तपाईंको बिचार