मन्त्रीले सचिव कुटेको विषयमा छानबिन गर्न बनेको समिति के गर्दैछ ?

प्रकाशित मिति: 2019-01-19
गीता चिमोरिया
गुगलबाट
गुगलबाट

काठमाडौँ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिवलाई कुटपिट गरेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले आफ्नो काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । 

 

समितिको प्रतिवेदनपछि न्यायको लागि अगाडि बढ्ने योजना पीडित सचिवको छ । 

 

गएको आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको घटना सार्वजनिक भयो ।

 

सरकारले त्यही दिन कानुनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

 

भइरहेको अध्ययन बारे सीआईएनसँग कुरा गर्दै समितिका संयोजक कानुनमन्त्री ज्ञानेन्द्र यादवले अहिलेसम्म सचिवसँग छलफल गरिएको र थप छलफलका लागि आज बैठक बोलाईको बताउनुभयो । 

 

समितिलाई दिइएको ७ दिनको समय मध्ये ५ दिन बितिसक्यो । कर्मचारी युनियनले छानबिन समितिमा आफ्ना प्रतिनीधि हुनुपर्ने भनेपछि एकजना सदस्य थपी छलफलका लागि आज बैठक बोलाइएको हो । 

 

निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले प्रदेश सरकारले विज्ञप्ती निकालेर घटनामा गल्ती भएको र त्यसका लागि छानबिन समितिले काम गरिरहेकाले आन्दोलन नगर्न भनेपछि हिजो साँझ बैठक बसी तत्कालका लागि आन्दोलन स्थगित गरिएको बताउनुभयो । 

 

छानबिन समितिले निष्पक्ष प्रतिवेदन सार्वजनिक नगरे फेरि आन्दोलन गर्ने उहाँको भनाइ छ ।

 

मन्त्रीले भनेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारिदिएको भन्दै आफूलाई कुटपिट गरेको सचिव झाको दावी छ । तर उहाँले अहिलेसम्म पनि घटनाको विषयमा उजुरी दिनुभएको छैन ।

 

यसको कारण बारे पीडित भनिएका सचिव विद्यानाथ झाले सीआईएनसँग भन्नुभयो, ‘गृहमन्त्री र मुख्यमन्त्रीले छानबिन समितिको प्रतिवेदन आउन्जेल पर्खनु भन्नुभएकाले पर्खिएको हुँ, सीडीओसाबसँग छलफल गरेको छु । कुटपीटको घटनामा ६ महिनासम्म उजुरी दिन मिल्छ भन्नुभएको छ ।’ 

 

उहाँले प्रश्न गर्नुभयो, ‘मन्त्रीको यस्तो मनलाग्दी भयो भने कर्मचारीले कसरी काम गर्न सक्छन् ?’ 

 

मन्त्री यादवले आफूले सचिव कुटेको प्रमाण देखाउन चुनौति दिँदै गर्दा सचिव झाले पीडा सहन नसकी अस्पताल भर्ना हुनुपरेको तर्क गर्दै आउनु भएको छ । 

 

सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनले सत्यतथ्य विवरणसहित प्रतिवेदन दिने न दिने बारेमा अनेक टीकाटिप्पणी भइरहेका छन् । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार